– लोकनारायण सुवेदी
विश्वमा मानव जाति अनेक समस्याले गाँजिदै आएको छ । प्रकृतिसँग तादाम्यता राख्न सकेन र सिकेन अनि यसका नियम नबुझी यसमाथि विजय गर्ने धुनमा मानिस प्रकृतिका अधिशासित नियम बिरुद्ध जथाभावी हिड्यो भने विजयको कुरा त परै छ अनेक बिपत्तिहरु चाँही अबश्य ल्याउँदछ र आफुले खनेको खाडलमा आफै फस्दछ भन्ने कुरा अनेक यस्ता गतिविधिका उदाहरणले प्रष्ट पारेका छन् । अहिलेको कोभिड–१९ महामारीको सन्दर्भमा पनि एकथरीले यस्तै यस्तै बिश्लेषण पनि गरेका छन् । यसलाई होइन भनेर यकिनकासाथ भन्न सकिने स्थिति पनि छैन । यहाँ यस्तै एउटा प्रसंगको चर्चा गर्न खोजिएको छ ।
विश्वमा इण्डोनेशियाको राजधानी जाकार्ताको गणना सबैभन्दा घना आवादी भएको प्रदुषित शहरहरुमध्ये एक मानिन्छ । त्यहाँ केही समय पहिला यत्तिका धेरै मुसाहरु भए कि ती मुसा उन्मूलन गर्न एउटा अभियान नै थालिएको छ । यस अन्तर्गत जिउदै मुसा पक्रेर ल्याउने मानिसलाई पुरस्कार समेत दिने गरिएको छ । यस्तो कदम किन चाल्नुप¥यो भने हालैका दिनहरुमा मुसाका कारण त्यहाँ प्राणघातक रोगहरु फैलिन थालेका थिए । त्यसमाथि त्यहाँ हालै आएको बाढीले थप गम्भीर समस्या उत्पन्न गरिदियो । मुसाको अधिकताबाट जति पनि समस्या र कठिनाईहरु उत्पन्न हुन सक्तछन् ती सबैसँग आजकल जाकार्ताका मानिसहरु जुधिरहेका छन् । त्यसले गर्दा मुसा पक्रने, तिनलाई फसाउने र मार्ने यन्त्रहरुको कारोबार पनि तीब्र रुपमा बढेको छ । यहाँ यसैले मुसा ल्याऊ,पुरस्कार लैजाऊ अभियानको चर्चा गरिन थालेको हो ।
तर भनिन के थालियो भने यस अभियानको उल्टो असर परिरहेको छ । त्यस उल्टो असरलाई‘कोब्रा इफेक्ट’ भन्ने गरिन्छ । यो शब्दावली जर्मन अर्थशास्त्री होरुट सीबर्टको पुस्तकबाट निस्केको थियो – कोब्रा इफेक्ट । त्यो पुस्तकमा जुन कोब्रा इफेक्टका कुरो गरिएको छ त्यो भारतसँग जोडिएको छ । पुस्तकका अनुसार बृटिश कालमा दिल्ली र त्यस वरिपरीका क्षेत्रहरुमा सर्प अत्यन्तै बढेका थिए । सरकारले त्यस समस्याको सामना गर्नका लागि जीबित साप पक्रिएर ल्याउनेहरुलाई राम्रो पुरस्कार दिने घोषणा गरेको थियो । परिणाम के भएको थियो भने बढी भन बढी पुरस्कारलिनका लागि कतिपय मानिसले मजाले सर्प नै पाल्न शुरु गरेका थिए । प्रष्ट छ, सरकारको यो योजना पूर्णरुपले असफल हुनु नै थियो र यस सम्वन्धि पुरस्कार पनि बन्द गरियो । यो एउटा मात्र एक्लो उदाहरण होइन । यस्तै नै एउटा घटनाको उल्लेख इतिहासकार माइकल बानले आफ्नो पुस्तक ‘द ग्रेट हनौई ¥याट माइस्याकर’ मा पनिगरेका छन् ।
यो कुरा त्यत्ति बेलाको हो जति बेला भियतनाम फ्रान्सको उपनिबेश थियो । त्यहाँ शहरको सम्पन्न यूरोपेली क्षेत्रमा बनाइएका नयाँ शिबिरहरुमा मुसाले आउने जाने आफ्नो बाटो बनाए र त्यस माध्यमबाट मुसा शहरमा कहि पनि पुगिहाल्दथे । हैरान भएर सरकारले मुसाबाट मुक्ति पाउनका लागि मुसाको पुच्छर ल्याउनेहरुलाई पुरस्कार दिने योजना बनायो । परिणाम के भयो भने मानिसहरुले दिन दिनै सयकडौ पुच्छर ल्याउन थाले, तर पनि मुसाको संख्या दिनानुदिन बढ्दै नै गयो र शहरमा पुच्छर काटिएका मुसाहरु पनि देखा पर्न थाले । वास्तवमा मानिसहरुले मुसारको पुच्छर काटेर त्यसलाई छोडिदिने गर्दथे । पुच्छर बिनाका भए पनि ती मुसारको प्रजनन क्षमता घटेको थिएन । त्यो अभियान पनि आखिरमा बन्द हुन पुग्यो । के अहिले चलाइएको जाकार्ता अभियानको पनि यही गति हुने हो ? मानिसहरु के मान्दछन् भने त्यहाँ मुसाको संख्यामा हाल कुनै कमी देखिएको छैन । तिनलाई मार्नका लागि गन्धक ग्यासको प्रयोग गरिदैछ र खतरा के छ भने यस ग्यासको नराम्रो असर ढिलो चाडो मानिसको स्वास्थ्यमा देखिन थाल्ने छ । बातावरण तथा मानिसहरुको स्वास्थ्य ठीक राख्नका लागि प्राकृतिक उपाय अपनाउने पनि कुरा त्यहाँ चलिराखेको छ । त्यस्ता पशु पंक्षीहरु पाल्ने पनि कुरा पनि चलिरहेको छ जसले मुसा खाने गर्दछन् । अर्थात मुसालाई भोजनकोरुपमा लिन्छन् । यद्यपि यो तरीका पनि के कत्तिको प्रभावकारी हुने हो अहिले नै कसैले भन्न सक्तैन । मुसाको गन्ति त्यस्ता जीवहरुमा हुन्छ जसले बिभिन्न किसिमका प्रतिकूल पस्थितिमा पनि बाच्न सिक्ने गरेका हुन्छन् ।
मुसा मार्नका लागि पनि सदियौंदेखि प्रयासहरु गरिदै आएका छन् । १९३० मा न्यूयोर्कमा सस्र्यौंको ग्यास प्रयोग गरएको थियो यसका लागि । १९४० मा केही यस्ता औषधीहरु पनि बनाइयो जुन एक खुराक खानाले मुसाको शरीरको रगत चुहिने गर्दथ्यो । हेलिकोप्टर प्रयोग गरेर पनि मुसाको बीष बर्षाउने प्रयोग पनि गर्ने गरियो । २०११ मा दक्षिण प्रशान्त क्षेत्र (साउथ प्याशिफिक रिजन) मा हेण्डरसेन द्विपमा ८० मेट्रिक टन बीष बर्षाइएको थियो तर मुसामा केही पनि फरक परेन । शिकागोमा २०१० मा प्राकृतिक तरीकाले मुसाको सफाइनै गर्ने प्रयास पनि गरियो, त्यसबाट त्यहाँ मुसाको आधिक्यतामा कमी आएन । रबर्ट सल्लिभानको २०१४ मा प्रकाशित पुस्तकमा मानिसहरुसँगका मुसाको सम्वन्ध एउटा कहिल्यै नहुने युद्धको सम्वन्ध भनिएको छ । जुन युद्धमा मानिसले सधै नै हार्दै आएको छ । के पनि भनिन्छ भने मानिसले यो पृथ्वीमा रहन छाडोस् मुसाहरु भने मानिस नरहे पनि रहनेछन् । यतिबेलाको सत्य के छ भने पूरै मानबतासँग यो सानो प्राणी – मुसा – आतंकको कुनै समाधान छैन ।
तपाईको प्रतिक्रिया