नेपाली हामी रहुला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)
भनिन्छ मानव चोला समाप्त भएर जान्छ, तर मानवीय कृति सदैव अमर रहन्छ । यस्तै अमर बनेका छन् राष्ट्रकवि माधव प्रसाद घिमिरे ।
२०७७ भाद्र २ गते मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा यो धर्तीबाट नेपालले साहित्य क्षेत्रका महान हस्ती गुमाएको दिन । सहित्य जगतका मोति राष्ट्रकवि माधव प्रसाद घिमिरेले सदा सदाका लागि यो धर्ती छाडेका दिन । साहित्य क्षेत्रमा चलिरहेका उनका कदम रोकिएको दिन । अब उपरान्त उनका कलम चल्ने छैनन् । जिवनभर साहित्य क्षेत्रमै आफ्नो श्रम खर्चेका कवि राष्ट्र र राष्ट्रिय हितका लागि कलम चलाउदा चलाउदै विश्राम लिएका कवि घिमिरेको जीवन चोला समाप्त भएको दिन ।
राष्ट्रकवि माधव प्रसाद घिमिरे नेपाली धर्तीबाट विलय भए पनि उनी सधैं जिवन्त रहनेछन् सबै नेपालीहरुको मनमा सबैको ढुकढुकी बनेर धड्किरहने छन् । उनका कृतीहरु सदैव जिवन्त रहनेछन् ।
विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेको १ सय १ वर्षको उमेरमा उनकै निवासमा निधन भएको थियो ।
दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको थियो ।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रकवि माधव घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो ।
यस्तै नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले पनि उहाँको पार्थिव शरीरमा माला चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
राष्ट्रकवि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुनुहुन्थ्यो ।
प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँको लेखाइहरु दीर्घसाधनाले भरिएका छन् । उहाँले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाउनु भएको थियो । राष्ट्रकवि नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर–किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन् । उहाँलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।
साहित्यमा योगदान दिदादिदै साहित्य क्षेत्रमै आफ्नो जीवन चोला त्याग गरेका कवि सदैव स्मरणीय रहेनछन् …. युग युगसम्म !
तपाईको प्रतिक्रिया