यस वर्ष २०७७ को श्रावण र भाद्र महिनामा दार्चुला जिल्लाको नौगाड गाउँपालिका, महाकाली नगरपालिका, दुहुँ गाउँपालिका, शैल्यशिखर नगरपालिका, र ब्यास गाउँपालिकाहरुमा प्राकृतिक विपत्तिका कारण धेरै ठुलो जनधन, पशु चौपाया, जग्गा जमिनको क्षती भयो ।
एघार जना मानिसको ज्यान गयो । दर्जनौ घाईते भए । सयौं पशु चौपायाहरुको ज्यान गयो । सयौं हेक्टर खेति योग्य जग्गा जमिन सखाप भयो । थुप्रै वनजंगलको नोक्शान भयो । अठार वर्षदेखि यातायात चलिरहेको देथला-खलँगा सडक स्वहा भयो । स्थानीय तहहरुले अहिलेसम्म बनाएका सयौं योजनाहरु बाढी प्रकोपको प्रभावमा परे । दर्जनौं पुल साङगुहरु बगे । जिल्लाभरी तिन दर्जन बढी पानी घट्ट बगाएर लग्यो । एक दर्जन बढि घरहरु बगायो । कयौं परिवार अहिलेसम्म विद्यालयहरुमा बसेर रात विताउन विवश छन् । अझै दर्जनौ घर परिवारहरु अत्यन्त जोखिममा छन् । समस्टिमा भन्नु पर्दा २०७० सालमा महाकालीमा आएको बाढीपहिरो भन्दा बढि जनधन, पशु चौपायाहरुको क्षति भयो उस वर्ष दार्चुलामा ।
जिल्लामा यति ठुलो भयावह अवस्था आउदा पनि प्रदेश सरकार र केन्द्र सरकारको पटक्कै ध्यानाकर्षण हुन नसक्नु विडम्बना पुर्ण अवस्था देखियो । नजिक भएका स्थानीयतह सरकारहरुले समेत आफनो महत्वमा राख्न सकेको देखिएन । लाग्छ सवै कोरोना कै कहरमा ब्यस्त छन् ।
२०७० सालमा स्थानीयतहहरु पनि खाली थिए । प्रदेश सरकार नै अस्तित्वमा थिएन । त्यही पनि केन्द्रमा काम चलाउ चुनावी सरकार थियो उसैले पनि तेति बेला दार्चुले जनताका लागि केही गरेको थियो ।
आज देशमा तिनै तहको सरकार छ । साथै केही बजेट पनि छ । यस जिल्लाबाट केन्द्रमा २ जना प्रदेशमा ४ जना सांसदहरुले प्रतिनिधित्व गरिरहेका छन् । स्थानीय तहहरु जन जनप्रतिनिधिहरुले खचाखच भरिएका छन् । यति हुँदा पनि दार्चुलावासी जनताका दु:ख पीडा र समस्याका कुराहरु सरकारमा पुगे नपुगेको जनताले केहि अनुभुति पाउदैनन् ।
बाजुरा, अछाम, डोटी, कैलाली र कन्चनपुरमा बाढीपहिरो र डुवान हुँदा केन्द्र सरकार र प्रदेश सरकारका मन्त्री, मुख्य मन्त्रीहरु जनताहरुलाई राहत र सान्त्वना दिन चौविस घण्टा भित्र पुग्दछन् त्यही देश र प्रदेश भित्रको दार्चुलामा न कोही मन्त्री पुग्दछन् न कुनै सरकारले स्थितिको जायजा लिनसम्म कुनै समिति गठन गरेर पठाउदछन् । न जिल्लाबाट नानाथरिका आस्वासनका चिल्ला कुराहरुको खुराक खुवाएर सोझा सिदा दार्चुलावासी जनताहरुलाई झुक्याएर उनीहरुको मतबाट जितेर संसदमा पुगेका माननीय भनाउदाहरु नै आ-आफनो निर्वाचन क्षेत्र त के आफनै घर रहेको गाउँ/नगरपालिका सम्म पनि पुग्दैनन् ।
धन्य हो दार्चुलाबाट जननिर्वाचित जनप्रतिनिधि र त्यस्ता जनप्रतिनिधिहरुलाई आफनो अमुल्य मतको महत्व र औचित्यता नबुझी हचुवाको भरमा चुनाव चिन्ह हेरेको भरमा आँखा चिम्लीएर मतदान गर्ने दार्चुलावासी हामी जनता !
सायद आज आफु र आफनो वरीपरिका दाजुभाई ईस्टमित्र र कुटुम्बहरु बिचल्लीमा परेको बेला जिल्ला नै अभिभावकबिहीन अवस्थामा अलपत्र परिरहेको दृष्यहरु टुलुटुलु हेरेर बस्नु परिरहेको अवस्था देखेर सोचमा त डुवेका देखिन्छन् तर गर्ने के ? बोल्नै नहुने केही भन्नै नहुने कारण सवै आफनै पार्टीका जो परे !
देश भित्र कोरोनाको कहर नमच्चिदासम्म राहत वितरण, क्वारेन्टाईन आइसोलेसन, साबुन पानीले हात धुने, स्यानीटाईजर र मास्कको बहुत चहल पहल चल्यो । अव जव देशमा दैनिक सालाखाला हजारको सँख्यामा कोरोना पोजिटिव देखिन थाले दैनिक दुई अँकमा कोरोनाको कारण मृत्यु हुनेको आकडा सार्वजनिक हुनथाल्यो, बस अव सव चुपचाप ! त्यो चैत्र बैसाखमा वितरण गरेको राहत,खाद्यान्न, पेटिकोट सिलाउने कपडाको मास्क, साबुन, स्यानीटाईजर, सामाजिक दुरी पिसिआर परिक्षण आज चहिन्छ की चाहिदैन ? कति जिम्मेवार छन् हाम्रा सरकारहरु अनि कति जिम्मेवार छौं हामी जनता ! आज एकपटक छात्तिमा हात राखेर सोच्न हार्दिक अपिल गर्दछु ।
लेखक : आर.वि.एस. ठगुन्ना ”खस”
उपाध्यक्ष (खरासँस नेपाल)
तपाईको प्रतिक्रिया