दार्चुला
कोरोना संक्रमित दार्चुलाका प्रहरी जवानको सम्पर्कमा रहेका ३१ जनाको स्वाव पिसिआर परिक्षणका सोमवार डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाइएको छ । महाकाली नगरपालिकाका प्रहरी जवानको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूको हिजो कन्ट्याक ट्रेसिङ गरि स्वाव संकलन गरी १४ महिला तथा १७ जना पुरुष गरि ३१ जनाको नमुना परिक्षणका लागि डडेल्धुरा अस्पतालको पिसिआर प्रयोगशालामा पठाइएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोहन महराले जानकारी दिनुभयो ।
डडेल्धुराको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा आइतवार काठमाण्डौँबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय दार्चुलामा आएका २७ वर्षिय प्रहरी जवानमा कोरोना संक्रमण देखिएको थियो । आइतबार नै शैल्यशिखर नगरपालिकाका ५१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टी भएका प्रहरी जवान एक दिन घरमा बसेर दोस्रो दिन दार्चुला बहुमुखी क्याम्पसको क्वारेन्टीनमा बस्न आएका थिए । भदौ ७ गते शैल्यशिखर नगरपालिकाका ४३ जना र भदौ ९ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत २१ प्रहरीहरुको स्वाव संकलन गरी पिसिआर परिक्षणका लागि डडेल्धुरा प्रयोगशाला पठाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । अहिले सम्म दार्चुलामा कोरोना भाइरसको संक्रमित संख्या ५२ पुगेको छ ।
तपाईको प्रतिक्रिया