आज ज्ञानको सबैभन्दा ठूलो भण्डार इण्टरनेट बनिइसकेको छ । यसले गर्दा स्वभाविकरुपमा मानिसहरुको ध्यान किताबबाट हट्न समेत थालेको छ । यस परिप्रेक्षमा हालै अमेरिकामा गरिएको एक अध्ययन अनुसार के कुरा प्रष्ट भएको छ भने किताब मानसिक मात्र होइन, शारिरीक स्वास्थ्यका लागि समेत ठूलो महत्वको कुरा ठहरिएको छ । न्यूरो साइण्टिस्ट बरोनेश सूसान गेरिफिल्डले आफ्नो यस अनुसन्धानबाट के पाएका थिए भने कथाका किताबहरुले तनाव कम गर्ने मात्र होइन मस्तिष्कको सोच्ने क्षमता पनि अभिवृद्धि गर्दछ ।
कम्प्यूटर गेममा हासिल गरिएको कुशलताले हाम्रो दिमागलाई त्यस्तो प्रकारको तालिम दिन सक्दैन जस्तो तालिम एउटा राम्रो किताबले दिन सक्दछ । कम्प्यूटर गेममा कसैले राजकुमारीलाई बचाउदा त्यो बचाउने मानिसको ती राजकुमारीसँग कुनै भावनात्मक अपनत्वको गुञ्जायश हुने खालको सम्वन्ध नै महसुश हुँदैन । किनभने ती राजकुमारी कुनै व्यक्तिको रुपमा ती खेलाडीको सामुमा आउदिनन् र उनको ब्यक्तित्व ती खेलाडीको सामुमा खुल्दैन । दोश्रो कुरा ती खेलाडीले जित्नका लागि गेम खेल्ने हो र त्यसैमा सम्पूर्ण ध्यान केन्द्रित हुन्छ । त्यसले गर्दा बढी भन्दा बढी पोइण्ट स्कोर गर्नमै सम्पूर्ण ध्यान जान्छ । यसभन्दा फरक किताबमा राजकुमारीको कथा पढ्दा पढ्दा पढ्ने मानिस राजकुमारीकै जीवनमा प्रवेश गर्दछ र राजकुमारीको व्यक्तित्वको पत्र पत्र पढ्ने मानिसको सामुमा खुल्दै जान्छन् केही समयका लागि पढ्ने मानिस स्वयम नै त्यही पात्रको आँखाबाट पढ्ने मानिसले हेर्ने थाल्दछ ।
यी सबै कसरतले गर्दा दिमाग यस प्रकारले गुज्रिन्छ जुन कम्प्यूटर गेम्सहरुमा कहिले पनि सम्भव हुँदैन । यस्तो स्थितिमा टेलिभिजन, मोबाइल र इण्टरनेटको माध्यमबाट सूचनाहरु प्राप्त त हुन्छन् तर सूचनाहरुको बिश्लेषणको दृष्टिले यी मञ्चहरु पर्याप्त मानिन सक्दैनन् । अनि आँखामा दबाब पर्ने हुनाले यी माध्यमहरुमा धेरै बेर पढ्न सकिने सुबिधा पनि हुदैन । प्रष्ट छ, कुनै राम्रो कितावको कमी यी माध्यमहरुले पूरा गर्न सक्तैनन् । प्रबिधिको बिकास जतिसुकै बढी हुँदै गरेको भए पनि किताबको कुनै बिकल्प अहिलेसम्म बिकसित हुन सकेको छैन । यो कुरा स्वयमलाई बुझ्नु हाम्रा लागि जति बढी आवश्यक छ त्यसभन्दा बढी बाल बालिकाहरुलाई यस तथ्यका बारेमा जानकारी गराउन आवश्यक छ । किनभने मानिस, समाज र पुस्तकका बिचको यो युगौं पुरानो सम्बन्ध कायम रहिरहनुमा सबैभन्दा बढी हित तिनलाई नै छ र रहिरहने छ ।
तपाईको प्रतिक्रिया