– लोकनारायण सुवेदी
मार्क्स ३० बर्षको हुँदा १८४८ मा बिश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्र प्रकाशित भएको थियो । अनि उनी ५० बर्षको हुँदा त्यस्तै अर्को पूँजीवादको उत्पत्ति, बिकास र प्रबृत्ति अनि यसको अन्त्य हुने आधार समेत प्रस्तुत गरिएको महसुर बिश्व प्रसिद्ध कृति ‘दास क्यापिटल’ अर्थात ‘पूँजी’ प्रकाशित गर्न उनी सफल भएका थिए । त्यो उनको २० बर्षको सुक्ष्म र गहिरो अनुसन्धानको कठोर परिश्रम, गम्भीर तथा जिम्मेवारीपूर्ण अध्ययनको परिणति थियो । त्यसले बिश्वमा दृष्टिकोण,चिन्तन बिचार, सिद्धान्त, नीति र ब्यवहारमा एउटा सर्बथा बेग्लै बाटो देखायो । त्यो बाटो हो — बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मानब समाजलाई सदा सदाका लागि मुक्त गर्ने – मूलबाटो । यसले संसारका शोषित पीडित र पद दलित जनतामा मार्क्सकै शब्दमा ‘युगौं पुराना दुःख कष्टबाट’ मुक्त हुने आशाको सञ्चार गरायो । युगौं युगदेखि सामन्ती बर्गको भाग्यबादी र पूँजीपति बर्गको यान्त्रिक भौतिकबादी भरोसामा पारिएका र परेका जनताको जीवनमा आमूल र उन्नत परिवर्तनका लागि यो दूरगामी महत्वको नौलो र उर्जाशील परिबर्तनको एउटा रचनात्मक सन्देश थियो । शोषित पीडित श्रमजीवी बर्ग आफ्नो बर्ग बोध आफै गर्ने तथा बर्ग स्वतन्त्रताको रुपमा खडा हुने र यसरी सामन्ती अभिजात बर्ग र सम्पन्न पूँजीपति बर्ग मात्र जनताको, समाजको भाग्य बिधाता हुने परम्परागत कुराको अन्त्यको उद्घोष गर्ने एउटा बस्तुगत यथार्थमा आधारित नयाँ प्रष्ट र उत्कृष्ट चिन्तन थियो त्यो ।
बिश्व समाज बिकासको गहिरो, गहन र गम्भीर अध्ययन गरेर सारको रुपमा त्यस्तो कालभेदी दर्शन, बिचार, सिद्धान्त र नीति दिने कार्ल मार्क्स जन्मेको २१औं शताब्दीको पहिलो दशकको उतरार्धको अन्त्य हुन लाग्दा २०१ बर्ष पुग्यो । यसै क्रमा बितेको दुइ बर्ष अघि अर्थात् २०१८ मा मार्क्स जन्मेको दुइ सय शताब्दी बिश्वभरी नै बडो धूमधामका साथ मनाइयो । दुइ सय बर्ष पुग्दा मार्क्स र मार्क्सवादका बारेमा बिश्वभरी नै सम्मेलनहरु, गोष्ठीहरु, परि–सम्बादहरु, चर्चा-परिचर्चा लगायतका बृहद छलफलहरुको आयोजना गरियो । यस क्रममा मार्क्स र मार्क्सवादका बारेमा बिभिन्न महत्वपूर्ण पुस्तकहरु पनि प्रकाशनमा ल्याइयो । बिश्वभरीका यी बहुबिद गतिबिधिहरुले के पुष्टी गर्दछन् भने आजको २१औ शताब्दको बिश्वमा पनि मार्क्स र उनको बिचारको प्रासांगिकता, उपादेयता र महत्व अक्षुण्ण रहेका छन् । मार्क्सबादलाई सही किसिमले मान्न चाहने र मान्नु पर्दछ भन्नेहरुको कुरै छोडौं, झण्डै दुइ दशक जति अघि नै बीबीसीले बितेको एक हजार बर्षयताको सर्ब श्रेष्ठ मानबमा मार्क्सलाई नै औल्याएको थियो – एउटा बिश्व सर्बेक्षण गरेर अनि आगामी एक हजार बर्षसम्म पनि उनै मार्क्स सबैभन्दा अग्रस्थानमा रहने छन् भन्ने निष्कर्श निकालेको थियो त्यो सर्बेक्षणले । यो गैर मार्क्सबादहरुले निकालेको भए पनि एउटा बस्तुगत निष्कर्श थियो र हो ।
यद्यपि मार्क्सबादमाथि हमला मार्क्सको जमानादेखि नै हुँदै आएको हो । त्यो क्रम लेनिन र माओको क्रान्तिकारी जमानमा पनि निरन्तर रह्यो नै । त्यसैले गर्दा यो माक्र्सबादी बैज्ञानिक सिद्धान्तका बिरुद्ध दक्षिणपन्थी र बामपन्थी औसरबादको हमलाकोरुपमा देखाप¥यो । त्यसमा पनि जब १९९० मा समाजबादी सोभियत संघको बिघटन र बिभाजन भयो त्यसपछि माक्र्सबादमाथि पनि अजंगको अपूर्व हमला शुरु भयो । बिश्वभरीका जन बिरोधी, परिवर्तन बिरोधी पश्चगामी सामन्ती, पूँजीबादी प्रतिकृयाबादी शक्तिहरुले एक स्वरले पुनः यसका बिरुद्ध चौतर्फी हमला तीब्र पारिदिए । त्यसै क्रममा ‘इतिहासको अन्त्य भयो’, ‘सिद्धान्तको अन्त्य भयो’, भन्दै ‘बजार नै सबै कुरा र शाश्वत हो’ भन्ने डंका पिटियो । तर दुइ दशक पनि नबित्दै २००८ देखि जुन बिश्व मन्दीले पूँजीवादी संसारलाई निल्न थाल्यो त्यतिबेला अरुको त कुरै छाडौं, तत् तत् देशका पूँजीवादी अर्थशास्त्रीहरुले समेत मार्क्सका ठेलीहरु खोजेर अध्ययन गर्न र त्यस प्रकारको मन्दीको निराकरण के के हुन सक्तछ भन्ने बाटो पहिल्याउन थाले । मार्क्सवादीमाथि चर्को हमला अलि मत्थर भए जस्तो भयो । तर आज पनि मार्क्सवाद र कम्युनिष्ट आन्दोलनमाथि ठाडो हमला गर्नेदेखि लिएर बैचारिक आक्रमण गर्ने, भ्रम फैलाउने र जनतालाई यसको बास्तबिकता बुझ्नबाट बञ्चित तुल्याउने क्रम चलिनै रहेको छ । साँच्चै इतिहास हेर्ने हो भने मार्क्सवादका बिरुद्ध अरु कुनै बिचारधारका बिरुद्धभन्दा धेरै बढी नै किताबका ठेलीहरु संसारमा लेखिएका छन् र अझै लेखिने छन् । तर मार्क्सवादले सभ्य, सुसँस्कृत र सुन्दर एवं सुनिश्चित मानब समाजको निर्माणका बिरुद्धका जुन शोषणका श्रोतहरु औंल्याएकोछ, ती श्रोतहरुले ल्याएका सामाजिक, राजनीतिक, आर्थिक र साँस्कृतिक बिकृति तथा बिसंगतिहरुमाथि औंला ठड्याएको छ, त्यो आज पनि उत्तिकै सत्य छ । तिनको निराकरण बिना बर्गीय शोषण र सामाजिक उत्पीडनको अन्त्य नहुने कुरा अखण्डनीय र अकाट्य रूपमा स्थापित छ । यद्यपि यो शोषणलाई नयाँ नयाँ रुपमा कायम राख्न र यसको आयु लम्ब्याउन शोषक शासक बर्ग बिश्वभरी नै हरेक क्षेत्रमा निर्मम किसिमले लागि परेको छ, लागिनै रहेको छ र लागि रहने छ । शोषित पीडित बर्ग र समुदायले यसका बिरुद्ध संघर्ष गर्नु र शोषण गर्ने पद्धति, परिपाटी र प्रकृयाका बिरुद्ध जुध्नु अनिबार्य र अपरिहार्य छ । यसैलाई मार्क्सले समाज बिकासको इञ्जिन अर्थात् ‘बर्ग संघर्ष’ को संंज्ञा दिएका हुन् ।
यद्यपि कम्युनिष्ट आन्दोलन र मार्क्सवादको बिरोध गर्ने क्रममा नब सामन्ती र पूँजीवादी शक्तिले जुन प्रति प्रबाहको बाटो अख्तियार गरेर त्यसका लागि बिज्ञान र प्रबिधिका नबीनतम उपलब्धीहरुलाई पनि दुरुपयोग गरे त्यसले गर्दा आज बिश्वमा पूँजीवादी देशहरुमा पनि घोर दक्षिणपन्थी शक्ति पुनः मौलाउने, हुर्किने र बढ्ने मौका पाइरहेको छ । भलै त्यो क्षणिक र अस्थाई प्रकृतिको कुरा नै किन नहोस् । यस क्रममा बिश्वका सबै महादेशका बिभिन्न देशका सरकार र तिनको बद्लिदो प्रबृत्तिलाई हे¥यो भने आज त्यो छर्लङ्ग देख्न सकिन्छ । चाहे हामी भारतमा मोदी सरकारले चलाएको कथित हिन्दूबादको आडमा गैर हिन्दूलाई सताउने किसिमले धार्मिक आडमा राजनीतिक गर्ने कुरा होस् चाहे दुइ बर्ष २०१८ मा यूरोपेली संघमा आबद्ध बिभिन्न देशहरु — अष्ट्रिया, बेल्जियम, डेनमार्क, फिनल्याण्ड, इटली, पोल्याण्ड, हंगेरी र स्लोभाकियामा आएका दक्षिणपन्थी सरकारलाई हेरौ ती सबै परद्वेषी र दक्षिणपन्थी प्रकृति र प्रबृतिका देख्न सकिन्छ । त्यसैगरी फ्रान्सको नेशनल फ्रण्ट, जर्मनीको अल्टरनेटिभ फर डाइसल्याण्ड, ग्रीसको गोल्डन डन र नीदरल्याण्डको पार्टी अफ फ्रिडम जस्ता पार्टीहरुलाई पनि दक्षिणपन्थी प्रबृत्तिकै दलको रुपमा लिइन्छ । यसरी नै ब्राजिलमा आएको घोर दक्षिणपन्थी जायर बोल्सोनोरोको चुनाव र भेनेजुएलामा मदुरो सरकारका बिरुद्ध अमेरिकाको समर्थनमा अहिले भइरहेको दक्षिणपन्थीहरुको हमलालाई पनि यसै कोटीमा लिन सकिन्छ । बितेको दुइ बर्षयता तुर्कीमा रेसेप एर्देगानलाई दोश्रो पटक राष्ट्रपति चुनियो । त्यसैगरी इजरायलमा बेञ्जामान नेतान्यहूलाई दोश्रो पटक इजरायलको प्रधानमन्त्री चुनियो । यता जापानमा पनि शिञ्जो आबे राजनीतिमा दक्षिणपन्थकै प्रतिनिधि मानिन्छन् । अमेरिकामा पनि २०१६ मा भएको चुनावमा डोनाल्ड ट्रम्प जो राष्ट्रपतिमा चुनिए घोर दक्षिणपन्थकै प्रतिनिधि पात्र हुन् भन्ने कुरा जग जाहेर नै छ ।
तर यसरी दक्षिणपन्थी या तिनका अनुगामी नेताहरुलाई एकथरीले तिनीहरु दक्षिणपन्थी या बामपन्थी के हुन् भन्ने कुरालाई निरपेक्षरुपमा छोडेर ‘जनप्रिय’ ‘बिशेष ओजस्वी ब्यक्तित्व’ या ‘ घघडान हस्ती’जस्ता संज्ञा दिएर उनीहरु सबैकोे प्रबृत्तिलाई ढाकछोप गर्न खोज्ने पनि गरिएको छ । त्यस्ता ब्यक्तिहरु ह्यूगो चाभेज भए पनि डोनाल्ड ट्रम्प भए पनि मरिन लेपेन भए पनि या जेरेमी कार्बिन भएन सबैलाई एउटै जस्तो मान्ने गर्दछन् । यद्यपि तथ्य सत्य त के हो भने लोकप्रियतलाई पनि बढीभन्दा बढी एउटा शैली त अबश्य मान्न सकिएला तर त्यसलाई बिचारधाराका रुपमा लिन सकिदैन ।
भन्ने नै हो भने त एउटा घघडान नेताका रुपमा त तुर्कीका एर्दोगान या हंगेरीका भिक्टर ओर्बान जस्ता दक्षिणपन्थीहरुलाई अथवा भेनेजुएलाका मडुरो या बोलिभियाका इबो मोरालेस जस्ता बामपन्थी नेताहरुलाई पनि भन्न सकिएला । यसरी बस्तुतः जे भइरहेको छ त्यसलाई सही किसिमले बुझ्नका लागि मार्क्सवादी पद्धतिकै सहारा लिनु पर्ने हुन्छ ।
आफ्नो प्रसिद्ध कृति ‘बोनापार्टको अठारौं ब्रुमेर’मा मार्क्सले लेखेका छन् : ‘मानिसहरुले आफ्नो इतिहास रच्दछन् तर उनीहरुले त्यसलाई आफ्नो मन मौजी हिसाबले रच्दैनन् । उनीहरुले इतिहासलाई स्वयं आफुले छानेको स्थितिमा रचना गर्दैनन् बरु यस्तो परिस्थितिमा रचना गर्दछन् जुन अतितद्वारा सोझै उनीहरुका सामुमा प्रस्तुत हुने गर्दछ, उनीहरुलाई प्रदान गरिन्छ र उनीहरुसम्म पु¥याउने गरिन्छ’ ।
मार्क्सले यस्तो परिस्थितिमा जहाँ पूँजीवादी समाजमा पूँजीपति बर्गका लागि संबैधानिक तथा संसदीय उपायहरुबाट आफ्नो राज कायम राख्न सम्भव रहँदैन, जहाँ संकट त्यो मुकाममा पुगिसकेको हुन्छ र जहाँ मौजूदा राजनीतिक ब्यबस्थाबाट टुट्ने स्थिति पैदा हुनजान्छ, त्यही बोनापार्टबादको अर्थात् कुनै तानाशाही नेताको उदय हुने चर्चा गरेका थिए । यस्ता परिस्थितिहरुले कुनै बोनापार्टी नेता या शासनमा शासक बर्गले एक हदसम्म स्वायत्ततालाई समावेश गर्दछ । तर यसको अर्थ के होइन भने त्यस बोनापार्टी शासनले सत्ताधारी बर्गको बिरुद्ध काम गर्ने मात्रै होइन तिनको हितको रक्षा गर्ने काम पनि गर्दछ ।
घोर दक्षिणपन्थी र तानाशाहीपूर्ण नेताहरुको उदय र उभारलाई हामीले बिश्व बित्तीय पूँजीको अनिश्चितताहरु, नबउ दारबादद्वारा समाजहरुको पुनर्गठन र त्यस संकटको सन्दर्भमा हेर्नु पर्दछ जसले स्वयं नबउदारबादी ब्यबस्थालाई आफ्नो जकडबन्दीमा लिइसकेको हुन्छ । यस्ता दक्षिणपन्थी मोडको हिस्साकोरुपमा जस्ता किसिमका नेताहरु सामुमा आइरहेका छन् तिनको पहिचान, नबउदारबादी नीतिहरुप्रति तिनको बफादारी, अन्ध राष्ट्रबादी कट्टरता र जनसंख्यको एउटा हिस्सालाई पराई सम्झिने बोली र ब्यवहाबाट हुने गर्दछ । कतिपय निर्बाचित तानाशाहीपूर्ण नेताहरुको चरित्र बोनापार्ट जस्तै लाग्दछ जसको चर्चा माक्र्सले पनि गरेका थिए ।
बिश्वमा ब्याप्त नबउदारबादले बितेको चार दशकमा समाजलाई पुनर्गठनगरेको गरेको छ । जसको परिणाम के भएको छ भने मजदुर बर्ग लगायत श्रमजीबी बर्गलाई किनारामा धकेलिदिएको छ । त्यसले बिभिन्न किसिमका पहिचानको राजनीति, जाति, धर्ममा आधारित प्रतिस्पद्र्धी राष्ट्रबादलाई हुर्काएको छ । यसै कालखण्डमा समाजबादका सार्बभौमा मूल्यहरु पनि पछाडि धकेलिएका छन् र त्यसले बिभिन्न कसिमका दक्षिणपन्थी बिचारधारहरु तथा आन्दोलनहरु हुर्काउने बढाउने आधार तयार गरेको छ ।
यद्यपि एक दशकभन्दा अघि २००७/८ को बिश्व बित्तीय संकटदेखि नबउदारबादी ब्यबस्थाको संकटको आरम्भ भयो र यो संकटले अहिले पनि आफ्नो रंग देखाइरहेको छ । यस संकटले नयाँ अन्तरबिरोध पैदा गरेको छ, जसबाट पहिलादेखिनै चल्दै आएको ब्यवस्थासँग सम्बन्ध टुट्दो छ र नयाँ राजनीतिक शक्तिहरुको उभार र बढ्दो तनाबको दिशामा लैजादो छ ।
यसरी नबउदारबादी ब्यवस्था एउटा अन्ध र बन्द गल्लीमा पुगिसकेको छ र सत्ताधारी बर्ग संबैधानिक तथा शासकीय संस्थाहरुलाई पहिलाकै झै सुगमतापूर्व चलाउन असमर्थ भइरहेको छ । यो नबउदारबादले जनतन्त्र र त्यसको प्रतिनिधित्व गर्ने गरेका राजनीतिक संस्थाहरुलाई पनि खोक्रो तुल्याइदिएको छ । यस्तै किसिमको माहोलमा घोर दक्षिणपन्थी र प्रायजसो केही गर्न सक्ने खालका राजनीतिक नेताहरुको उद्भव हुने गरेको पनि देखिन्छ। तिनले आफुलाई पहिलादेखिका बद्नाम राजनीतिक प्रतिष्ठानबाट माथि उठाएको देखाउने कोशिश पनि गर्ने गरेका छन् ।
हामीले डोनाल्ड ट्रम्प, एर्दोगान, नेतान्याहू, तथा बोल्सोनारो तथा भारतका मोदी समेत सबैलाई यसै प्रकृयाको उपजको रुपमा देख्न सक्दछौं । यद्यपि यी मध्ये हरेकको उदयको ठिक ठिक परिस्थितिहरुमा र तिनले प्रतिकृयाबादी बिचारधारा तथा बिभाजकारी राष्ट्रबादको सहारा लिने कुरामा आफ्नै किसिमको भिन्नता पनि रहेका छन् भन्ने कुराको पनि ख्याल राख्नै पर्दछ ।
आज यसरी पूँजीको शासनको मन पराइने गरेको रुप — उदार जनतन्त्र पनि संकटमा छ । पश्चिमा देशहरुमा जनतालाई र खाश गरेर मजदुर बर्गलाई यो त्यस्तो ब्यवस्था नै बढी लाग्दछ जसले बित्तीय तथा कारोबारी शक्तिकै सेवा गर्दछ । सोशल डेमोक्रेटिक पार्टीहरुले पनि उदारबादी बिश्व दृष्टिकोणलाई अपनाएका थिए र तिनले पनि यसको दुष्परिणाम भोग्नुप¥यो । उनीहरु पनि बद्नाम भइसके र उनीहरुलाई तिनै अभिजात बर्गीय शासकहरुकै एउटा हिस्साका रुपमा हेरिने गरिन्छ ।
यस परिस्थितिमा घोर दक्षिणपन्थी तथा नब फासिबादी शक्तिहरुले नबउदारबादी ब्यबस्थाका बिरुद्ध जनताको असन्तोषलाई आमरुपमा दोहन गर्ने कोशिश गरेको छ । ती शक्तिहरुले पर पीडक र प्रबास बिरोधी भावना भड्काउनका लागि आप्रबासीहरु र अन्य धार्मिक तथा जातिय अल्पसंख्यक समुदायहरुलाई निशाना बनाउने गर्दछन् गर्दै आएका छन् ।
भूमण्डलीकृत बित्तीय पूँजी र नबउदारबादी शासनले हरेक ठाउमा जाति, धर्म र नस्लमा आधारित पहिचानलाई पालन पोषण गरेको छ । ती पहिचानहरु पहिचानको दक्षिणपन्थी राजनीति र संकीर्णताबादी राष्ट्रबादको आधार बन्न पुगेका छन् । बिभिन्न देशहरुमा ‘पराईहरु’ छन् जसलाई तारो बनाउनका लागि छाँटिएको छ । जस्तो उदाहरणका लागि भारतको कुरा गर्ने हो भने मुसलमान या कुर्दलाई लिन सकिन्छ ।
बास्तवमा माक्र्सबादले यस दक्षिणपन्थी प्रकृतिको खतरालाई बुझ्नका निम्ति मात्र हामीलाई मद्दत गर्दैन हामीलाई यसका बिरुद्ध लड्न पनि बिचारधारात्मक र राजनीतिक हतियारले सुसज्जित पनि तुल्याउँदछ । यी शक्तिहरुको आधारभूतरुपमा सामना बर्ग संघर्षको माध्यमबाट हुन्छ या गर्न सकिन्छ जसमा साम्राज्यबाद तथा अन्तर्राष्ट्रिय बित्तीय पूजीबाद बिरुद्धको संघर्ष पनि पर्दछ । यद्यपि अहिले यो संघर्ष प्रधानतः राष्ट्रिय सीमा भित्र नै चलाइनु पर्दछ । जस्तो कि कम्युनिष्ट घोषणापत्रमा भनिएको छ : सारमा त होइन, तर पनि आफ्नो रुपमा पूजीपति बर्गका बिरुद्ध सर्बहारा बर्गको संघर्ष पहिला एउटा राष्ट्रिय संघर्ष हुन्छ । निसन्देह हरेक देशका सर्बहारा बर्गले सबैभन्दा पहिला आफ्नै देशको पूँजीपति बर्गसँगका सारा मामिला सल्टाउनु पर्दछ । पुनः बर्गीय संघर्षलाई मात्र आधारभूत बर्गको आर्थिक मागहरुका लागि संघर्ष गर्ने रुपमा मात्र हेर्न सकिदैन । जस्तो कि माक्र्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्रमा भनेका छन् ः ‘बर्गीय संघर्ष सारतः एउटा राजनीतिक संघर्ष हो’ । त्यस कारणले यसरी नै यो संघर्षलाई जब नबउदारबादी ब्यवस्थाका बिरोधी संघर्षमा जोडिन पुग्दछ तब यो गुणात्मकरुपले शक्तिशाली हुन्छ र यसले जन संघर्षको चरित्र हासिल गर्दछ । बिश्वका बिभिन्न भागहरुमा बित्तीय पूँजीले सञ्चालित भूमण्डलीकरणद्वारा छेडिएका दक्षिणपन्थी हमला तथा त्यसले उन्मुक्त गरेका बिभाजनकारी शक्तिहरु बिरुद्धको संघर्षमा एउटा नबिकृत बामपन्थी राजनीति देखापर्न थालेको छ जुन उदार जनतन्त्र र सम्झौताबादी सोशल डेमोक्रेशीको राजनीतिभन्दा धेरै भिन्न छ । यसलाई बृटेनमा लेबर पार्टीका नेता जेरेमी कोर्बिनको मञ्चकोरुपमा, अमेरिकामा बर्नी सेण्डर्सको नेतृत्वमा डेमोक्रेटिक सोशलिस्ट मञ्चकोरुपमा, फ्रान्समा बाम मोर्चा तथा ‘एल्लो ज्याकेट्स’ जस्ता नयाँ जन आन्दोलनमा अनि पर्याबरण रक्षाको आन्दोलनमा हामीले यस्ता हलचलहरु देख्न सक्छौ ।
निश्चय पनि यी मजदुर बर्ग तथा श्रमजीवी जनतालाई राजनीतिक घटना बिकासको केन्द्रमा ल्याउने तर्फबाट हेर्दा अहिले धेरै नै आरम्भिक र अनिश्चित कदम नै हुन् । तथापि जस्तो कि एरिक हब्सनले आफ्नो अन्तिम पुस्तकमा लेखेका छन् : ‘एक पटक फेरि माक्र्सलाई गम्भीरतापूर्वक लिनुपर्ने समय आइसकेको छ’ । यो निकै महत्वपूर्ण छ ।
तपाईको प्रतिक्रिया