काठमाडौं । बन्दाबन्दीका कारण अप्ठ्यारोमा परेका असहाय मानिसहरुलाई आफै खटेर खाना खुवाउदैछन् इन्दिरा आमा । वास्तवमा उनी ‘बन्दी सहायता नेपाल(प्रिजनर्स असिस्टटेन्स नेपाल)की अध्यक्ष हुन् । उनको यस सम्बन्धि कार्यालय नयाँबजार म्हेपीमा नजिकै रहेको छ । खाश गरेर उनले जेलमा परेका बाबु आमाका असहाय र उपेक्षित बालबच्चाहरुलाई सहयोग गर्ने, पढाउने, लेखाउने र नयाँ जीवन दिने काम गर्छिन् । उनको कार्यालय म्हेपी नजिकै छ र उनले झापा, पाल्पा र साँखुमा त्यस्तै बाल बच्चाहरु र असहायका लागि काम गरिरहेकी छन् ।
तर,यस संस्थाले कोरोना महामारीको संकटमा भने फरक तरीकाले अतुलनीय काम गरिरहेको छ । कोरोना भाइरसका कारण सडकमा समस्या भएका असहाय अशक्तहरुको लागि यस संस्थाले पाँच महिनादेखि निःशुल्क खाना वितरण गर्दै आइरहेको छ ।
यस संस्थाका प्रमुख इन्दिरा राना मगर भन्छिन,‘विहानै तरकारीको जोहो गर्न विभिन्न तरकारी फार्म पुग्छु । हेर्दा सजिलो छ । तर काम गर्न गाह्रो छ, उनले भनिन, –‘दिउँसो खाना आफै बनाउँछु । बाँड्न पनि धेरैजसो आफै जान्छु ।’
उनका अनुसार खुल्ला मञ्च, गौशाला, ठमेल, सोह्रखुटे लगायतका विभिन्न ठाउँमा यस संस्थाले खाना खुवाई रहेको छ । प्रत्येक शनिबार चिकेन खाना, यस्तै हरेक हप्तामा अण्डा समेत खानामा खुवाउने गरेको इन्दिराले बताउँछिन् ।
इन्दिरालाई सबैले आमा भन्छन् । आमा भन्नुको पछाडि धेरै कारणहरु छन् । अहिले खुल्लामञ्च क्षेत्रमा बस्ने असहायलहरुले समेत ‘आमा’ भनेर उनलाई सम्बोधन गर्छन् ।
‘आमाको खाना मिठो छ । प्याकेटमै आएपनि सफा छ । अरुका खानासँग तुलना गर्ने मिल्दैन,’ खुल्ला मञ्चमा खाना खादै गरेका एकले भने,‘सबैले उनलाई आमा भन्छन्। म पनि उहाँलाई आमा नै भन्छु ।’
खाना खुवाउने अभियानमा उनलाई विभिन्न सहयोगी दाता तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेको बताउँछिन् । कोरोना महामारीका बेला सरकारले जनतालाई सहयोग र उपचार गर्न नसकिने भनेर लाचारी र गैर जिम्मेवारी प्रकट गर्दै सन्त्रासमा परेकाहरुलाई अझ सन्त्रस्त पारिरहेको बेला इन्दिराका यो असहायप्रतिको सेवालाई प्रशंसा नगरी रहन सकिदैन ।
तपाईको प्रतिक्रिया