आजभोली विश्वमा तेल अर्थात् पेट्रोलियम पदार्थलाई लिएर अनेक पटक विभिन्न देशहरुका बीचमा टक्कर र द्वन्द्व चल्दै आएको छ । यस्तै द्वन्द्वको स्थिति यतिबेला मध्यपूर्बको भूमध्य सागरमा प्राकृतिक ग्याँसलाई लिएर तुर्की र फ्रान्सकाबीच देखापरेको छ ।
तेलसँग सम्वन्धित आपसी हितका सेरोफेरोका अनेक द्वन्द्वका क्रम उपक्रमहरु ब्यहोरिई रहेको त्यो खाडी क्षेत्र अमेरिकाको तेल निर्यातक बने पछि तेलको झेल सुल्झिने एकथरी बिश्लेषकहरुले आशा गरेका थिए । के मानिएको थियो भने कूटनीतिक प्रौढताबाट होइन, ‘शेल आयल’को कृपाले नै त्यो क्षेत्रले चैनको श्वास लिन सक्नेछ । तर त्यसको बिपरीत वास्तविक ब्यवहारमा के देखा पर्न थाल्यो भने त्यो क्षेत्रमा केवल टक्करको बहाना मात्र बदलियो । अहिले तेलको होइन त्यसको ठाउमा प्राकृतिक ग्याँसलाई लिए ठूलो तनाबको मुद्दा र स्थिति उपस्थित भएको छ । त्यसले गर्दा भूमध्य सागरमा तुर्की र फ्रान्सका बीच लडाकु पानी जहाज एक अर्काको सामुन्ने खडा हुन पुगेका छन् । ती दुबै देश उत्तर एटलाण्टिक ट्रिटी अर्गनाइजेशन(नाटो)का सदस्य पनि रहेका छन् । तर अहिले स्थानीय समीकरणको जटीलतामा उल्झिएर ती दुइ देश एक अर्काको रगतको प्यासी बनेको जस्तो अबस्थामा पुगेका छन् ।
तुर्की त्यस क्षेत्रमा ‘अफ शोर ड्रिलिङ्ग’ तटीय उत्खननको कार्यलाई अगाडि बढाउने कुरामा अडिग छ जब कि फ्रान्सले के स्पष्ट पारेको छ भने यदि बिबादित क्षेत्रमा तुर्कीले कुनै यस्ता गतिबिधि गर्दछ भने फ्रान्स मूक दर्शक बनेर बसिरहने छैन । यो बिबादको जडमा पूर्बी भूमध्य सागर क्षेत्रमा साढे तीन ट्रिलियन क्यूबिक मिटर(टीसीएम) ग्यास रहेको छ, जसमध्येको २.३ टिसीएम स्पष्टरुपले इजिप्ट, इजरायल र साइप्रसको आर्थिक क्षेत्र(इकोनोनिम इण्टरेष्ट जोन)मा पर्दछ भनिन्छ ।
अहिले आर्थिक संकटसँग जुधिरहेको तुर्कीलाई आफ्नो शक्ति एक शताब्दी पहिलाको स्तरमा पुग्ने सम्भवाना त्यसै ग्याँस भण्डारलाई हात पार्दा मात्र हुन्छ भन्ने लागिरहेको देखिन्छ । तुर्कीले त्यस सम्वन्धमा लिबिया सरकारसँग ग्याँस बाँडफाँड र बितरणको एउटा सम्झौता पनि गरिसकेको छ । अनि साइप्रसका तुर्क बहुल उत्तरी क्षेत्रमा आफ्नो प्रभावलाई उपयोग गर्दै अघि बढ्ने रणनीति उसले अबलम्बन गरेको देखिन्छ । तर त्यो क्षेत्रका अरु देशहरु तुर्कीको यो बाटोलाई रोक्न त्यत्तिकै तत्पर भएर अगाडि सरेका छन् ।
यस सम्वन्धमा ग्रीस, साइप्रस र इजरायलले गएको जनवरीमा समुद्र भित्र १९०० किलोमिटरको ग्यास पाइप लाइन बनाउने सम्झौता पनि गरिसकेका छन् र इटली, जोर्डन र पेलेस्टाइनसँग मिलेर एउटा धूरी पनि बनाइसकेका छन् । फ्रान्सले पनि त्यस धूरीको सदस्यता लिन निवेदन दिइराखेको छ । ती सबै देशहरुको साझा उदेश्य तुर्कीलाई त्यहाँ भएको ग्यासबाट टाढा राख्नु रहेको देखिएको छ । सामुद्रिक मामिलको अन्तर्राष्ट्रिय कानुनलाई लिएर पनि ती दुबै धूरीका आ–आफ्नै ब्याख्या रहेका छन् ।
यसमा ग्रीसको दलील के छ भने हरेक ठूला साना देशहरुको आ–आफ्ना सामुद्रिक सीमा र आर्थिक क्षेत्रमा आफुले ड्रिलिङ्ग गर्ने अधिकार हुन्छ । उता तुर्की के भन्दछ ने पूर्बी भूमध्य सागरको ग्याँस भएको क्षेत्र तुर्कीको ‘कण्टिनेण्टल सेल्फ’मा पर्दछ र त्यहाँ अरु कुनै देशको अधिकारको कुरै आउँदैन ।
तुर्की र चीन बिश्वका ती १५ देशहरुमध्येमा छन् जसले सामुद्रिक कानुन सम्वन्धि संयुक्त राष्ट्र संघको कानुनलाई स्वीकार गरेका छैनन् । आजभन्दा तीन–चार दशक पहिलासम्म समुद्रसँग सम्बन्धित आर्थिक हित केवल माछा पक्रिने र पानी जहाज आवात जावत गर्ने कुरासम्म नै मात्र सीमित मानिने गरिन्थ्यो ।तर अहिले समुद्र सम्वन्धि यो कानुनले तेल–ग्याँस र खनिजका श्रोतहरुकोरुपमा समेत सबैको ध्यानाकर्षण गरिरहेको छ ।यस्तो स्थितिमा भूमध्य सागर होस् या दक्षिण चीन सागर होस् हरेक ठाउँमा तिनै कारणले गर्दा समेत स्थिति बिस्फोटक बन्दै गएको देखिन्छ । यस सम्वन्धमा उचित के हुने औंल्याइन्छ भने सामुद्रिक हितलाई लिएर समयमैं परस्पर सर्बमान्य समस्या समाधानको सुत्र खोजिनु पर्दछ । अन्यथा ती क्षेत्रहरुमा कुनै सानो झिल्कोले पनि ठूलो टक्कर र द्वन्द्व डढेलो लगाउन सक्ने गम्भीर खतरा रहेको छ ।
तपाईको प्रतिक्रिया