दार्चुला
शिक्षा विकास तथा समन्वय ईकाइ दार्चुलालाई युनिसेफ नेपालगञ्जबाट प्राप्त शैक्षिक सामग्री जिल्लाको ब्याँस र दुहुँ गाउँपालिकाका बालबालिकाहरुलाई वितरण गर्न सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुलाई मंगलवार एक कार्यक्रमका बिच हस्तान्त्रण गरिएको छ । उक्त शैक्षिक सामग्री कक्षा १ देखी ३ सम्मका बालिबालिकाहरुलाई यथाशिघ्र वितरण गर्न शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयले सम्बन्धित पालिकालाई पत्र समेत पठाएको छ ।
ब्याँस गाउँपालिकाका १ हजार ४ सय ७ र दुहँु गाउँपालिकाका ५ सय ९३ जना बालबालिकालाई वितरण गर्न ब्याँस गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकी र दुहुँ गाउँपालिकाका उपाध्यक्ष ईस्वरी जोशीलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गरिएको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । कोरोना भाईरस संक्रमणको बेला संचालन हुन नसकेको बालबालिकाहरुको पढाईलाई ध्यानमा राखी उक्त शैक्षिक सामग्री वितरण गर्न भनिएको उहाले बताउनुभयो ।
प्रति बालबालिकालाई खेलकुद सामग्री लगायत अन्य शैक्षिक सामाग्री सहितको झोला उपलब्ध गराइने उहाको भनाई छ । देश शिक्षा समुहको निर्णयबाट जिल्लाका ब्याँस र दुहुँ गाउँपालिकाका शिशु १ देखि ३ कक्षा सम्मका वालवालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्री वितरणले हालको अवस्थामा विद्यार्थीहरुलाई घरमा बसि अध्ययन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
शैक्षिक सामाग्री हस्तान्त्रण कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्की, ब्याँस गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकी, दुहँु गाउँपालिकाका उपाध्यक्ष ईश्वरी जोशी, प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, युनिसेफका प्रतिनिधि अशोक पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया