—लोकनारायण सुबेदी
हरेक बर्ष अगस्ट १२ का दिन नेपालले पनि अन्तर्राष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रम गरेर मनाउने र औपचारिकता निर्वाह गर्ने काम गर्छ । बिश्वमा सन् २००० देखि संयुक्त राष्ट्र संघकै आह्वानमा यो दिवस मनाउन थालिएको हो ।यद्यपि नेपालले भने २००४ देखि मात्रै यो अन्तर्र्रााष्ट्रय युवा दिवस मनाउने गर्दै आएको इतिहास रहेको छ ।
हुन त युवा दिवस मनाउनु आफैमा एउटा राम्रो काम हो नै । तर यूवाहरुको मूख्य समस्यालाई ओझेलमा पारेर त्यसका केही संबेदनशील पक्षमा मात्र केन्द्रित हुनु कत्तिको उपयुक्त हो भन्ने प्रश्न सर्बत्र उठ्छ र हामीकहाँ पनि उठेको छ, उठाउनु पर्दछ । किनकि आज विश्वब्यापी रुपमा र विशेष गरेर हाम्रो देशमा ठूलो यूवा शक्ति बेराजगारी, अभाव, अशिक्षा, अन्धबिश्वास, कुरीति र असुरक्षाले अत्यन्तै आक्रान्त छ । त्यसमाथि भूमण्डलीकरणले थपिएको विकृति र विसंगतिले गर्दा हाम्रो युवा समुदाय उपभोक्तबादको अत्यन्तै नराम्रो किसिमले शिकार भइरहेको छ । यस्तो स्थितिमा हाम्रो देशबाट आज घोषितरुपमा नै दिनको २००० को संख्यामा युवा शक्ति बिदेशतिर पलायन भएर गइरहेको छ भने अघोषित रुपमा अबैध बाटो भएर कति युवाहरु बिदेशिन्छन् त्यसको कुनै लेखाजोखा छैन । यो वास्तवमा अत्यन्तै दयनीय स्थितिको द्योतक हो ।
यद्यपि यही युवा शक्तिले कमाइ गरी पठाएको पैसा(बिप्रेषण)ले हाम्रो राष्ट्रिय आमदानीमा करीब २९ प्रतिशत योगदान गरिरहेको गर्बकासाथ सरकारले उल्लेख गर्ने गरेको छ र नेपालमा बिदेशी मुद्रा सञ्चिति र बजेट धान्न तथा अर्थतन्त्रलाई टेवा दिन यसले ठूलो मद्दत पुगिरहेको हाम्रा अर्थमन्त्रीहरु र एकथरी अर्थबिद्हरु सगौरब अर्थ लगाउने गर्दछन् । हुन पनि कृषिपछि राष्ट्रिय आयमा ठूलो योगदान गर्ने क्षेत्र नै यही रहेको पनि देखिन्छ । तर विदेशमा जाने हाम्रा ऊर्जाशील युवा युवतिहरु लुटिने, पिटिने, मारिने, बलात्कृत हुने र लज्जित बनेर र कतिपय बेलामा त लाश बनेर फर्किनु परेको अत्यन्तै पीडादायक स्थिति व्याप्त छ । न आफ्नो देशमा रोजगारी, शिक्षा, स्वास्थ्यको क्षेत्रको हक अधिकारमा हाम्रो युवा शक्ति सुरक्षित छन् न विदेशमा नै उनीहरु सुरक्षित छन् । अत्यन्तै कष्टप्रद अबस्थाबाट उनीहरु गुज्रिरहनु परेको कटु यथार्थ हाम्रो राष्ट्रका अगाडी ठिंग उपस्थित छ । तर हाम्रो राज्य र सरकार रमिते भएर बसेको छ । देशमा ब्यापक रोजगारी पैदा गर्ने किसिमले बैज्ञानिक भूमिसुधार, राष्ट्रिय औद्योगिकरण र आम बिद्यूतिकरण गर्ने कुनै ठोस, प्रष्ट र ब्यवहारिक राष्ट्रिय नीति अख्तियार गर्न सकिरहेको छैन । फलत हाम्रो राष्ट्रिय बजार अभिबृद्धि हुन, राष्ट्रिय औद्योगिक बातावरण सिर्जना हुन र युवा पलायन रोकिन सकिरहेको छैन ।
त्यसमा पनि जुन बिप्रेषण हाम्रा युवा युवतीले स्वदेशमा पठाउँदछन् त्यो उनीहरुको रगत र पसिनाको कमाई कुनै उत्पादनशील क्षेत्रमा लाग्न लगाउन नसकिरहेको अबस्था छ । त्यस सम्वन्धि कुनै योजना, नीति र कार्यक्रम नै देशसँग छैन । त्यसैले त्यस युवा कमाईको सबैभन्दा धेरै अंश भारतबाट बिभिन्न बस्तु आयात गर्न र आन्तरिक उपभोगमै समाप्त भएर गएको छ । बिज्ञहरु के भन्दछन् भने नेपाली युवाहरुले कमाएको बिप्रेषणको केवल १० प्रतिशत मात्रै अंश नेपालको बिद्यूतिकरणमा लगाउने हो भने पाच बर्षभित्र नेपाल झलमल्ल हुने मात्र होइन, नेपालमा औद्योगिकरण, रोजगारी सिर्जना,सिञ्चाइ सुविधा, उत्पादनबृद्धि, बन तथा बातावरण सुरक्षामा ठूलो र अपूर्व सहयोग पुग्न सक्ने थियो । तर राज्य सत्ताको नेतृत्व गर्नेहरु यी सबै रचनात्मक काम गरेर राष्ट्रलाई भित्रैदेखि बलियो र सुदृढ बनाउने र युवा समुदायलाई देशप्रति गौरब गर्ने खालको बातवारण बनाउने भन्दापनि ‘ऋण गरेर घिउ खाने’ मगन्ते प्रबृत्तिको मात्रै भएको र तिनको राष्ट्रिय चरित्र नै संदिग्ध देखिने र रहने गरेकोले यस्तो सकारात्मक बिकल्पको बिकास पनि हुन सकिरहेको छैन । देशले पन्ध्रवटा पञ्च बर्षीय योजना पार गरिससक्न लाग्दा पनि बिश्वका १० वटा गरीब राष्ट्रमा देश दरिन पुग्नु र रहनुको कारण नै यही भएको छ ।
देशको पछिल्लो जन गणना हेर्दा र केलाउँदा नेपालको जनसंख्यामा ४०.३४ प्रतिशत संख्या १६ बर्ष माथि ४० बर्ष मुनिको युवाहरुको मात्र छ । कुनै पनि देशका अर्थबेत्ताहरु जनसंख्याको यत्रो ठूलो हिस्सा युवाहरुको हुनुलाई अत्यन्तै ठूलो र सकारात्मक आर्थिक शक्तिको रुपमा लिन्छन् र यस्तो युवा शक्ति भएको देशलाई बिकासको तीब्र गति दिनसक्ने सम्भावना भएको देशको श्रेणीमा राख्ने गर्दछन् । आजका बिश्वका बिकसित, माध्यम बिकसित देशहरुको यथार्थले पनि यो कुराको राम्रोसँग पुष्टी गरिरहेको र गरिसकेको पनि छ । तर हामीकहाँ न देशको अर्थतन्त्रले सही दिशाबोध र गति पाएको छ न देशको युवा शक्तिलाई नै देशको चौतर्फी बिकास प्रकृयामा सामेल गर्ने कुनै दिशा प्रदान गर्न नै सकेको छ । यस्तो स्थितिमा हाम्रा युवाहरुको मानसिक स्थिति के कस्तो होला र हुन्छ कसैले पनि सहजै अनुमान गर्न सकिन्छ ।
आजको पछिल्लो समयको देशको युवाहरुको स्थितिलाई हेर्ने र केलाउने ज्ञाताहरुले सामाजिक बिभेद, बिषमता, बेरोजगारी र कुलतका कारणले नेपाली युवाहरुको मानसिक र शारिरीक स्वास्थ्यको समस्या नराम्रोसँग बढ्दै गएको औंल्याएका छन् । त्यस्तो अबस्थामा एकातिर सरकारले मानसिक स्वास्थ्योपचारका लागि पर्याप्त बजेट प्रदान गर्न सकेको छैन भने अर्कोतिर ऊर्जाशील नेपाली युवाहरुको मानसिक स्वास्थ्य उपचार सम्वन्धि कुनै ठोस र प्रभावकारी राष्ट्रिय नीति नै बने बनाएको देखिदैन । अनि जे जस्तो फितलो र कमजोर नीति यस सम्वन्धमा बनाइएको छ त्यसको पनि प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । यस्तो अबस्थामा युवा समुदायलाई मानसिक स्वास्थ्यमा कुनै बिकृति र बिसंगति आउन नदिने के गर्नु पर्दछ भन्ने कुरा एकदमै प्रष्ट छ । उनीहरुको मानसिक स्वास्थ्यमा किन कमजोरी आयो भन्ने प्रश्नको उत्तर के हुन्छ भने उनीहरु बिभेदमा परे पारिएका छन् बेराजगार छन्, कुलत र कुबेशनमा लाग्न बाध्य भएका वा बनाइएका छन् । यी गम्भीर समस्याको ठोस निराकरणका कदम चाल्नतिर आजै र अहिलेदेखि नै अग्रसर हुनु नै वास्तवमा अन्तर्राष्ट्रिय युवा दिवसहरु मनाएको पनि सार्थकता हुन्छ ।अन्यथा यी दिवसहरु फगत औपचारिकता पूरा गर्ने कर्मकाण्डीय कुरामा सीमित हुन पुग्दछन् । तिनले युवा समाजमा सुनिश्चित र सुन्दर भबिष्यको कुनै आशा र बिश्वासको सञ्चार गर्न सक्दैनन् । युवाहरुको जोश र जाँगरलाई सही किसिमले राष्ट्र निर्माणमा लगाउने बातावरण पनि बनाउन सक्दैनन् । यो एकदमै अकाट्य र यथार्थ कुरा हो । नीति निर्माता, योजनाकार, राज्य र समाज सिङ्गैले ध्यान दिनु पर्ने कुरा हो ।
त्यसमा पनि आज विश्वब्यापीरुपमा नै जुन कोभिड–१९ महामारी फैलिएको छ यसले गर्दा बिश्वब्यापीरुपमा नै युवा बेरोजगारी दर पहिले कहिल्यैभन्दा अत्याधिक बढेको छ । जीबन अझ असुरक्षित र भयावह बन्दै गएको छ । पठन पाठन ठप्प छ । यस्तो स्थितिमा युवा शक्तिलाई कसरी समाजको हितमा उनीहरुको जीवन, सामथ्र्य र शक्तिलाई सदुपयोग गर्ने भन्ने कुरामा हरेक राष्ट्रले गम्भीरतम रुपमा सोच्नु पर्ने र प्रभावकारी तत्कालीन र दीगो दीर्घकालीन कदम चाल्नुपर्ने ज्वलन्त आवश्यकता छ । यसरी मात्र १२ अगष्ट युवा शक्तिलाई समर्पण गरेको सही ठहर्छ । अन्यथा एउटा फगत औपचारिकता मात्र हुनेछ !
तपाईको प्रतिक्रिया