– लोकनारायण सुवेदी
हामी के कस्तो अर्थ–सामाजिक संरचना र स्थितिमा छौं राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा त्यसले नै हाम्रो राष्ट्रियताको आधार र जग निर्माण गर्दछ । यो मनोगत कुरा मात्र कदापि होइन र हुन पनि सक्दैन । हामीले राष्ट्रिय क्षमता विकास गर्ने विकास रणनीति लिएका छौं कि यसलाई कमजोर तुल्याउने र पराश्रयी बनाउने त्यसले नै मूलतः हामी कता गइरहेका छौं भन्ने कुरा प्रष्ट पार्दछ । केही बीर बहादुरहरुले राष्ट्रियता बलियो पार्ने कुरा आजको युगमा हुने कुरा नै होइन । हामीले हाम्रो राष्ट्रियताको कुरा गर्दा लाखौं लाख झोपडीहरुको सचेत एकताको, तिनको सर्बांगिण समृद्धि र स्वामित्वको खोजी गरेका छौं कि छैनौं, ती झोपडीहरुलाई तिनका नैसर्गिक हक हित र अधिकार(राजनीतिक, आर्थिक, समाजिक तथा सांस्कृतिक हक अधिकार)सम्पन्न र सुसज्जित तुल्याउने कुरा गरेका छौं कि छैनौं त्यसले नै हामी एउटा ठोस र सबल राष्ट्रियताको पक्षमा खडा छौ कि छैनौ भन्ने कुरा औंल्याउँदछ । अनि कसैले अहिले धर्मको व्यापार र धन्धा चलाउन खोजे जस्तै राष्ट्रियताको पनि एउटा खोक्रो माला जपेर वस्तुतः पराइलाई पोस्ने काम गरिरहेका छौं कि बास्तवमा देशका सम्पूर्ण जाति, जन जाति, अल्पसंख्यक, सीमान्तिकृत जन समुदायलाई समेटेर एउटा सिंगो राष्ट्रिय भावधारा —राष्ट्रपतिको ममत्व र अपनत्व विकसित गर्न खोजेका छौं भन्ने कुरा प्रदर्शित हुन्छ ।
नेपालका जे जति प्राकृतिक र मानवीय विकासका श्रोत साधानहरु छन् ती कसका लागि कसरी परिचालित भइरहेका छन् तिनको बस्तुगत लेखाजोखा गरेर मात्र हाम्रो बिकास र हामी कुन दिशातिर र कता गइरहेका छौं भन्ने कुराको ठोस निरोपण हुनसक्छ । बिश्वमा आएको बिज्ञान र प्रविधिको अकल्पनीय बिकास र बाह्य प्रभावले रोक्नै नसिकने उपस्थित बिश्वब्यापी स्थितिले गर्दा हामी पनि २१औं शताब्दीका सभ्य मानिस जस्तो देखिए पनि हाम्रो ठोस वास्तविक स्थिति बिल्कुलै त्यस्तो छैन । हाम्रो गरीबी, अशिक्षा, अभाव, असुरक्षा सबै कुराले हामी आज जसरी आक्रान्त छौं, जसरी केही मुठ्ठीभर व्यक्तिहरु रातारात मालामाल बन्ने र अधिकांश जनता कंगालीकरण हुने वर्गीय र सामाजिक विभेदको स्थिति ढसमस्स उपस्थित र बिद्यमान छ, अनि आर्थिक समाजिक असमानता र बिभेद जस्तो किसिमले बिद्यमान र ब्याप्त छ त्यहाँ राष्ट्रियता र राष्ट्रिय एकता सुबल र सुदृढ छ भन्ने कुरा नै हुन सक्दैन । त्यो केवल एउटा खोक्रो र ढोंगी आडम्बर मात्र ठहरिन्छ । त्यसैले हामीले राष्ट्रियतालाई आम जनताको आजीबिका, उनीहरुको बर्तमान अबस्था र आवश्यकताभन्दा भिन्न किसिमले हेर्न मिल्दैन र हेर्नु गलत हुनेछ ।
वास्तवमा हामीकहाँ राष्ट्रियतालाई तानाशाही प्रबृत्ति र असफलताहरुलाई ढाक छोप गर्ने र सत्ताको अभिष्ठ साधन गर्ने एउटा खोक्रो र खतरनाक माध्यम बनाइदै आएको छ । यसरी राष्ट्रियताको उच्च,प्रबल जनब्यापी गौरब र गरीमालाई उनीहरुबाट काटेर सत्तासीन केही मानिसहरुको संकीर्ण स्वार्थको बस्तु बनाएर प्रस्तुत गरिने गरेको छ । यसले वास्तवमा राष्ट्रियतालाई कमजोर बनाउने र यो केही उच्च पदस्थहरुको कार्य–ब्यापाको कुरा मात्र हो भन्ने सन्देश प्रवाह गरिएको छ । यसले जनता र राष्ट्र सबल, सक्षम र सुसज्जित तुल्याउने काम गर्न कदापि सक्तैन । त्यसैले राष्ट्रियताई सबल तुल्याउन आज यसलाई सिधै गम्भीर जन सरोकारको ब्यापक विषय वस्तु बनाइनु अनिवार्य र अपरिहार्य छ । यसका लागि आवश्यक आधार तयार गर्ने ठोस र अग्रगामी पहल नगरीकन र जनतालाई परस्पर सार्थकरुपमा गास्ने कदम नचालिकन एक इञ्च पनि अगाडि बढ्न सकिदैन ।
यसका लागि आधारभूतरुपका ठोस आर्थिक कदमहरुको आवश्यकता पर्दछ । प्राथमिकरुपमा त्यस्ता कदमहरु चाल्नका लागि हाम्रो देशको जीबनदयिनी उत्पादक शक्ति किसान बर्गलाई मध्यनजर र केन्द्र बिन्दूमा अग्रस्थानमा राख्नै पर्दछ । उनीहरुका मूलभूत राष्ट्रिय समस्या हल नगरिदा नै ०७ सालदेखि ०६३ सालसम्म भएका राजनीतिक परिबर्तनले पनि किसानहरुलाई मूलभूतरुपमा नछोएको र उनीहरुलाई यथास्थितिमै अल्मल्याउने काम हुँदै आएको प्रष्ट छ । जबसम्म यो देशको मूख्य र आधारभूत उत्पादक शक्ति किसानलाई उठाउने, जगाउने र अघि बढाउने गरी क्रान्तिकारी भूमिसुधार, राष्ट्रिय औद्योगिकरण र आम बिद्यूतिकरणको एक मुष्ठ र एकीकृत दूरगामी योजना र कदमलाई अघि सारिदैन र लागु गरिदैन राष्ट्रिय बिकासले साच्चै सही दिशा ग्रहण गर्न पनि सक्दैन । अनि उनीहरुका बीच रहेको चरम गरीबी, अशिक्षा, अभाव र असुरक्षाको स्थितिको पनि अन्त्य हुँदैन । बस्तुतः अहिलेसम्म किसानका समस्यालाई उपेक्षा र तिरस्कार गरेकै कारणले देश पिछडिएको अबस्थामा रहेको हो । चौतर्फी औद्योगिकरणको राष्ट्रिय आधार तयार नभएको र अहिलेसम्मका सत्ताधारीहरुले पुरानै सामन्ती राष्ट्रबादको सहारा लिनु परेको हो भन्ने कुरा प्रष्ट छ ।
आज हामीलाई देशका प्रमुख उत्पादक शक्ति मजदुर, किसान र राष्ट्रिय पूँजीपति बर्ग तथा सम्पूर्ण सामाजिक उत्पीडनमापरेका जन समुदायलाई एकताबद्ध गर्ने आधार सहीतको राष्ट्रय क्षमता अभिबृद्धि गर्ने उत्पादनशील र भरिभराउ राष्ट्रवाद चाहिएको छ । माला जप्ने र भजन गाउने खोक्रो राष्ट्रबाद होइन । यो दिशामा राष्ट्रिय चेतना निर्माण आजको पहिलो आवश्यकता हो । नत्र फेरि पनि राष्ट्रियतालाई सत्ताधारी वर्गले जनताको सरोकार नभएको संकीर्ण राजनीतिक स्वार्थको रोटीसेक्ने माध्यम बनाइरहने छ । यही नै आजसम्मको तीतो अनुभव हो ।
तपाईको प्रतिक्रिया