-लोकनारायण सुवेदी
बीपीको यो कथन कि ‘‘ठूलो मान्छे होइन, असल मान्छे होऊ’’ भन्ने बीपीको मान्यता अत्यन्तै मननीय छ । देशमा राजनीतिक परिवर्तन पछि जसरी बीपीले पार्टी र सत्तालाई सुकिलामुकिला औसरबादीहरुले कब्जा गर्ने र इमानदारहरु पाखा पर्ने खतरा रहन्छ भन्ने औल्याएका थिए त्यो तीतो सत्यको अनुभव पनि आज तीब्रतमरुपमा भइरहेको छ । आज नेपालको पहिलो जननिर्वाचित नेता बीपीको जन्मेको पनि १०६ बर्ष बितिसकेको छ । उहाँको राजनीतिक जीवनका अनेक उकाली ओरालीहरु छन् । तर पनि प्रजातन्त्रप्रतिको अखण्ड निष्ठा र शतत संघर्ष उहाँको जीवनको अबिश्रान्त कर्म बन्यो । यद्यपि संकुचित र गलत अर्थ लगाएर अहिले पनि फाइदा उठाउन खोज्ने स्वार्थी तत्वहरु पनि धेरै छन् । तर प्रजातान्त्रिक समाजवादको सिद्धान्तमा अटुट बिश्वास राख्ने बीपी कोइरालाले नेपाली जनताको दीनहीन अबस्थामा परिवर्तन ल्याउन जस्तो किसिमको आर्थिक ब्यवस्थाको परिकल्पना गरेका थिए त्यसको आज कतै अत्तोपत्तो छैन । अनि आफ्नो जीवनका पछिल्ला पाका अनुभवका आधारमा रचित उहाँको ‘जेल जर्नल’ र ‘आत्म बृत्तान्त’ जस्ता कृतिको सारतत्वलाई राम्ररी पक्रने र बुझने हो भने बीपी कोइरालाले सामन्तबादबाट देशले मुक्ति पाउन नसकेको तथा सेनाको लोकतान्त्रिकरण र भूमिसुधार सही किसिमले हुन नसकेको हुँदा नै पटक पटक राजनीतिक प्रतिगमन हुने गरेको र देशको आर्थिक उन्नति पनि पछाडि परेको यथार्थ प्रष्टसँग औल्याएका छन् । तर नेपाली काग्रेसको नेतृत्व भित्रै राजतन्त्रलाई परित्याग गरेको हुँदा काग्रेस गलत बाटोमा गएको भन्ने पुरानो रुढ मान्यताले अझै पनि घर गर्न छाडेको छैन ।
बीपीको जन्म पनि १९१४ अर्थात पहिलो बिश्वयुद्धको आरम्भका दिनमा भएको थियो । उनी दूरगामी सोच भएका एक राजनेता मात्र थिएनन् एक मूर्धन्य साहित्यिक स्रटा पनि थिए । उनको राजनीतिक यात्राको अधिकांश समय एउटा अथक संघर्षमय यात्रीकोरुपमा बित्यो । केवल डेढ बर्ष मात्र उनी सत्तामा रहे । बाँकी प्रबास, जेल र प्रबास गर्दै संघर्षमै बित्यो त्यसले नेपाली जन आन्दोलनमा ऊर्जा र उत्साह प्रदान गरेको थियो । शुरुवाती राजनीतिमा बीपीलाई भारतको स्वतन्त्रताको संग्रामको छाप परेको थियो र उनको राजनीतिक यात्राको आरम्भ त्यसै आन्दोलनबाट भएको देखिन्छ । त्यसक्रममा बृटिश साम्राज्यबाद बिरोधी संघर्षमा लाग्दा भारतमा उनलाई बृटिश कम्पनी सरकारले ३ महिना काराबासको सजाय पनि दियो । त्यस राजनीतिक स्थितिबाट जागरुप बनेका बीपीले नेपाली राष्ट्रिय काग्रेसको गठन गरेर जहानियाँ राणा शासनललाई ललकार्दै आन्दोलनलाई अघि बढाए । १९४७ सालमा बिराटनगरमा मजदूर आन्दोलनको नेतृत्व गरेको अभियोग लगाएर उनलाई राणा सरकारले एक बर्ष कैदको सजाय दियो । राणाशासनको अन्त्यको लागि शुरुभएको आन्दोलन २००७ सालमा दिल्ली सम्झौतापछि रोकियो । राणाशासनको अन्त्य भएपछिको पहिलो प्रधानमन्त्री अन्तिम राणाप्रधानमन्त्री मोहन समशेर नै भए भने त्यस सरकारको गृहमन्त्री बीपी कोइरालाइ बने । तर त्यस्तो सरकारमा बीपीको पटरी खाने कुरै थिएन । त्यहीबाट एकातिर काग्रेसमा फूटको बिजारोपण भयो भने दरबारिया षडयन्त्र पनि शुरु भयो । यद्यपि राणा शासन बिरुद्धको सशस्त्र संघर्षमा नेतृत्व प्रदान गरेको पार्टीको नाताले दरबारले जतिसुकै षडयन्त्र गरे पनि ०१५ सालको संसदीय निर्वाचनमा बीपी नेतृत्वको नेपाली काग्रेस दुइ तिहाई मतले बिजयी बन्यो । त्यो कुरा राजा महेन्द्र जस्ता धूर्त र चलाक राजालाई एकदमै पचिरहेको थिएन । उनी जन निर्वाचित सरकारलाई के कसरी बर्खास्त गर्न सकिन्छ भन्ने ध्याउन्नमा थिए नै। उनैले दिएको संविधानमा जुन धारा ५५ राखिएको थियो त्यसैको आड लिएर बिभिन्न आरोप लगाउँदै जन निर्वाचित सरकारलाई मात्र बिघटन गरिएन सम्पूर्ण राजनीतिक दलहरु र तिनका जनबर्गीय संगठनहरुमाथि प्रतिबन्ध लगाइयो । अनि ०७ सालका उपलब्धीहरुलाई समाप्त पार्दै पञ्चायती प्रजातन्त्रको नाममा राजाको एकछत्र सामन्ती अधिनायकबाद झण्डै तीन दशकसम्म चलाइयो ।
त्यस कालखण्डमा बीपी गाणेमान लगायत काग्रेस र कम्युनिष्ट पार्टीका सयौं नेता र हजारौ कार्याकर्ताले जेलनेल भोगे प्रबासिन या भूमिगत अबस्थमा जान बाध्य भए । त्यसै क्रममा आठ बर्षको कारबास पछि बीपी जेल मुक्त भए । तर उनमा प्रजातन्त्रप्रतिको निष्ठा र हुट्हुटीमा कुनै कमी थिएन । पुनः भारतमा निर्वासित भएर पञ्चायती ब्यवस्था बिरुद्धको संघर्षलाई सक्रिय नेतृत्व दिन थाले । आठ बर्ष निर्वासित बसेका बीपी कोइरालामाथि आठ आठवटा फाँसीका मुद्दाहरु थिए । तर उनीमाथि अन्तर्राष्टिय कारणले भारतको दबाव बढ्दै गए पछि राष्ट्रियता खतरामा परेको मुद्दा उठाएर राजासँग राष्ट्रिय मेलमिलापको नारा अघि सार्दै निर्वासन त्यागेर स्वदेश फर्किए २०३३ साल पौष १६ गते । उनलाई पुनः पक्राउ गरियो र थुनामा राखियो । तथापि उनले राजा र प्रजा बीचको पर्खाल भत्काएर जानुपर्ने कुरामा आजीवन संघर्ष गरे । तर राजतन्त्रले बीपीको कुरालाई पटक्कै सुन्न चाहेन । अन्ततः राजाको पञ्चायती व्यवस्था विरुद्ध २०३६ सालमा जुन संयुक्त विद्यार्थी आन्दोलन छेडियो त्यसलाई व्यापक जनताको समर्थन हुन थालेपछि निर्विकल्प भनिएको पञ्चायती व्यवस्था जनमत संग्रहको कठघरामा उभ्भियो । अस्वस्थ र असक्त हुँदाहुदै पनि बीपी संवैधानिक राजतन्त्रको आफनो सैद्धान्तिक परिधिभित्र रहेर जनमत संग्रहमा बहुदलको पक्षमा नेतृत्व दिंदै राष्ट्रिय राजनीतिको परिचालन गर्न जोडतोडले लागे । त्यसबेला उनले बाम लोकताान्त्रिक सहकार्यलाई आवश्यक ठानेनन् पञ्चायती व्यवस्थालाई समाप्त पार्नका लागि जुन कुरा नेपालका सर्वोच्च कम्युनिष्ट क्रान्तिकारी नेता क. पुष्पलालले अघि सारेका थिए । त्यस्तो अवस्थामा पनि जनमत संग्रहमा बहुदलको पक्षमा जुन ४४ लाखभन्दा बढी मत आयो त्यो प्रजातन्त्रपक्षधहरुको मनोबल बढाउने ठूलो ऊर्जा बन्यो र त्यो आगामी आन्दोलनको पूर्वाधार तयारी गर्न र संयुक्त आन्दोलन चलाउने वातावरण बनाउन मद्दतगार पनि बन्यो । यद्यपि बिपीले त्यो समय देख्न पाएनन् ।
आज नेपाली कांग्रेस भित्र बीपीले जीवनभरी गरेको अथक संघर्ष र त्यसको सारलाई गलत अर्थ लगाएर बीपीको संवैधानिक राजतन्त्रको नीति छोडी बाम शक्तिसँग सहकार्य गर्दा नै आफ्नो स्थिति खस्किदै गएको गलत निष्कर्श समेत निकाल्ने गरिदैछ । वास्तवमा बीपीको राष्ट्रिय मेलमिलापको नीति राजा मेलमिलाप चाहदैनन् भन्ने कुरा दर्शाउनलाई अघि सारिएको थियो र त्यो प्रमाणित पनि भयो । त्यसैले बिपी जीवित छँदा नै २०३६ सालाको ऐतिहासिक संयुक्त विद्यार्थी आन्दोलन भएको र त्यसलाई नेपाली किसानहरुको आन्दोलनले समर्थन जनाउन र अझ अगाडि बढाउन थालेपछि जनमत संग्रहको घोषणा भएर आन्दोलन एक चरण अझ अगाडि बढेको कुरा माथि नै पनि औंल्याइसकिएको छ । त्यसैले राजासँग निरपेक्ष मेलिमिलापको नीति बीपीको थिएन भन्ने कुरा पनि प्रष्ट छ । यो प्रबृत्तिले बिपीको वास्तविक मान्यतालाई अंगीकार र आत्मसात गर्नेभन्दा पनि तत्कालीन अवस्थामा के गर्दा फाइदा हुन्छ भन्ने उपभोक्ताबादी र उपयोगिताबादी बाटो अख्तियार गर्दछ । विश्वव्यापी प्रजातान्त्रिक मूल्य, मान्यताको कुरा गर्न नथाक्ने नेपाली कांग्रेसले सामन्ती राजनीतिक, आर्थिक, समाजिक र साँस्कृतिक संरचनालाई एक वा अर्कोरुपमा यथास्थितिमा कायम राखेर लोकतन्त्र कदापि फस्टाउँदैन भन्ने कुरा कहिलेसम्ममा बुझ्ने हो अझै यकिन छैन, जुन कुरा नबुझ्दा ०१७ साल आएको कुरा बीपी स्वयमले आफ्ना पछिल्ला चर्चित कृतिहरुमा प्रष्ट औंल्याएका थिए । नेपाली जनताको व्यापक ऐतिहासिक संंयुक्त जन आन्दोलनको बलमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भइसकेपछि पनि कमल थापाको नीतिलाई सही ठहराउन कांग्रेसीहरुको एउटा जमात प्रत्यक्ष परोक्षरुपमा लाग्नु र वर्तमान बस्तुगत अवस्थाबाट पछि फर्कने प्रतिगामी सोचले काम गर्न अग्रसर हुनुले बीपी चिन्तन र दूरगामी उदेश्यको पटक्कै प्रतिनिधित्व गर्दैन । बीपीको सोच गतिशील र समयानुकूल किसिमको थियो र उनको कार्यनीति लचिलो प्रकारको थियो भन्ने बुझन जरुरी छ । बीपीको जन्म दिवसको आजको सन्दर्भमा लोकतान्त्रिक मूल्य, मान्यता, पद्धति र विश्वव्यापी परम्पराका आधारमा देश र व्यापक जनताको हितमा संघीय गणतन्त्रात्मक लोकतन्त्रप्रेमी कांग्रेसीहरुको घैटोमा कतै घाम लाग्ने हो कि नलाग्ने हो कुन्नि !
तपाईको प्रतिक्रिया