—लोकनारायण सुबेदी
चार महिना जतिको लक डाउनको अन्त्यपछि पनि नेपालमा कोरोना संक्रमण फैलिने क्रममा कुनै कमी आएन । बरु महामारीको गति अझ तीब्र भएर गएको छ र यो आज ठूलो चिन्ताको विषय बनेको छ । हिजो भदौ २ गते मात्रै देशभरमा एकै दिन १ हजार १६ जनामा कोरोना संक्रमण भएको पुष्टी हुनु र एकै दिन ७ जनाको कोरोनाका कारण निधन हुन पुग्नुले कोरोनाको सन्त्रास र चिन्ता अझ बढ्न गएको हो । सरकारले दाबी गरे अनुसार कोरोना रोक्ने र नियन्त्रण गर्ने अनेक उपाय र साबधानी तथा कडाई गरिदा समेत यो नरोकिएको मात्रै होइन फैलिने क्रम अझ बढ्दै र तीब्र हुँदै गएको छ । अहिले पनि यो देशका ७० जिल्लामा फैलिएको अबस्था छ । यो महामारी नेपालमा लकडाउन समाप्त भएपछि प्रबेश गरेको होइन, जुन उदेश्यले लकडाउन गरिएको थियो त्यसको सही परिपालन नभएको यसबाट प्रष्ट हुन्छ ।
लकडाउनका बेलामा यो फैलिन नदिने र नियन्त्रणका सबै उपायहरुका निमित्त राज्यले जुन पूर्बाधार तयार गर्ने काम गर्न सक्नु पर्ने थियो त्यो अपेक्षितरुपमा नगरेको या गर्न नसकेको यथार्थकै आजको स्थितिले खुलासा गरेको छ । सामान्यतः बिदेशबाट र बिशेषतः भारतबाट नेपाल फर्किएका श्रमजीबी बर्गका मानिसहरुलाई उपयुक्त किसिमले क्वारेण्टाइनमा राख्ने, परीक्षण र आवश्यक उपचार गर्ने तथा त्यसकै लागि क्वारेण्टाइनलाई ब्यबस्थित गर्ने काम हुनु पर्दथ्यो । त्यो कुरा लकडाउनको अबधिमा आबश्यक मात्रामा र सही ढंगले नभएको र क्वारेण्टाइन व्यवस्थित नभएबाट रोग सार्ने सामुहीक केन्द्र जस्ता बनेको कुरा पनि उठेको हो । हुन पनि लकडाउनको अन्त्यपछि यसको फैलिने र मृत्यु हुने क्रम बढे पछि त्यो सन्देह र गुनासो निकै सत्य ठहरिन गएको छ ।
यसमा शुरुदेखि नै उठेको आवाज के थियो भने उपचारमा लागेका चिकित्सक, स्वास्थ्य कर्मचारी, सुरक्षाकर्मी(प्रहरी, सशस्त्र र सेना) सञ्चारकर्मी आदि अग्र मोर्चामा रहेर काम गर्नेहरुको स्वास्थ्य रक्षा सामाग्री उनीहरुलाई उपलब्ध होस् र उनीहरुलाई निश्चिन्त भएर काम गर्ने बातावरण बनाइयोस् । तर अहिले यो चिकित्सक, कर्मचारी लगायत सुरक्षाकर्मीहरुमा समेत यो संक्रमण बढ्दोरुपमा फैलिन पुगेबाट स्वास्थ्य सुरक्षा सामाग्री लगायतको उचित ब्यवस्थापन गरिएको र ध्यान दिएको तथा स्वास्थ्य नियमको परिपालना नभएको प्रष्ट भएको छ । शुरुदेखि नै सचेत र क्रियाशील मानिसहरुमा नै यो भाइरस फैलनु कम चिन्ताको बिषय होइन ।
निश्चय नै कतिपय स्थानमा स्वास्थ्य नियमहरुको सही परिपालना नगरिदा र मास्कको सही ढंगले उपयोग नहूदा पनि यो बिषाणु फैलिन मद्दत अबश्य पुगेको होला तर लक डाउन हटेपछि जस्तो लक डाउनका बेला स्वास्थ्य दिशा निर्देश र अनुशासन पालन नगर्नेहरुको संख्या नगन्य थियो भन्ने नै देखिन्छ । अनि तिनबाट यो रोग फैलिएको अनुमान गर्ने बाहेक यथार्थ तथ्यहरु पनि थोरै मात्र रहेका छन् । यद्यपि स्वास्थ्य नियमहरुको क्वारेण्टाइन, आइसोलेशन सबैतिर अझ राम्रोसित पालन भएको भए अहिले फैलिएको संक्रमणको अबस्थाभन्दा न्यून रहेकै स्थिति हुन्थ्यो र फैलिने क्रम र गति सुस्त रहेको हुन्थ्यो भन्ने कुरा बिज्ञहरुले नै औंल्याइरहेका छन् ।
आवश्यक सुरक्षा र साबधानीपूर्बक गर्न मिल्ने र गर्न सकिने आर्थिक गतिबिधि चलाइनु पर्ने कुरा शुरुदेखि नै उठेको हो । त्यसमा आवश्यक ध्यान नदिइदा लकडाउनमा ठप्प भएका आर्थिक सामाजिक गतिबिधिहरु आर्थिक स्थिति खराबतर भएर गएको कुरा बिश्व र नेपालमा पनि एउटै हो । यसमा बिशेष गरेर दैनिक कमाएर खानुपर्ने श्रमजीबीहरुको ठूलो संख्यालाई धेरै नै समस्या परेको हो र परिरहेको छ । कोरोनाले रसातलमा फसेको अर्थब्यवस्था के कस्तो रहेको छ र त्यो के कसरी तंग्रिने हो भन्ने अर्को भयावह प्रश्न उठेको छ र त्यो समस्या अहिलेसम्म निरुत्तर र ज्यूँकात्यूँ छ । फलत यस स्थितिले जस्तो योजना र कार्यक्रमको माग गर्दछ त्यसबारे कुनै गम्भीर चासो र लेखाजोखा जिम्मेवार तहबाट भएको देखिदैन ।
अर्को गम्भीर चिन्ताको बिषय के पनि रहेको छ भने यो महामारी अर्को चरणमा पनि आउन सक्तछ भन्ने कुरा बिभिन्न देशमा यो दोहोरिएबाट एकदमै प्रष्ट छ । त्यसैले यसबारे अहिलेदेखि नै अझ बढी सतर्क, चिन्तनशील र क्रियाशील रहनु पर्ने आवश्यकता छ । यो भाइरस संक्रमणको ‘ट्रेस, टेस्ट र ट्रिटमेण्ट’ को क्रम र उपायलाई तीब्ररुपमै जारी राख्नु पर्ने र तयारीमा रहिरहनु पर्ने र धेरै सचेष्ट हुनुपर्ने स्थिति बिद्यमानै छ । कुनै पनि किसिमको हेलचेक्र्याईं र लापरबाहीको यसमा कुनै गुञ्जायस रहन दिनु हुँदैन भन्ने कुरा स्थितिले स्पष्ट पारेको छ ।
अझ अर्को अत्यन्तै दुःखद र एकदमै अस्वीकार्य कुरा के छ भने कोरोना संक्रमणको बेलामा पनि स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार र अनियमितताका जुन जनद्रोही कुराहरु भएका छन् त्यस बारेमा कुनै कारबाहीसम्म नहुने र त्यस सम्वन्धि उठेका गम्भीरतम प्रश्नलाई गुपचुप राखिने तथा बिषयान्तर गरेर अल्मल्याउने कुरा बास्तवमा जनताको स्वास्थ्य र राष्ट्रमाथिकै ठूलो खेलबाड हो । महामारीबाट पनि फाइदा उठाउने यस्तो निष्कृष्टतम दुष्कार्यको जति निन्दा गरे पनि कमै हुन्छ । ढिलो चाँडो यसको छानबिन र अपराधीलाई कारबाही नगरी जनताले छोड्ने छैन भन्ने कुराको हेक्का राज्य र सरकारले राख्नु पर्दछ । शारिरीक रोगभन्दा यो मानसिक भ्रष्ट रोग देश र जनताको लागि कम खतरनाक छैन भन्ने कुरा पटक पटक प्रकट भएको छ । कोरोना कहरले उठाएका यी समस्याहरुको समाधान खोजिनै पर्दछ । चुनौति अवसर पनि हो भनेर भ्रष्टाचार मौलाउन दिइनु कदापि सैह्य हुन सक्तैन ।
तपाईको प्रतिक्रिया