काठमाडौं । भगवान गौतम बुद्धलाई ‘महान् भारतीय’ भनेर भारतीय विदेशमन्त्री एस जयशंकरले दिएको अभिव्यक्तिलाई नेपालका सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूले आपत्तिजनक भएको जनाएका छन् ।
अहिले यो विषयको चैतर्फी विरोध भैरहेको छ भने परराष्ट्र मन्त्रालयले भने यो विवादको विषय नै नभएको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो विवादको विषय नभएको र गौतम बुद्ध ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा समेत नेपालमा जन्मिएका हुन् भन्ने स्थापित र अकाट्य तथ्य भएको साथै जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा समेत रहेको जनाएको छ।
‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित र अकाट्य तथ्य हो, बुद्धको जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताउनुभएको थियो ।’
भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्धलाई महान भारतीय भएको जनाउँदै संसारले सम्झने दुई महान भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको जनाएका थिए ।

तपाईको प्रतिक्रिया