– लोकनारायण सुबेदी
आज सारा संसार कोरोना भाइरसको सन्त्रासले सन्तप्त छ । हुन पनि अहिलेसम्म कोरोना भाइरस सारा संसारभरी फैलिसकेको छ र यसबाट २ करोड २६ लाख जति मानिस संक्रमित भइसकेका र भइरहेका छन् भने झण्डै ८ लाख जति मानिस अकाल मृत्युबाट कालकलबित भइसकेका छन् । यसलई बिश्वब्यापी महामारीको रुप लिएको बिश्व स्वास्थ्य संगठनले घोषणा गरिसकेको पनि ६ महिना बितिसकेको छ । त्यसैले आज यो बिश्वब्यापी चिन्ता र चासोका अत्यन्तै संबेदनशील र अझ स्वास्थ्य सम्बन्धी गम्भीर बिषय बन्न पुगेको मात्रै छैन यसले पारेको चौतर्फी असरबाट ठप्प हुन पुगेका आर्थिक सामाजिक गतिबिधिका कारणले पनि यो महामारीको बिषय अत्यन्तै गम्भीर र सोचनीय बन्न पुगेको छ । यद्यपि अझै पनि ज्ञाताहरु भन्छन् — यो भाइरस १९१८ मा फैलिएको ‘स्पेनिश फ्लू’ जस्तो खतरनाक अझै पनि छैन । उनीहरु बारम्बार यो कुरा जानकारी दिइरहेका र औंल्याइरहेका छन् । जे भए पनि अहिले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपले आजभन्दा १०२ बर्ष अघि फैलिएको स्पेनिश फ्लूको त्यो डरलाग्दो स्मरणलाई ताजा बनाइ दिएको छ ।
त्यतिबेला बिश्व पहिलो बिश्व युद्धको समाप्ति पछि १९१८ मा जब त्यो युद्धको बिभिषिकाबाट बौरिने प्रयत्न हुँदै थियो त्यसैबेला यो स्पेनि फ्लूले नराम्रोसँग सताएको थियो । भनिन्छ त्यो युद्ध स्वय पनि त्यो रोग फैलिन एउटा कारक बनेको थियो । त्यसको मारमा परेर त्यतिबेला ६ करोडदेखि १० करोड जति मानिस मारिएको औंल्याइन्छ । भनिन्छ, पहिलो बिश्व युद्धमा जति मानिस मारिएका थिए त्यसको दुई गुणाभन्दा पनि बढी मानिस यो स्पेनिश फ्लूले मारेर मृत्युको चीसो निन्द्रामा सुताइ दिएको थियो । यद्यपि शुरुशुरुमा स्पेनले त्यो महामारीमाथि पर्दा लगाउन कोशिश गरेको थियो । तर त्यो ब्यापक रुपमा फैलिएपछि त्यसलाई ढाकछोप गर्न स्पेन असफल भएको थियो ।
यतिबेला बिश्वभरी नै फैलदो कोरोना भाइरसको कहरलाई हेरेर यसलाई आधिकारिक रुपमा नै बिश्व महामारीको संज्ञा दिइसकिएको छ । त्यसैले यो कोरोनाको सन्त्रासले पुरानो स्पेनिश फ्लूको भयावह सम्झनालाई ताजा गराएको पनि हो । बिज्ञान र प्रबिधिको बिकासले आजको जस्तो सूचना प्राप्त गर्न सकिने अबस्था नभएको बेलामा समेत ५ देखि १० करोड त्यस फ्लूबाट मारिएको कुरा बाहिर आएको थियो भने सूचना माध्यमहरुको बढी बिकास भएको हुन्थ्यो भने त्यो संख्या अझ बढी पनि हुन सक्ने अनुमान गर्न सकिन्छ । वास्तवमा आजसम्मको बिश्व मानब समुदायको इतिहासमा सबैभन्दा ज्यानमारा भीषण महामारी त्यही स्पेनिश फ्लू थियो भन्ने गरिन्छ । यसको बारेमा कुरा चल्दा अहिलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हजुर बा पनि त्यस फ्लूको शिकार बनेका थिए भनिन्छ । अहिले कोरोना भाइरस र त्यतिबेलको स्पेनिश फ्लूको तुलना किन गरिदै छ भने यी दुबै महामारीले बिश्वका मानिसहरुलाई भित्रैदेखि एकदमै नराम्रोसँग हल्लाइदिएको छ ।
त्यतिबेला स्पेनिश फ्लूको केन्द्र स्पेन थियो । त्यो १९१८ को समय थियो । त्यसबेला बिश्वयुद्ध चल्दै थियो । तीन देश —अमेरिका, बृटेन र फ्रान्समा यो रोगले ढोका ढक्ढक्याई सकेको थियो । पछिबाट स्पेनलाई पनि यस फ्लूले अछुतो छोडेन । शुरुशुरुमा समाचार माध्यमहरुले त्यस रोगलाई ढाकछोप गर्न कोशिश गरे । यद्यपि समयमै थाहा भएको भए सम्हाल्न सकिने स्थिति थियो पनि भनिन्छ । यो कुरा हालै लौरा स्पिननी नामका ब्यक्तिले बेलायतको प्रसिद्ध पत्रिका ‘द गार्जियन’को केही समय पहिलाको एउटा लेखमा जानकारी दिएका हुन् । त्यो बेला स्पेन यो फ्लूको बिषयमा तटस्थ थियो । यसकारण उसले आफ्ना सञ्चार माध्यमलाई सेन्सर गरेको थिएन । त्यो फ्लूको सूचना सबैभन्दा पहिला स्पेनमा दर्ज गरिएको थियो । त्यसैकारण यसलाई ‘स्पेनिश फ्लू’ भनिएको पनि हो । यद्यपि ब्राजिलका मानिसहरुले भने त्यसलाई ‘जर्मन फ्लू’ भनेका थिए भने सेनेगलका मानिसहरुले ‘ब्राजिलियन फ्लू’ पनि भनेका थिए ।
अहिलेको महामारीलाई किन राखियो ‘कोरोना’ नाम ?
यो कोरोना भाइरसको केन्द्र चीनको हूबे प्रान्तको वूहान शहर रहेको छ । त्यसो भए तापनि स्पेनिश फ्लू जस्तो यसलाई चिनीयाँ फ्लू भनिएन । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने शुरुशुरुमा यसलाई वूहान भाइरस र अलि पछि चिनीया भाइरस भनेर उडाउन नखोजेका होइनन् ।अन्त्यतः बिश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसको नाम राख्यो । त्यसले २०१५ मा कुनै पनि बिमारीको नाम दिने बारेमा दिशानिर्देशन गरेको थियो । त्यही कारण हो कि कोरोनालाई चिनीया प्लेग या फ्लू आदि त्यस्तो केही भनिएन । यसलाई कोभिड—१९ को संज्ञा यसकारण दिइयो कि यो महामारीलाई कुनै एक देशको नाममा न घिसारियोस् र यो मानिस बिरुद्धको साझा बिश्व रोगको सब्र मिलेर सामना गरुन् भन्ने कुरा पनि यसमा अन्तरनिहीत छ ।
के कोरोना भाइरस र स्पेनिश फ्लूको तुलना आबश्यक छ ? यो प्रश्न पनि उठेको छ । यस सम्वन्धमा लौरा स्पिननीले द गार्जियनको आफ्नो लेखमा प्रश्न खडा गरेका छन् । उनले लेखेका छन् — ‘के हामीले कोभिड—१९को तुलना स्पेनिश फ्लूसँग गर्नु पर्दछ ?’ । त्यो फ्लू र कोभिड—१९ बन्ने भाइरसहरु दुइ बेग्ला बेग्लै परिबारका हुन् । SARS- COV.2 का कारणले कोभिड — १९ आयो जुन कोरोना भाइरससँग सम्वन्धित छ । यसमा र SARS (सिभियर एक्यूट रेस्पिरेटोरी सिण्ड्रोम) जुन २००२ मा चीनमा उत्पन्न भएको थियो यस्तै अर्को MERS – मिडल इस्ट रेस्पिरेटोरी सिण्ड्रोम भन्ने भाइरस भने २०१२ मा साऊदी अरबमा शुरु भएको थियो । यी दुबैका बीच धेरै कुरामा समानता छ ।
किन स्पेनिश फ्लूजति खतरनाक छैन कोरोना भाइरस ?
गार्जियनको आफ्नो त्यो लेखमा स्पिननीले बताएका छन् कि — ‘फ्लूको भाइरस जनसंख्याको माध्यमले तीब्र किसिमले र अपेक्षाकृत समानरुपले फैलिन्छ जब कि कोरोना भाइरस गुच्छामा संक्रमित हुने गर्दछ । यही कारणका आधारमा सैद्धान्तिक रुपमा कोरोना भाइरसको प्रकोपलाई रोक्न सजिलो हुन्छ भनिन्छ । अर्को सबैभन्दा महत्वपूर्ण कुरा के भने १९१८ को समयभन्दा अहिले धेरै कुरामा ठूलो परिवर्तन आइसकेको छ । उतिबेला १९१८ मा ठूलो संख्यामा मानिसहरु धार्मिक नेताहरुमाथि नै सबैभन्दा बढी भरोसा गर्ने गर्दथे । त्यतिबेला मानिसहरुलाई स्वास्थ्य सम्वन्धि जानकारी पनि धेरै नै कम हुने गर्दथ्यो या स्वास्थ्य सम्बन्धि सल्लाह उनीहरु धेरै कम मान्दथे । उदाहरण नै दिने हो भने पनि त्यतिबेला स्पेनिश शहर जमोरामा स्वास्थ्य अधिकारीहरुभन्दा भिन्न स्थानीय धर्माधिकारी बिशपले सन्त रोकोको सम्मानमा फ्लूको बेलामा लगातार नौ दिनसम्म साँझको प्रार्थना गर्ने आदेश दिएका थिए । यद्यपि त्यसबेला पनि स्पेनको जमोरा शहरमा नै स्पेनिश फ्लूले सबैभन्दा बढी मानिस मरेको त्यतिबेलाको अभिलेख रहेको छ । भनिन्छ कि त्यहाँ मर्नेहरुको तथ्यांक पूरै यूरोपमा सबैभन्दा बढी रहेको थियो ।
यति हुूँदा हुँदै पनि आजको २१औं शताब्दीमा, त्यसमा पनि बिज्ञान प्रबिधिले अकल्पनीय प्रगति गरेको समयमा पनि यस्तो महामारीको सामना गर्ने कुनै औषधी नहुनु आफैमा एउटा गम्भीर यक्ष प्रश्न हो । यद्यपि अहिले बिभिन्न देशले यसका बिरुद्ध खोपको खोज अनुसन्धानमा तीब्रता दिइरहेको छन् । रुसले त खोप निकालेर परीक्षण गरेको कुरा पनि प्रकाशमा ल्याइसकेको छ । चीन, अमेरिका र यूरोपका अन्य देश लगायत भारत र नेपालले समेत खोप बनाउने कार्यमा जुटेको र आगामी जनवरीसम्ममा यो सार्वजनिक हुने कुराहरु पनि प्रकाशमा आइसकेको छ । बिश्वको यो चूनौतिलाई बिज्ञानले अबश्य पनि सही सामना गर्ने छ र यस्ता रोगहरु आगामी दिनमा समूल नष्ट गर्ने स्थिति निर्माण गर्न बिश्वका बैज्ञानिकहरु लाग्नेछन् भन्ने कुरामा बिश्वास र भर गर्नुभन्दा भिन्न कुनै बिकल्प पनि बिश्व मानब समुदायका अगाडि छैन ।
तपाईको प्रतिक्रिया