– गुञ्जा साह
सुत्केरी अवस्था एक संवेदनशील अवस्थाको रुप हो । सुत्केरी अवस्थामा महिलाहरुको शारीरिक तथा मानसिक अवस्था कमजोर रहेको हुन्छ । एक त प्रत्येक महिनामा मासिकश्रावको रुपमा रगत बग्ने भएकोले महिलाहरु शारीरिक रुपले कमजोर हुन्छन् त्यसमाथी सुत्केरी अवस्थामा झन बच्चा जन्माउने बखतमा शरिरबाट बढि रगत निष्कासन भई शारीरिक अवस्था झनै बढी कमजोर रहेको हुन्छ । दुःख, व्यथा र मानसिक तनाव नभएको एउटा पनि सुत्केरी नहोलान् । जतिसुकै सेवा सुविधा प्राप्त भएपनि सुत्केरी अवस्थामा महिलाले धेरै नै शारीरिक पिडा भोग्नुपरेको यथार्थ हामी माझ छ।
हुन त प्रत्येक महिलालाई आमा बन्ने इच्छाले हर्षित तुल्याएको हुन्छ । जसको कारण जस्तोसुकै पीडा र व्यथा पनि भोग्न र सहन तत्पर हुन्छन् । नौ महिना गर्भ बोकी बच्चा पाउने बेलाको व्यथा, कष्ट, दुःख तबसम्म थाहा पाएको हुँदैन जबसम्म एक महिला आफै आमा बनेको हुँदैन । “आफु नमरी स्वर्ग देखिदैन” भन्ने झै सुत्केरी महिलाको समस्या र अवश्यकता आमा बनेर थाहा पाइन्छ अथवा अध्ययनले । एक शरीरबाट अर्काे शरीरको निर्माण हुनु र त्यसलाई विधिवत् पृथ्वीमा आगमन हुनु धेरै नै जटिल कार्य हो । महिलाको आँट, साहस, धैर्यताले यो कार्य सफल भएको छ । अलिकति दाँयाबाँया भएमा सुत्केरीको ज्यान पनि जाने अवस्था हुन्छ । एक आमाले आफ्नो शिशुलाई ज्यानको बाजी राखेर जन्म दिएकी हुन्छिन् । यस अवस्थामा धेरैले ज्यान पनि गुमाउदै आएका छन् । अहिलेको कोरोना महामारीको प्रकोपमा पनि सबै भन्दा बढी सुत्केरी महिलाकै ज्यान गएको छ ।
एउटा समय थियो जुन बेला भगवान भरोसामा रहेर महिला जति दुःख, कष्ट, पीडा भोगेर भएपनि घरमै सुत्केरी हुन बाध्य थिए । अनेकौं समस्या र अफ्ठयारा भोगेर पनि भगवान भरोसा भन्दै बच्चा जन्माउने गरिन्थ्यो । सेवा, सुविधा, उपचार, औषधी केहिको व्यवस्था नभए पनि प्राकृतिक रुपले यो कार्य गरिन्थ्यो । बिना स्वास्थ्य सेवा प्राप्त गरेका धेरै सुत्केरी महिलाले ज्यान गुमाउनु परेको थियो । “सन्तान भगवानको वरदान” भनेर आफ्नो ज्यानको मतलब नगरी बाचुन्जेल बच्चालाई जन्म दिने क्रममा मातृमृत्युदर धेरै नै हुने गर्दथ्यो । जतिसुकै व्यथा लागे पनि अस्पताल नगएर चमारजातकी “चमैन” महिलालाई ल्याई बच्चा जन्माउने कार्यमा सहयोग गरिन्थ्यो र उसकै सहयोगको भरमा बच्चा पाउने गरिन्थ्यो र त्यसमा पनि लापरवाही भएर धेरै सुत्केरीले ज्यान गुमाउनु परेको थियो । बच्चा र सुत्केरी एउटै बन्द कोठामा राखेर खानाको अभाव, सरसफाई तथा सर्पको टोकाईले सुत्केरी तथा बच्चाले ज्यान गुमाउनु पर्दथ्यो । जुन कार्य अहिलेको समयमा शिक्षाले गर्दा समाप्त भएको छ भन्न सकिदैन तर न्युनिकरण चाहि पक्कै भएको छ ।
वर्तमान समयमा सुत्केरीहरुले असुरक्षित महसुस गरिरहेको देखिन्छ । विभिन्न समस्याहरु भोगेर भएपनि सुत्केरी महिलाहरु आफ्नो ज्यान बचाउन असक्षम भएकी छन् । अहिले विज्ञान र प्रविधिले तिव्र रुप लिए पनि सुत्केरी असुरक्षित भएको देखिन्छ । उचित सेवा प्राप्त गर्न नसकी ज्यान गुमाउन बाध्य भएको देखिन्छ । कहिले रगतको अभाव, कहिले नजानेको नर्सहरुको लापरबाहीले, कहिले समयमा अस्पताल नपुगी त कहिले औषधीको अभावमा सुत्केरीहरुले ज्यान गुमाईरहेको देखिन्छ ।
वर्तमान समयमा कोरोना संक्रमणको डर, लकडाउन, निषेधाज्ञाका कारण गर्भवती तथा सुत्केरी समयमा अस्पताल पुग्न सकेका छैनन् । फोनकलबाट नै चेकजाच भईरहेको अवस्था आईसकेको छ । नियमित गर्भ जाँच नगर्दा र अस्पताल समयमा नपुगदा ज्यान गुमाउनेको संख्या बढ्दो छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको अनुसार यस कोरोना महामारीबिच ज्यान गुमाउने सुत्केरी मध्ये ६० % को अस्पताल पुगेको २४ घण्टा भित्र मृत्यु भएको छ ।
लकडाउन शुरु भएदेखि धेरै सुत्केरीले ज्यान गुमाएका छन् । कोरोना संक्रमणको शंकामा अस्पताल चहार्दा चहार्दै पनि मृत्यु भएको छ । गर्भसम्बन्धी जटिलता पैदा भएर अस्पतालको आकस्मिक कक्ष पुग्दा विशेषज्ञहरुले हेर्नुपर्नेमा जुनियरलाई काम लगाएकाले बचाउन नसकेर सुत्केरीले ज्यान गुमाएका घटना पनि छन् । यस अवस्थामा सुत्केरीको शरीरबाट रगत बढी मात्रामा बग्ने भएर रगतको कमीले पनि ज्यान गुमाएका छन् भने कतिपयले रगतको विपरीत प्रयोगले ज्यान गुमाइरहेका घटना पनि प्रशस्तै छन् । त्यसैगरी यातायातको सुविधा नभएर र संक्रमणको बढी चाप भएकोले घरमै सुत्केरी हुन खोज्ने र जटिलता पैदा भएपछि अस्पताल लैजाने गर्नाले समेत सुत्केरी महिलाको ज्यान बढी मात्रामा गएको छ ।
सुत्केरी अवस्थामा रहेकी महोत्तरीको गौशला नगरपालिका वडा नम्बर ११ को २१ वर्षीया गंगा देवी महतोको “ओ पोजेटिभ” ग्रुपको रगत चढाउनु पर्नेमा “बी पोजेटिभ ” ग्रुपको रगत चढाउदा ज्यान गुमाएका थिए । त्यसतै डुडुवा गाउपालिका – १, पिप्रहवा की २२ वर्षीया प्रीती खटिक सुत्केरी हुने बेलामा थिए । स्वास्थयकर्मीका अनुसार उनको पेटमा भएको बच्चा उल्टो छ भनेर स्थानीय स्वास्थ्य संस्थाले नेपालगञ्जमा रिफर गरेपनि अस्पतालमा सुत्केरी गराउन मानेका थिएनन् । त्यसैगरी महोत्तरीको भंगहा नगरपालिका-३ की खुश्बु यादबलाई प्रसव पिडा हुदाँ अस्पताल गएपछि बच्चा उल्टो भएको तथा उनलाई अपरेशन गरेर बच्चा निकाल्नुपर्ने स्थितिमा नर्सहरुले हेलचक्रयाई गरी बिना डाक्टरको सल्लाह र हेरचाह मै आफै बच्चा निकाल्ने क्रममा आधि बच्चा निस्के पनि आधि भित्रै अड्किएर घाटि च्यापिएर शिशुको मृत्यु भएको थियो । सुत्केरी महिला र शिशु विभिन्न कारण र अवस्थामा ज्यान गुमाउन बाध्य भएका छन् ।
वर्तमान समयमा शिक्षामा अग्रसरता बढेको चेतनामुलक क्रियाकलापको पनि पर्याप्तता छ । धेरै एन्जिओ,आइएन्जिओ,संघसंस्था,विद्यालय स्तरमा स्वास्थ्य शिक्षाको संलग्नता, अनौपचारिक शिक्षा, परिवार नियोजन सम्बिन्धि चेतनामुलक सुचनाहरुको व्यवस्था रहेको छ । गाउँ घरमा सुत्केरी महिलालाई पौष्टिक आहार दिनुपर्छ, स्वास्थ्य सामग्रीको प्रचुरता बढाउनुपर्छ, सुरक्षित वातावरणको सिर्जना तथा मित्व्ययी, सहयोगी, तथा सद्भाव व्यवहार धेरै आवश्यकता मुलुक क्रियाकलापहरु भएको छ । यति मात्र हैन की हाम्रो नेपालको संविधानको धारा ३८(२) मा पनि सुरक्षित मातृत्व र प्रजननमा समानुपातिकको हक अधिकार दिएको छ ।
तर दिएको र पाएको अधिकार प्रयोग कति सुत्केरीलाई भएको छ त ? कोरोना माहामारी फैलिएको अवस्थामा पनि हाम्रो देशमा ज्यान गुमाउनेमा सबभन्दा पहिलो सुत्केरी महिला नै रहेको देखुन्छ, कति सुरक्षित सुत्केरी छन सुत्केरी यसबाटै प्रष्ट बुझ्न सकिन्छ । के आवश्यक स्वास्थ्य सेवा पाएकी थिई महिला जो प्रसव पीडाले छटपटाएर हवाईजहाजबाट काठमाण्डौं पुगेर पनि ऐयरपोर्ट मै आफ्नो ज्यान गयो ? स्वास्थ्य सामग्री कतिको उपलब्धि भएको छ सुत्केरी महिलालाई ? के वर्तमान समयमा क्वारेनटाईनबाट सुत्केरी भागेका छैनन् ? यस्तो संवेदनशील अवस्थामा बच्चालाई पेटबाट निकाल्न हतार गरी बच्चाको ज्यान गएको छैन ?
एक त हाम्रो देशमा गर्भ चेकजाँच गराउने न्युन नै छ, त्यसमाथी यो लकडाउनले झन घरमै बच्चा जन्माउने बाध्यता हुदैछ । अस्पताल नभएको बेला पनि आमा बनेको नै छ भने आस्था राखेर घरमै सुत्केरी हुन खोज्छन् तर सेवा र सुविधाको कमीले बाध्य भएको देखिन्छ । जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ को तथ्याङ्क अनुसार नेपालमा ८४ % मात्रै गर्भ जाचँ गराउँछन् तर अहिले यो कोरोनाको डरले फोनकलद्धारा मात्रै उपचार विधि अपनाएर औषधिको अभाव भएपनि अस्पताल दगुर्ने न्यून भएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार गर्भ चेकजाँच गराउने ७२% ले महिलाको संख्या घटेको छ ।
म आफु पनि दुईवटा बच्चाको आमा भएको कारण यस्ता पीडा, अप्ठ्यारो र समस्या बारेमा धेरै नै अनुभव छ । आफु सुत्केरी हुँदा अस्पताल गई चेक गराउदा डाक्टरले भनेका केहि कुराहरु याद अझै छ । जुन यसप्रकार छन : “गर्भावस्थामा महिलालाई रक्तचाप, मधुमेह, मुटुलगायत अन्यरोग लाग्ने सम्भावना, पेटमा बच्चा खेल्ने पानीको मात्रा कम या धेरै, बच्चाको हातखुट्टा या अन्य अगंको वृद्धि विकास भयो भएन भिडियो एक्सरे गर्नुपर्छ । यस्ता जाँचहरु नभए बच्चा धेरै समस्या लिएर जन्मन सक्ने र आमाको स्वास्थ्यमा जटिलता आउन सक्छ ।” आफु आमा भएको बखतमा समय समयमा अस्पताल गएर डाक्टरको सरसल्लाह, भिडियो एक्सरे, औषधिको नियमित प्रयोग गरे पनि शारीरिक रुपमा धेरै व्यथा, वेदना र अप्ठ्यारो विर्सन सकिदैन । जबकी अहिले ति महिला जसलाई यी सुविधाहरु पुगिरहेको छैन तिनिहरुको अवस्था कस्तो होलान् र कस्ता समस्या भोगिरहेको छन भनेर सोच्दा मन नै काँप्छ । परम्परा अनुसार आस्था राखेर घरमा बच्चा जन्माउन बाध्य भई मृत्युको मुखमा जान विवश भएको देखिन्छ । आमा तथा शिशुको जिवन जोखिममा पर्नुका साथै बच्चाको शारिरीक, मानसिक विकासमा समेत समस्यापर्ने देखिन्छ । एम्बुलेन्स सेवा सहजै नपाउने र निजी सवारी साधन भाडामा लिदाँ अति चर्काे मुल्य तिर्नुपर्ने कारणले पनि सुत्केरी अहिले अस्पताल जाने निकै न्युन देखिन्छ । जबकी महिला प्रसवका बेला सहयोगीका साथ अस्पताल पुग्थे तर कोरोना संक्रमणको जोखिमले अस्पतालमा समेत प्रवेश गर्न रोक लगाएको देखिन्छ ।
अन्ततःयस्ता समस्यालाई हेलचक्राई गर्नु र यस्तो अवस्थामा महिला तथा बच्चाले ज्यान गुमाउनु दुः खद कुरो हो । महिलाहरुको संघर्ष र आटले गर्दा नयाँ सन्ततीको उत्पत्ति भएको हुन्छ । उनिहरुको ज्यानको सुरक्षा र सुविधामा बढी जोड दिनु आवश्यक छ । आमा बन्नको लागी जुन संघर्ष महिलाले गरेको हुुन्छ त्यसलाई सम्मान गर्न जरुरी छ । यो अवस्थामा घर परिवारको सदस्य, अस्पतालको सराहनिय व्यवस्था सबै कुराको लागि सुरुदेखि नै सजग हुन आवश्यक छ । अन्धविश्वासको भावना “सन्तान भगवानको वरदान” हैन की “दुई सन्तान सुखी परिवार” को नारा लाग्ने क्रममा सुत्केरी अवस्थामा आफ्नो ज्यान नै जाने अवस्था भनेर सोच बनाए भने सन्तान आफ्नो इच्छाले जन्माउने क्रममा महिलाले “सुविधा नपाए सन्तान किन ?” भनेर नारा लगाउने अवस्था देखिन थाल्यो । त्यहि भएर सुत्केरीको लागि सदैव सकारात्मक सोच र अनुकुल वातावरण बनाउनुपर्छ । सरकारले यस किसिमको वातावरण निर्माण गर्नमा ध्यान दिनु जरुरी छ । जस्तोसुकै अवस्था, समय,परिस्थिति या माहामारी भए पनि सुत्केरीका लागि विशेष सेवा सुविधाको व्यवस्था गर्न आवश्यक छ । सुत्केरीको ज्यान बचाउनको लागि हाम्रो सरकारको ध्यानाकर्षण होस् ।
तपाईको प्रतिक्रिया