यसलाई ‘गाजर घाँस’ पनि भनिन्छ । झट्ट हेर्दा यो गाजरको पात जस्तो पनि देखिन्छ, तीते पाती जस्तै पनि देखिन्छ । तर अमेरिकाबाट भारत हुँदै नेपाल छिरेको भयंकर खतरनाक र बिपालु झार हो यो ।यस झारलाई अग्रेजीमा पार्थेनियम हिस्टेरोफोरस (Parthenium hysterophorus) भनिन्छ । यो अत्यन्तै तीव्र गतिमा फैलिने र फस्टाउने झार जुनसुकै वातावरणमा हुर्किन्छ र बाली, बिरुवाका साथसाथै मानिस र पशुहरुका लागि पनि गम्भीर समस्या बन्ने अत्यन्तै बिषालु झार हो । समयमै यसको नियन्त्रण गरिएन र निर्मुल पारिएन भने यो बिनाशकारी बन्दछ ।
यद्यपि यसको उपयोग अनेक प्रकारका कीटनाशक, जीवाणुनाशक र झारपातनाशक औषधी निर्माण पनि गर्न सकिने, बायो ग्यास पनि तयार पार्न गोबरसँग मिलाउन सकिने र बोक्राबाट कागज बनाउन सकिने पनि बताइन्छ । तर ती उपयोगभन्दा यसको बिनाशकारी पक्ष धेरै छ ।
यसका २० वटा प्रजातिहरु विश्वमा छन् र यो झार अमेरिका, मेक्सिको, वेस्टइण्डिज, भारत, चीन, नेपाल, भियतनाम र अस्ट्रेलियाको पनि विभिन्न भागमा फैलिएको छ । भारतमा तीन दशक अघि मात्र क्यानाडाबाट आयात गरिएको गहुसँगै प्रवेश गरेको यो झार नेपालमा एक दशकभन्दा अगाडि छिरेको अनुमान छ ।
यो झारले धान, मकै, गहु,भटमास, तील, ऊखु, बदाम लगायतका प्राय सबै बालीनाली सखाप पार्दछ भने यो झार मानिस र पशुका लागि पनि खतरनाक छ । यसले खाद्यान्न फसलको उत्पादनमा झण्डै चार प्रतिशत कमी ल्याउदछ । यसमा पाइने एउटा बिषाक्त पदार्थले बालनालीको अंकुरणमाथि नै प्रतिकूल असर पुर्याउँदछ । दाल बालीमा नाइट्रोजन स्थिरिकरण गर्ने कार्यमा पनि यसले बाधा पुर्याउँदछ । त्यसैगरी भाण्टा, खोर्सानी, गोलभेडा आदि जस्ता तरकारीहरुलाई पनि नोक्सान पु¥याउँदछ ।
निरन्तर यस झारको सम्पर्कमा आउदा मानिसलाई डर्मेटाइटीस, एक्जिमा, एलर्जी जस्ता छालाको रोग हुने, ज्वरो आउने, दम बढ्ने हुन्छ । पशुहरुले त यो घाँस खाँदा मृत्युसम्म हुन सक्छ । अन्य विभिन्न रोग पनि यसले पशुहरुमा निम्त्याउँदछ । कृषि जन्य जैबिक बिबिधतलाई नष्ट गर्ने यो झारलाई नियन्त्रण र निर्मुल गर्ने अजैबिक जैबिक सबै उपाय गरिनु पर्ने विज्ञहरु बताउँदछन् । नेपालको जीन बैंकका प्रमुख मदनराज भट्ट त यसको नियन्त्रण गर्न देशभर जनचेतना नै जगाउन पर्ने बताउँदछन् ।
तपाईको प्रतिक्रिया