—लोकनारायण सुवेदी
आज हाम्रो देशको राजनीति अत्यन्तै अन्यौलग्रस्त र अबिश्वसनीय छ । राजनीतिक परिवर्तनको बेलाको सार्थक उत्साह र ऊर्जा सबै यतिबेला समाप्त भएको जस्तो स्थिति बनेको छ । अन्त्यहीन अनिश्चितता बढ्दो अबिश्वास आज यसको पर्याय बनेको छ । आखिर यस्तो किन भयो यो एकदमै केलाउनु पर्ने र बिश्लेषण गर्नु पर्ने गम्भीर बिषय बनेको छ । दलहरुको उपस्थिति हुनु र उनीहरुको सक्रियता रहनुले मात्र कुनै अर्थ राख्दो रहेनछ भन्ने कुरा दिनप्रतिदिनको दलहरुको गतिबिधिले प्रष्ट पारिरहेको छ । यस्तो स्थितिमा दलहरुप्रति, त्यसमा पनि खाशगरी, सत्ता र प्रतिपक्षमा रहेका निर्णायक दलहरुप्रति जनताको यति बिघ्न अविश्वास, सन्देह र उदासीनता देखिएको छ कि यस्तो स्थिति बिगतमा कहिल्यै पनि देखिएको थिएन । तर यो बढ्दो र सघन हुँदै गएको जन अबिश्वास र सन्देहप्रति ती दलहरुलाई कुनै मतलब रहेको देखिदैन । उनीहरु आफुहरुलाई बिकल्परहीत ठानेर चलिरहेका छन् । हुन पनि भित्री अन्तर्यमा जाँदा उनीहरुका बीचमा कुनै फरक र भिन्न बैकल्पिक नीति पनि छैन । दलहरुको रङ्ग रुप फरक, झण्डा फरक देखिए पनि राष्ट्रियता, जनजीबिका तथा जनाधिकारप्रति कुनै भिन्न बिकल्प एक अर्काले प्रस्तुत गर्न सकेका छैनन् र गर्ने कुनै छाँटकाँट पनि देखिदैन ।
वास्तवमा सबै विश्वमा आज प्रचलित संसदीय ब्यवस्थामै रमाउन चाहिरहेका छन् । यद्यपि उनीहरु त्यसलाई केही डेण्टिङ्ग पेण्टिङ्ग गरेर अर्थात् सिंगार पटार गरेर प्रस्तुत गर्न खोजिरहेका छन् । त्यसैले उनीहरुको मुखमा अहिले समावेशीता, समानुपातिकता, संघीयता जस्ता कुरा झुण्डिएका छन् । तर त्यसको कुनै स्पष्ट चित्र र खाका भने उनीहरुले हिजो पनि दिन सकिरहेका थिएनन्, आज पनि दिन सकेका छैनन् । उनीहरु आफै पनि यी कुरामा रणभुल्लमा रहेका देखिन्छन् र जनतालाई पनि त्यसैमा अल्मल्याइरहेका छन् । तर देशमा ब्याप्त भ्रष्टाचार, ढिलासुस्ती, नाताबाद, कृपावाद पहिले जसरी नै र अझ व्यापक रुपमा चलेको छ । भागबण्डा नै आजको उनीहरुको राष्ट्रिय राजनीतिको मूलतत्व बनेको छ । यस स्थितिमा दलहरुले जनताको सही प्रतिनिधित्व गर्न सकेका छैनन् र यसरी गर्न पनि सक्तैनन् । अनि जनता र देशका लागि अग्रगन्य भूमिका खेल्नुको साटो अबाञ्छित र अस्वीकार्य दलीय दलदलमा देशलाई फसाइरहेका हुन्छन् । हाम्रो देशको राजनीतिमा अलिकति पनि चाख राख्ने जो कसैले पनि आज यो अनुभूति गर्न कुनै माथापच्ची गरिरहनु पर्दैन ।
दलहरुले मूलतः तिनको नेतृत्वले मुखले सामाजिक तथा नागरिक समानताको कुरा गरे पनि तिनले समाज र त्यसका नागरिकहरुलाई आफ्ना आफ्ना दल विशेष भन्दा भिन्न र दोश्रो दर्जाकै ब्यवहार गरिरहेका छन् । उनीहरुले जनतालाई वर्ण, जाति, धर्म, सम्प्रदाय, क्षेत्र आदिको कल्की भिराएर उनीहरुलाई बिभाजन गर्ने एउटै दर्शनको आधारमा उनीहरु चलिरहेका देखिन्छन् । जनतालाई एकजुट पार्ने र राष्ट्रिय शक्ति निर्माण गर्ने कुनै चिन्ता र चासो उनीहरुमा बिल्कुलै देखा पर्दैन । वास्तवमा उनीहरुले यस्ता कुनै कुरा अघि सार्न सकेका या सार्न चाहेकै छैनन् । बरु त्यसको बिपरीत जालझेल र तिकडमबाजीको सहारामा उनीहरु निहीत र संकीर्ण राजनीतिक स्वार्थको बिस्कुन लगाइराखेका छन् । आजको देशको दलीय तह र सतहमा देखिएको राष्ट्रिय राजनीतिको कटु तस्वीर यही नै हो ।
राजनीतिक क्षेत्रमा फैलाइएको र फैलिएको यस्तो छल कपटलाई उनीहरुले स्वभाबिकरुपमा लिएका छन् र यसो गर्ने कौशललाई नै आजको सफल राजनीति हो भन्ने परिभाषा लगाउन खोजेका छन् । राजनीति अपबित्र र फोहोरी खेल तमासा हो भन्ने कुरा उनीहरु निरन्तर दर्शाइरहेका र प्रमाणित गरिरहेका छन् । अनि सबै किसिमले कुटीलताको सीमा नाघेर चल्नु नै राजनीतिक सफलताको द्योतककोरुपमा उनीहरुले लिइरहेका छन् । मानौं, उनीहरुप्रतिको जनताको बढ्दो अनास्था पनि जनताकै दोष हो । उनीहरुको होइन । यस्तो अवस्थामा लोकतन्त्रप्रति नै जुन गम्भीर प्रश्न खडा हुन्छ र आँच पुग्दछ । यो सानोतिनो र चानेचुने कुरा एकदमै हुँदै होइन ।
जब राजनीतिक दलहरुप्रति जनताको विश्वास डग्मगाउँदछ त्यतिबेला लोकतन्त्र,राष्ट्रियता र स्वाभिमान सबै कमजोर हुन पुग्दछन् । सार्बभौमिकता पनि खल्बलिने स्थिति बन्दछ । यसको सोझो र स्पष्ट अर्थ हो कि बिदेशी हस्तक्षेपले अझ ब्यापकता लिने स्थिति बन्दछ । त्यसैले, लोकतन्त्रमा जनताको मनमा अफुलाई प्रतिनिधित्व गर्दछौ भन्ने दलहरु विश्वासिला, इमानदार, जनसेवी र जनताप्रति उत्तरदायी छन् भन्ने भावनाको सञ्चार हुन पर्दछ र त्यो निरन्तर कायम रहनु पर्दछ भनिएको हो । यसको अभावमा लोकतन्त्र जनताको ‘तन्त्र’ नरहेर केवल मुठ्ठीभर ‘नेतातन्त्र’ मात्र बन्न पुग्दछ । अनि यस्तो स्थितिमा लोकतन्त्र जनताले, जनताद्वारा, जनताका लागि नभएर केवल जनताले, जनताद्वारा, नेताका लागि मात्र हुन पुग्दछ । बस्तुतः यो लोकतन्त्रको नाममा अलोकतान्त्रिक कुरा हो । जुन अहिले हाम्रो देशमा व्याप्त भइरहेको छ ।
अनि यस्तो स्थिति बन्दै र बढ्दै जाँदा जनताले सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेताको जुनसकै कथनमा पनि बिश्वास र भरोसा गर्न छोड्छन् । फलतः यो क्रम बढ्दै गएर उनीहरुका सबै प्रकारका कृयाकलापहरुलाई सन्देहको नजरले हेर्ने र तिनका बिरुद्ध टिका टीप्पणी गर्ने साहस पनि गर्न थाल्दछन् । यस प्रकारको स्थिति बनाउनका लागि जिम्मेवार अरु कोही नभएर सत्ता र प्रमुख प्रतिपक्षमा रहे बसेका राजनीतिक दल र खाशगरी तिनको नेतृत्व नै हो र हुन्छ भन्ने कुरा पनि जग जाहेर नै छ । के लोकतन्त्रमा जनताका प्रतिनिधिहरुमा निष्कपटता र इमानदारीता चाहिदैन ? के जनताले उनीहरुलाई बिभाजन गर्ने, उनीहरुका बीच परस्परमा घृणा र द्वेष फैलाउने, यसरी राष्ट्रलाई कमजोर पार्ने जुनसुकै दलले जिते पनि जनता र देशलाई सँधैसँधै हराउने दल र तिनका नेताहरुको सँधै धूप, दीप नैबेद्यकासाथ आरती गरिरहनु पर्दछ र ? दलभन्दा ठूलो जनता र देश हुन्छ भन्ने कुरा तिनले किन सोचिरहेका छैनन् ? जनताको एकता र अखण्डता सर्बोपरी हुन्छ भन्ने कुरालाई किन आत्मसात गरिहेका छैनन् ? कहिलेसम्म चलाउने देश र जनताका समस्याका मूल्यमा राजनीति ? यो निश्चित कुरा हो कि कुनै पनि सही लोकतन्त्रमा जनता कसैका दास र खेताला हुने गर्दैनन् बरु राजनीतिक दलहरुका स्वामी हुन्छन् । यसै आधारमा जनता आफ्नो देशका स्वयम मालिक हुन्छन् र हुनु पर्दछ भन्ने कुराले मान्यता पाएको पनि हो । कुनै पनि दलहरु देश र जनताभन्दा कीमार्थ ठूला होइनन् र कदापि हुन पनि सक्तैनन् । यो दुनियाँको बस्तुगत यथार्थ हो । अनि हाम्रो देश पनि यसको अपवाद हुन सक्तैन र हुनु पनि हुदैन ।
जबसम्म यो कुरालाई गम्भीरतापूर्वक आत्मसात गरिदैन र ब्यवहारमा पालना गर्ने पद्धति बसालिदैन तबसम्म बिद्यमान सीमित लोकतन्त्रले पनि संस्थागतरुपमा बिकास गर्ने उपयुक्त बातावरण पनि बन्दैन । यो केवल चुनाव गर्ने गराउने एउटा कर्मकाण्डीय यान्त्रिक कुरा मात्र रहन जान्छ । यस्तो अवस्थामा लोकका आधारभूत समस्यालाई छोडेर या भजाउन मात्र उठाउर चलाइने लोकतन्त्र आत्मविहीन अस्थिञ्चार लोकतन्त्र मात्र रहन जान्छ । जबकि यो त सामाजिक जीवनलाई दिशा निर्देश र परिचालन गर्ने राजनीतिक पद्धति बन्नु पर्ने थियो, पर्दछ । किनकि लोकतन्त्रको मर्म भनेको जनताको सर्बतोमुखी समुन्नतिका निमित्त उनीहरुको सर्बतोमुखी बिकासका बाधाहरुलाई हटाउन जनताका सचेत सक्रियता, सजगता र संगठित अग्रसरताले निरन्तरता पाउने आधार बन्नु पर्दथ्यो, पर्दछ । यसरी मात्र कुनै पनि समाजमा लोकतन्त्र जीबन्त र ऊर्जाबान बन्दथ्यो र बन्दछ । अन्यथा यो मुठ्ठीभरको स्वर्ग र आम जनताको बोझ बन्न पुग्दछ ।
तपाईको प्रतिक्रिया