काठमाडौं । सांसदहरुलाई वितरण गर्न बनाइएको लोगो संसद सचिवालयले फिर्ता गरेको छ ।
लोगोको चौतर्फी आलोचना हुनथालेपछि त्रुटीपूर्ण भएको भन्दै फेरि नयाँ लोगो बनाएर ल्याउन संसद सचिवालयले बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई ती लोगोहरु फिर्ता पठाएको हो ।
मंगलबार सभाभुखसहित बसेको संसद सचिवालय र घरेलु कार्यालयका अधिकारीको बैठकले पुनः नयाँ लोगो बनाउने निर्णय गरेको थियो ।
सो निर्णयअनुसार मंगलबार नै १९० वटा लोगो फिर्ता लगिसकेको हस्तकला इकाइ अधिकृत गणेश राउतले जानकारी दिए । लोगो पुनः बनाउँदा लाग्ने खर्च हस्तकला इकाइ ललितपुरले नै बेहोर्ने मौखिक कुराकानी भएको अधिकृत राउतले बताए ।
गत आइतबार उक्त लोगो संघीय संसदका महासचिव डा.भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो हस्तान्तरण गरेका थिए ।
उक्त लोगो सार्वजनिक भएपछि नेपालको नक्सा नमिलेको भन्दै आलोचना सुरु भएको थियो ।
तपाईको प्रतिक्रिया