– लोकनारायण सुवेदी
भनिन्छ कि कुनै पनि देशको संस्कृति त्यो देशको या समाजको दर्पण हुने गर्दछ । सामाजशास्त्रीहरुले संस्कृतिलाई पिढीगतरुपमा हस्तान्तरित हुँदै आएको सामाजिक गतिविधि मान्दछन् । त्यसैले पनि सँस्कृतिलाई राजनीतिक र आर्थिक कृयाकलापको प्रतिबिम्ब पनि मानिने गरेको हो । कुनै पनि समाजका मानिसहरुको आचार–विचार, तिनको जीवन शैली, तिनको स्वभाव, रीति–रिवाज आदि सबै सँस्कृतिका नै अङ्ग मानिन्छन् । भारतीय उपमहाद्विपको कुरा गर्ने हो भने आर्यहरुको समयदेखि लिएर यस क्षेत्रमा साँस्कृतिक आक्रमण गर्नेहरु सवै भारतीय उपमहाद्विपको सामाजिक र साँस्कृतिक एकताको रक्षक पनि रहेको पाइन्छ । तर अहिले अनायाश भनौं कि योजनाबद्ध किसिमले ? के कसरी पाश्चात्य अपसँस्कृतिले आज यस क्षेत्रमा आक्रमण गर्दै र फैलिदैं गएको र त्यसले जरा जमाउदै गएको छ त्यो भने बुझिनसक्नु र निकै ठूलो चिन्ताको विषय बन्दै गएको छ । अहिले यसको ताजा उदाहरण भन्ने हो भने आजको अभद्र, अश्लिल, देह सँस्कृतिको घटाटोपलाई उल्लेख गर्न सकिन्छ । अचेल हरेक कुनै पनि सज्जन मानिस यस घटाटोपका अगाडि झुक्नका लागि बाध्य भएको प्रतीत हुन्छ ।
यसको आरम्भ भने अवश्य नै यस दशकको पूर्वाद्र्धदेखि मान्न सकिएला । तर वर्तमानले त बिगतका सारा कीर्तिमानहरुलाई ध्वस्त पारिदिएको छ । सडकहरु, फूटपाथहरुमा लागेका चलचित्रका पोष्टरहरुदेखि लिएर घर परिवारको बिचमा स्वदेशी तथा बिदेशी टेलिभिजन च्यानलहरुको माध्यमले मनोरञ्जनका नाममा न जाने के के देखाउने वा प्रदर्शन गर्ने गरेको छ । यो हाम्रो शिष्ट, सौम्य, सम्भ्रान्त परम्परालाई पूरै नष्ट भ्रष्ट पार्ने एउटा गम्भीर षडयन्त्र जस्तै लाग्दछ । एउटा नक्कली अधोमुखी सँस्कृति र सभ्यता यस चरमोत्कर्र्षी युगमा हावी भएको देखिदै आएको छ । चलचित्रहरुदेखि लिएर टेलिभिजन च्यानलहरुसम्म फैलिएको यो साँस्कृतिक प्रदुषणले मुक्त या शुद्ध हावामा शास फेर्न पनि आज कठिनाई उत्पन्न गरेको छ । के चलचित्र निर्माताहरु र टेलिभिजन धारवाहिक निर्माताहरुको अलिकति पनि कुनै नैतिक जिम्मेवारी छैन ? या उनीहरुले यस्तो महसुश गर्नु पर्दैन ? विभिन्न संगठनहरु र व्यक्तिहरुले पनि समाजका बीच पिलिएर रहेको यो घाउको विरोधमा आवाज अवश्य उठाएका छन् । तर साराका सारा कुराहरुलाई निरर्थक बक्तब्यवाजीमा बदलिएको जस्तो स्थिति छ । हुन पनि उनीहरु आधुनिकतालाई ‘खुला दृष्टि’ भन्ने गर्दछन् । वास्तवमा ‘खुला दृष्टि’ को अर्थ कुनै पनि संहीतामा ‘अभद्र प्रदर्शन’ मान्न सकिदैन ।
अश्लिल ‘वस्तु’ होइन ‘व्यक्तिको दृष्टि’ हुने गर्दछ भनेर यस्तो अश्लिलतालाई बचाउ गर्ने एउटा सिद्धान्त उनीहरुले अघि सार्ने गरेको छ । तर त्यस प्रकारको सतही र छिचरो दलिलले कहिलेसम्म अश्लीलतालाई ढाकछोप गरिरहन सक्ला र ! यस्तो साँस्कृतिक प्रदुषणप्रति समाजका दर्शकहरुको प्रतिकृया र टिप्पणी तथा आवाजले अवश्य पनि के कुराको आशा गर्न सकिन्छ भने अहिले पनि हरेक समाजमा स्वस्थ राष्ट्रिय र अन्तर्राष्ट्रिय पनि असल परम्पराकाप्रति जागरुपता कायम रहेको वा बाचेको छ । समाज कतै न कतै सँस्कृतिको पुनर्मूल्यांकन तथा त्यसको पुनः प्रतिष्ठाको दिशामा सचेष्ट, आस्थावान र सक्रिय पनि देखिन्छ । आ–आफ्ना स्वस्थ र मूल्यवान संस्कृतिको प्रतिष्ठाको साथै प्रगतिशील रहन सहन र जीवन शैलीसँग मानिसको कुनै बिरोध छैन र हुुनु हुदैन । तर कसैलार्ई पनि अवाञ्छित शरीर प्रदर्शन र अश्लिल प्रबृत्ति स्वीकार्य छैन र हुनु पनि हुँदैन । चलचित्रहरु, बिज्ञापनहरु तथा सञ्चारमाध्यमहरुसँग सम्वद्ध उत्तरदायी व्यक्तिहरुले पनि यस तथ्यलाई राम्ररी बुझ्दछन् तर चरम ब्यवसायिकताको अन्ध दौडमा उनीहरु फसेको जस्तो प्रतीत भइरहेको छ ।
उत्पादन संस्थाहरु, बिज्ञापन एजेन्सीहरु र छांयाकारहरु अचेल पनि तथाकथित आधुनिक पिढीका केटा केटीहरुलाई अश्लिल शरीर प्रदर्शन गर्नका लागि प्रेरित गर्ने गर्दछन् । निर्माताहरुको के सपाट जवाफ यस सन्दर्भमा पाइन्छ भने आधुनिक युवा पिढी अनपढ, गवार, मूर्ख र नादान छैन । यस पिढीले आफ्नो सबै राम्रो–नराम्रो स्वयम बुझ्दछ र सोच्न सक्तछ । हामीले कसैसँग जोर जवर्जस्ती गर्दैनौं । उनीहरुले स्वेच्छाले कार्य गर्ने गर्दछन् । शोषण जस्तो कुनै कुरा नै छैन यसमा । समग्रमा स्थिति के छ भने सबैले एक अर्कालाई औलो उठाउने गर्दछन् । अनि सबैले पैसा कमाउने स्वार्थमा आ–आफ्नो जिम्मेवारीलाई एक अर्कामा थोपर्ने गर्दछन् । कसैले पनि यस फैलदो प्रदुषणवाट मुक्त हुने कुरा गम्भीरतापूर्वक सोचिरहेको छैन । सबै नै आँखा चिम्लिएर फोहोर व्यवसायिकताको अन्ध दौडमा सामेल भइरहेका छन् । जोे कोही पनि आँखा झुकाएर या तर्किएर हिड्न खोज्दछ । त्यसो गरेर कोही पनि समस्यावाट बाहिर निस्कन सक्दैन । आउदा–जादा,उठता–बस्दा कुनै न कुनै कार्यक्रममा अत्यन्तै बेतुकका गीत गाना बजाना तथा अङ्ग प्रदर्शनका कुनै न कुनै कसरत अचेल चलिरहेका देखिन्छन् ।
आज टेलिभिजन हाम्रो जीवनको अभिन्न अङ्ग बन्न गएको छ । परिवारका सबै सदस्यहरुले यस्ता टेलिभिजनमा आ–आफ्नो मनपरेको कार्यक्रम हेर्न बिर्सदैनन् । विभिन्न च्यानलहरुमा प्रसारित हुने गरेका यस्ता कार्यक्रमहरुको संख्या पनि बढ्दै नै गएको छ । बिज्ञापनहरु र सिरियलहरुको प्रसारण त २४ घण्टै जस्तो प्रदर्शित हुने गरेको छ र हुन सक्दछ । लगभग प्रत्येक दर्शकमाथि नयाँ सिरियलको कथा वा कहानीले आफ्नो एक किसिमको छाप छोडेको हुन्छ या छोड्ने गर्दछ । ती धारावाहिकहरुमा प्रस्तुत गर्ने गरिएका सामाग्रीहरुले हाम्रा सामाजिक तथा साँस्कृतिक मूल्यहरुलाई आघात पु¥याउने गर्दछन् भने त्यसको नराम्रो असर पर्न जान्छ नै । चलचित्रहरुको सस्तो मनोरञ्जन र यथार्थवाट टाढा रहेका त्यस्ता धाराबाहिकहरुले हाम्रो समाजलाई दिग्भ्रमित पनि गर्ने गर्दछन् र गरिरहेका पनि छन् । तिनले अनेक बिकृतिहरु पैदा गरिरहेका छन् । सरकारले या राज्यले चलचित्रको अवोन्नतिमाथि कडा नजर राख्नु पर्दछ र त्यसलाई केवल सम्पत्ती जम्मा गर्ने धन—लुटेराहरुको हातमा मात्र छाडिनुु पटक्कै हुदैन । आधुनिक धारावाहिकहरु र चलचित्रहरु धेरै जसोमा सामाजिक यथार्थहरुलाई सही र रचनात्मक रुपमा प्रस्तुत गर्ने गरिएको छैन । त्यसो गरिनै पर्दछ । परिवारका सबै सदस्यहरुलाई सफा र स्वच्छ मनोरञ्जन दिनु पनि हाम्रो सँस्कृति अनुरुपको कुरा हो जसले गर्दा हाम्रो देशको समृद्ध र सँस्कारित परम्पराको रक्षा समेत हुन सकोस् । हामीले न परम्पराको नाममा अन्ध बिश्वास र कुरीतिलाई अपनाउनु हुन्छ न आधुनिकताका नाममा यौन अङ्ग प्रदर्शन गर्ने र त्यसलाई ब्यापारको बस्तु या ब्यापार बृद्धिका लागि बिज्ञापनको सहायक बस्तु नै बनाउनु हुन्छ । तर यस कुरामा कुनै वास्ता सम्वद्ध पक्षले अहिलेसम्म गर्ने गरेको पाइदैन । सञ्चारका बिकृतिहरु र बिसंगतिहरुको कुरा उठाउदा यो पक्षलाई गम्भीररुपमा लिनै पर्दछ ।
तपाईको प्रतिक्रिया