—लोकनारायण सुवेदी
हामी देख्दछौ कि विश्व समाजमा जहाँ पनि एक वा अर्को किसिमको जाति प्रथा रहेको छ । इतिहासको अध्ययन गर्दा बुझ्न सकिन्छ कि यो जाति प्रथा अचानक कुनै एक दिन बिहानै आरम्भ भएको पनि होइन । समाज विकासको क्रममा नै यसको विकास, विस्तार हुँदै आजको स्थितिमा आइपुगेको र यसमा भेदभावको सिर्जना हुँदै र बढ्दै गएको हो । यद्यपि यो प्रथाको शुरुवात एकाएक कुनै सत्ताले, संस्थाले, सभाले र या कानुन बनाएर गरिएको भने पटक्कै होइन । बरु समाजमा क्रमश विकसित हुँदै आएको यो जाति प्रथालाई खाश समय विशेषमा सामाजिक विभेद र शोषणमा आधारित राज्य सत्ताले प्रश्रय र प्रोत्साहन दिएर विषमता र विभेद अझ बढाउने काम गरेको भने अवश्य पाइन्छ । निश्चय नै जाति प्रथाले ल्याएका या यसको फलस्वरुप उत्पन्न भए गराइएका विभेद र विषमताहरुका अनेक अमिल्दा पक्षहरुको अन्त्य गर्न र समतामूलक र विभेदरहीत समाजको निर्माण गर्न यस प्रथाको आदि र अन्त्यका वस्तुगत आधारहरुको खोजी गर्नु अत्यावश्यक हुन्छ र अनिवार्य पनि छ ।
वास्तवमा जाति प्रथा लामो समयदेखि आजसम्म जसरी चल्दै आएको र चलिरहेको छ, त्यसका जारासम्म पुगेर त्यसलाई हेर्ने र केलाउने हो भने यो कतैबाट कुनै दिन घोषणा गरेर लादिएको भने पाइदैन । तर काल क्रममा श्रम विभाजनको हिसावले खाश काम गर्नेलाई एउटा जाति विशेषमा राखेर यसलाई कर्मणा(कर्मबाट) को स्थितिबाट फेरेर जन्मना(जन्मैबाट) उत्पन्न भएको बनाइएपछि समस्या अझ जटिल बन्न पुगेको हो । यद्यपि जाति प्रथाको निर्माण गर्नु त्यो पनि अल्पमतले बहुमतमाथि यस्तो प्रथालाई स्वीकार्य तुल्याउनु कम कठिन काम थिएन होला । किनभने यो आदेश दिएर एकाएक बनाउन सक्ने कुरा थिएन र होइन । सोझै हिसावले हेर्दा पनि समाजमा कुनै पनि कुरा बिगार्नभन्दा बनाउन धेरै बढी समय लाग्छ । जाति प्रथा बनाउन र चलाउन पनि धेरै लामो समय लागेको अनुमान सहजै गर्न सकिन्छ ।
विचार गर्ने हो भने समाज विकासको एउटा खाश चरणमा आइपुगेपछि र समाज वर्गीय रुपमा विभाजन भएपछि नै जातिप्रथाले पनि समाजमा जरा हालेको भेट्न सकिन्छ । यो अहिले जसरी चलिरहेको पाइन्छ त्यसले त्यो रुप लिनका लागि कम्तिमा पनि दुइ हजार पाँच सय बर्षभन्दा कम लागेन भन्ने पनि अनुमान गर्न सकिन्छ । अनि व्यवहारको क्रममा यसमा कट्टरता अझ बढ्न थाल्यो भने विभेद र विशषमता झनै फैलिन र कट्टर बन्न थाल्यो । जसरी यो प्रथा विकसित हुन लामो र कठिन समय लाग्यो त्यसरी नै यसको अन्त्यका लागि पनि लामो समय र श्रम लाग्दछ नै । त्यसैले आधुनिक विद्वान समाजशास्त्रीहरु तथा अन्य जनहितैषी मानिसहरुका लागि पनि यसको सही अध्ययन र सही समाधानको खोजी गर्नका लागि पनि अवश्य निकै लामो समय लाग्ने नै छ । यो रातरात समाप्त हुने सपना कसैले देख्न त सक्छ तर समाजमा व्यापक रुपमा फैलिएको यो प्रथा तोड्न र छोड्न कम कठिन कुरा छैन । वस्तवमा बर्गीय रुपमा यो जातिभेदी समाजको निरुपण गर्न र समाधान गर्न पनि यो जाति प्रथाले व्यवधान खडा गर्दछ र गरिराखेको छ । बर्गीय रुपमा एउटै धरातलको भए पनि मानिस जातिय रुपमा जसरी विभाजित छ त्यसले बर्गीय आन्दोलनलाई सही र निर्णायक दिशामा उठाउन र सफलता हासिल गर्नमा बाधा उत्पन्न गर्दछ । सफलता मिलेको परिवर्तनलाई पनि यो प्रथाले पुन: पछि धकेलेका अनेक उदाहरण छन् । त्यसैले समाजको आमूल परिवर्तन चाहने वैज्ञानिक समाजवादको अभियन्ताहरुले पनि यस प्रथालाई द्वन्द्वात्मक भौतिकवादका आधारमा राम्ररी केलाएर यसको अन्त्य गर्ने दिशामा के कसरी सामाजिक विभाजन र उत्पीडनको अन्त्य गर्न सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्न सक्नु र सिक्नु पर्दछ र यो चुट्कीको भरमा अन्त्य हुने विषय बस्तु होइन भन्ने कुरा बुझ्नु पर्दछ ।
यो जाति प्रथाले शोषणमा आधारित समाजको यथास्थितिलाई कायम राख्न र त्यसका लागि जनतालाई आर्थिक रुपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र धार्मिक रुपमा समेत विभाजित राख्नु आवश्यक भएकाले शोषणमा आधारित शोषक बर्गीय राज्यसत्ताले यो जाति प्रथालाई प्रश्रय र प्रोत्साहन दिंदै आयो । खाशगरी दास युगपछि उदाएको सामन्ती युगमा यो जातिवादी प्रथा र प्रचलनलाई अझ बढी नै सह दिइयो र जनतालाई जातपातका आधारमा विभाजनमा राखिराख्ने कुरालाई सही ठहराउने अनेक प्रयत्न गरियो । जातपात अनुसारको दण्ड सजायदेखि लिएर सम्मानमा समेत भिन्नता ल्याइयो । सामाजिक सोपानमा (हाइ¥यार्की)मा विभेद खडा गरियो । त्यसैले हिन्दूशास्त्रमा के भनियो भने ‘ब्राह्मणस्यमुखमासिद् बाहुराजन्यकृत उरुतदैस्यजेद बैस्य पद्भ्यगु शुद्रो अजायतः’ ब्राह्मण मुखबाट, क्षेत्री हातबाट वैश्य तिघ्राबाट र शुद्र पैतालाबाट जन्मिए ।
त्यसैले आज कथित जातिपातिका निर्माताहरुद्वारा बनाएको यो जातिगत ढाँचालाई समाप्त पार्ने मूलभूत कठिनाईहरु के के छन् ? तिनको निरोपण गरिनु आवश्यक छ । वास्तवमा जाति सामाजिक विकासको क्रममा उत्पन्न भएको सामाजिक संरचना हो । यसका भाषिक, साँस्कृतिक र धार्मिक आयामहरु पनि छन् । यसलाई कसैले बनाएन । तर यसलाई सामाजिक बिकासको परिणाम भन्न पनि हामी शर्म मान्दछौं । तर कुनै बर्ग या बर्ण या शासकमा जाति निर्माणको यस्तो क्षमता हुन्थ्यो भने त आधुनिक शिक्षित र समझदार मानिने समुदायले यसलाई त्यत्ति नै सजिलो गरी समाप्त पनि पार्न सक्तथ्यो । तर सक्दैनन् । यो अचानक बनेको कुरै होइन । पुरानो इतिहास हेर्दा ऋग्वेदको रचना कालमा जाति–वर्ण थिएन । उत्तर बैदिक कालमा बर्ण देखिन्छन् । तर त्यो पनि जन्मजात होइन तर आज जाति जन्मले बनेको छ । त्यसैले गर्दा पनि यसको उच्छेद कठिन बनेको हो । जाति एउटा समूहगत अस्मिता हो । आदिम कालदेखि नै सुख शान्ति रहँदा रहँदै पनि लडाई झगडा पनि हुँदै रहे । लडाईका कारण जे सुकै पनि हुन सक्दछ । व्यक्तिगत सम्पत्तिमाथि आक्रमण, अभद्र व्यवहार, या अरु अनेक कारणले । सामान्य भना भनमा मै पनि कुनै अल्पसंख्यक समुदाय या जाति समूहका पीडितको बिषय सम्पूर्ण सम्प्रदायकै या जातिकै पीडासँग जोडि दिने पनि गरिन्छ । पीडितकाप्रति जाति प्रमाणपत्रहरुमाथि बहसहरु हुने गर्दछन्, अपराधीलाई पनि बंश, समूह, जाति या सम्प्रदायसँग जोडिदिने गरिन्छ । जसले गर्दा सामाजिक समरसताको प्रवाह खण्डित हुन पुग्दछ । असहिष्णुता बढ्दछ ।
लोपोन्मुख,सीमान्तिकृत र अल्पसंख्यक अनुसूचित जातिहरु सामाजिक भेदभाव र उत्पीडनको सबैभन्दा बढी शिकार हुने गर्दछन् । कतिपय देशहरुमा साम्राज्यादले उपनिवेश जमाएको बेला त्यहाँका अनुसूचित जातिहरुको राजकीय र कानुनी उत्पीडन पनि थियो । भारतकै कुरा गर्ने हो भने पनि बृटिश संसदद्वारा पारित ‘क्रिमिनल ट्राइब एक्ट’ बालबच्चाहरुमाथि पनि लागु गरिन्थ्यो । पूरै जाति समूहलाई नै अपराधी या क्रिमिनल घोषित गरिने गरिन्थ्यो । यद्यपि भारतको संविधान सभाले सर्ब सम्मतिले अनुसूचित – जनजातिहरुका लागि आरक्षण समेतका अनेक रक्षा उपायहरुको व्यवस्था गर्यो । त्यस हिसावले अहिलेसम्ममा जातिभेदको अन्त्य भइसक्नु पर्ने थियो । तर ‘हामी भारतवासी’ ‘ह्वी द पिपुल अफ इण्डिया’ भनेर प्रस्तावना शुरु गरेर बनाइएको संबिधान निर्माताहरुको सपना सपनाको तहभन्दा अघि बढ्न सकेको छैन । संविधानको प्रस्तावनामा लेखिएको छ की हामी भारतका मानिसले(जनताले) नै संविधान बनाएको हो । तर मूलभूत प्रश्न के छ भने संविधानप्रति निष्ठावान भनिएका भारतीयहरु जनता अर्थात दि ‘पिपुल’ कहाँ छन् ? आज पनि विभिन्न जातिमा किन बाँधिएर रहेका छन् जनता भिन्न भिन्न पहिचान किन छ र त्यसप्रति प्रतिबद्धता किन छ ? अनि जातिय उत्पीडनको प्रश्न आज सर्वत्र राष्ट्रिय बहसको बिषय किन बनेको छ । यद्यपि बहस हुनु आफैमा नराम्रो कुरा होइन नै । भारतका संविधान निर्माता मध्येका एक बिद्वान डा. अम्बेडकरले भनेका थिए ‘‘हामी भारतीय हौं र भयौं भने त यी जातिहरु बेमतलबका हुनेछन्’’ । यो कुरा जुन देशको लागि पनि अर्थ राख्ने कुरा हो । जाति प्रथालाई स्वभाविक र शाश्वत विभाजन मान्ने परिवेश रहेसम्म यो प्रथाले प्रश्रय पाइरहन्छ । त्यसैले त्यो परिबेशको अन्त्य गर्ने अर्थ–सामाजिक आधार तयार गर्नु अनिवार्य छ र हुन्छ । सारांशमा बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्त समाजको निर्माणले मात्र यसको अन्त्य गर्न सक्दछ ।
तपाईको प्रतिक्रिया