– लोकनारायण सुवेदी
पुस्तक पढाई पुरानो जमानामा थिएन । किनकि त्यो सम्भावना बनेकै थिएन । त्यसैले श्रुति, स्मृतिको अर्थात् सुनाउने, सुन्ने र सम्झिने यी तीन महत्वपूर्ण कुरामा भर पर्नु पर्ने जमाना थियो । ज्ञान प्राप्त गर्न तिनकै सहारा लिनुपर्ने हुन्थ्यो । जहाँ पनि पुरानो जमानामा ज्ञानको विकास यस्तै श्रुति स्मृतिबाटै भएको हामी पाउँदछौं । यसैले गर्दा कथा कुथुंग्रीको विकास भएको पनि हामी देख्दछौं । धेरै पछि मात्र पुस्तकको आविस्कार भयो । अनि ज्ञानका विभिन्न विधा र उपविधाहरु पनि क्रमशः विकसित हुँदै आए । आज त पुस्तकहरु ज्ञानको अथाह भण्डार बनेर रहेका छन् । ज्ञान पिपासुहरुका लागि ती अचुक अस्त्रशस्त्र नै हुन् ।
वास्तवमा ती किताबहरु अध्ययन गर्ने या पढ़ने भनेको खोज, अनुसन्धान तथा ज्ञानको र समाजको पुनर्निर्माण गर्ने अत्यन्तै महत्वपूर्ण कुरा हो । तर प्रायःजसो पढाईलाई आज औपचारिक बाध्यता र सुरक्षित आर्थिक जीवनको एउटा माध्यम मात्र मानेर प्राय जहाँसुकै हेर्न थालिएको छ । त्यो सीमित र संकीर्ण दायराको कुरा मात्र हो । अनि यसरी आज किताब या पुस्तककै माध्यमबाट बिश्वका धेरै जसो ज्ञात इतिहासका परिबर्तनहरु ल्याउने महवपूर्ण आधार बनेका छन् र बन्दछन् भन्ने कुरा बिर्सिन थालेको प्रतीत हुन्छ ।
एकजना जना प्रसिद्ध साहित्यकार फ्रेञ्च काफ्का के प्रष्ट भन्ने गर्दथे भने राम्रा किताबहरुले हाम्रो मन मस्तिष्कमा जमेको अज्ञानता र अन्ध बिश्वासको फोहोरलाई त्यसरी नै सफा पारिदिन्छ जसरी एउटा फरुवा या कोदालोले जमेको बर्फलाई खनेर तोड्छ र बाटो निकाल्ने क्षमता राख्दछ । यसरी मन मस्तिष्कको धूलो मैलो किताबको ज्ञानरुपी फरुवाले खनेर फाल्दछ र ज्ञानका नयाँ नयाँ पत्रहरु खुल्न थाल्दछन् अनि परिबर्तनको आरम्भ हुन्छ ।
हुन त मानिसहरुलाई केही थान किताब पढेपछि या औपचारिक डिग्री हासिल गरेपछि खुब पढें, धेरै पढें भन्ने लाग्न सक्दछ । तर जसरी हामी दिनदिनै घरको,वरिपरीको र आफ्नै शरीरको पनि सुग्घर सफाई गर्ने गर्दछौं खरेटो, कुचो र आजको जमानामा भ्याकुम क्लिनर लगाउने गर्दछौं त्यसै गरी हाम्रो आँखा र मनमा जमेको फोहोर मैला सफा गर्न पनि निरन्तर पढाईको कुचो चलाउनु पर्ने हुन्छ र यसरी पुस्तक असल ज्ञानको भण्डार अर्थात राष्ट्र, समाज र विश्व उपयोगी पुस्तकहरु सधैं पढ्ने बानी बसाल्नु पर्दछ । यद्यपि कतिपयले समय छैन कहाँ सधै पढ्न सकिन्छ र भनेर पञ्छिन पनि सक्लान् । तर यो मजाको सानदार झूटो कुरा हो । किनकि घण्टौं टेलिभिजन हेर्न, खेलकूद हेर्न या गफ चुट्न या छुट्टी मनाउन समय हुन्छ तर पुस्तक पढ्न किन हुँदैन ?
यस सन्दर्भमा ‘द ट्रेजेडी अफ मिस्टर मारर्न’ र ‘लाफ्टर इन द डार्क’ जस्ता चर्चित किताबका लेखक भ्लादिमिर नबोकोभ भन्दछन् — तपाई समयको चिन्ता नगर्नुहोस्, बश पढ्दै जानुहोस्, यो भन्दा राम्रो तरीकाले तपाईले कतै अन्त समय ब्यतित गर्न या खर्च गर्न सक्नु हुन्न । हुन पनि मनुष्यता र पशुताका बीचको अन्तर पुस्तक नै हो भनिन्छ । त्यही ज्ञानको आधारमा मानिसले आफुलाई बदल्छ, अनि संसारलाई बदल्न अग्रसर हुन्छ । यो ज्ञानको इतिहासमा पटक पटक सिद्ध भएको कुरा पनि हो ।
हामीले बिश्वका त्यस्ता धेरै बिशिष्ठ ज्ञान पिपासु बिद्वानहरुका बीचबाट कार्ल माक्र्सलाई लिन सक्तछौ, जसले लण्डन म्यूजियम — बिश्वको ठूलो पुस्तकालय – मा बसेर गम्भीर र जिम्मेवारीपूर्ण अध्ययन गरे । अनि दास क्यापिटल (पूँजी) लगायतका किताब लेखेर संसार बदल्ने – युगौदेखिका आम श्रमजीबी जनताका दुःखकष्टहरु बदल्ने र सुन्दर, सुखमय र सुरम्य संसारको पुनिर्माण गर्ने अपूर्ब मार्गदर्शन गरे ।
त्यसैले पुस्तकालयको, पुस्तकको, ज्ञानको ठूलो र महत्वपूर्ण भूमिका छ, रहन्छ । चाहे त्यो पुराना प्रकृतिका पुस्तकालय हुन् या आजको जमानाका बिद्यूतीय अर्थात् ई–पुस्तकालय हुन्, हामीले पढ्न, बुझ्न, बुझाउन छोड्नु हुँदैन । पशुजगतबाट बिकसित मानिस हुनुको सार्थकता पनि बास्तवमा यही नै हो । पुस्तकालय दिवस सधै अमर छ । यसलाई शतत ज्ञान दिवस भने पनि फरक पर्दैन । पुस्तक पढौं, संसार बदलौं, पुस्तकालय दिवस अमर रहोस् !
तपाईको प्रतिक्रिया