-क्षमा शर्मा
निक्कै पहिला चाबीले चल्ने बाल खेलौनाहरु खेलेर बाल बच्चाहरु बडो खुशी हुने गर्दथे । कपडा, काठ र माटो आदिले बनेका खेलौनाको तुलनामा यस्ता चाबीले चल्ने खेलौनाहरु बच्चाहरुलाई खुबै मन पनि परेका थिए । त्यस्ता खेलौना स्वयमले पनि नाच्न गाउँन सक्ने, हिड्न घुम्न सक्ने दौडन सक्ने भएकाले पनि बच्चाहरुलाई निक्कै मन परेका हुन् । हुन पनि त्यति बेला यो निक्कै अनौठो कुरा नै थियो । माटो, कपडा र कतिसम्म भने कतिपय काठकै खेलौनाहरु पनि घरमै तयार हुने गर्दथे तर चाबीले चल्ने खेलौनाहरु बजारबाट किन्न पर्ने भयो । ती महँगा पनि हुने गर्दथे । त्यसले गर्दा त्यस्ता बाल बच्चाले मात्रै बजारका खेलौनाहरु खेल्न सक्दथे र त्यस्ता खेलौना किन्न सक्दथे जसका मातापिताहरु सम्पन्न वा पैसावाल हुन्थे ।
बदलिदो समय सँगसँगै खेलौनाहरुमा पनि धेरै परिवर्तन आउदै गयो । रिमोट क्रान्तिले खेलौनाहरुलाई पनि रिमोटले चल्ने तुल्याइदियो । त्यस्तो खेलौनाहरु मानिसहरुका घर घरमा पुग्न थाले । तर अब कस्तो लाग्दछ भने केही वर्षपछि यी रिमोटले चल्ने खेलाउनाहरु पनि बितेको समयको कुरा हुनजाने छन् ।बृटेनको बारवीकर बिश्वबिद्यालका बैज्ञानिकहरु यस्ता खेलौनाहरु बनाउन जुटेका छन् जुन मस्तिष्कको क्षमतासँग जोडिएकाछन् । खेल्ने बच्चाहरुले जस्तो चाहन्छन् ती खेलौना त्यसरी नै चल्ने गर्दछन् । एउटा हेड सेट लगाएर तिनलाई बच्चाले आफुखुशी जस्तो चाह्यो त्यस्तो गरी चलाउन सक्नेछ । त्यो हेड सेट भने कम्प्यूटरसँग जोडिएको हुनेछ । कम्प्यूटरले मस्तिष्कका तरंगहरुलाई पक्रेर खेलौनालाई आदेश दिनेछ र खेलौनाले त्यो आदेश पालना गर्नेछ । साच्चै सुन्नका लागि त यो कुरा अहिले कुनै परी कथा जस्तो मात्र लाग्दछ । जस्तो कि परीको जादुको एउटै छडीबाट जे चाह्यो त्यही हुन सक्दछ । यस्तै प्रकारका कुराहरु बाल्यकालदेखि नै सुन्दै आएका हजुर आमा जिजु हजुरआमाहरुको कथा कुथुंग्रीमा पनि हुन्थ्यो । ती कहानीहरुमा आउने भूत, प्रेत, जादू, टुनामुना, बोल्ने जनावर सबै आई आईकन कहानीलाई रोमाञ्चकारी बनाउँदथे, तिनलाई अगाडि बढाउँदथे अनि तिनीहरुसँगै हिडिरहेका चलिरहेका बच्चाले सोध्ने गर्दथे कि अनि के भयो, कसरी भयो, कहिले भयो ? आदि । यस्तै प्रकारका कथा कुथुंग्रीहरुबाट हाम्रा प्राचीन ग्रन्थहरु पनि भरिएर रहेका छन् । तीमध्येका एक भन्दा अर्को कथाहरु र तिनलाई पनि अझ अघि बढाउन अबान्तर कथाहरु मौजूद रहेका छन् । तिनमा राक्षस, पिशास, देबता, आदि आदि बिभिन्न किसिमका रुप तिनले लिन सक्छन् । मनको गतिले कही पनि आउन जान सक्छन् ।
वास्तवमा जुन चमत्कार हिजोसम्म यस्तै कथा कुथुंग्री र कल्पनाको संसारमा रहँदै चल्दै आएका थिए तिनलाई आजको विज्ञानले दिमागको शक्तिबाट चल्नसक्ने खेलौना बनाएर आज सम्भव तुल्याइदिन थालेको र सम्भव बनाइदिएको छ । जब कि परी कथाहरु र विज्ञानका कथाहरुलाई प्रायः एक अर्काको बिरोधीका रुपमा प्रस्तुत गरिदै आएको हो । हुन त विज्ञानको इतिहास यस कुराको साक्षी छ कि मानिसले जुन कुराको कल्पना ग¥यो त्यसलाई बिज्ञानले सच्चाईमा परिणत गरिदिएको छ जस्तो फ्रान्सका लेखक जूले बर्नले अन्तरिक्षमा चन्द्रमाको यात्रा(एराउण्ड दि मून) को कुरा गरेका थिए बिज्ञानले साच्चै नै मानिसलाई चन्द्रमामा उतारेर देखाइदियो र अहिले पनि त्यो क्रम जारी छ । मानिसले चराले जस्तै पखेटाको भरमा आकाशमा उड्ने कुरा सोच्यो त्यो पनि बिज्ञानको माध्यमले जहाजमा बसेर फिरिरी मानिस उड्न थाल्यो । मानिस केही घण्टामै त्यहाँ पुग्न थाल्यो जुन पहिला महिनौ दिन लाएर मात्र पुग्न सकिन्थ्यो यो अझ पुग्न सकिदैनथ्यो । यसको अर्थ के पनि निकाल्न सकिन्छ भने कल्पना या परिकल्पना बिना बिज्ञानको विकास पनि सम्भव छैन । परिकल्पना र विज्ञान एक अर्काका बिरोधी होइनन् सहयोगी या परिपुरक मित्र हुन् ।
बाल साहित्यमा पनि लामो समयसम्म यस प्रकारको बहस चल्दै आयो कि बाल बच्चाहरुलाई काल्पनिक कथा कहानी सुनाउने कि उनीहरुलाई बैज्ञनिक दृष्टिकोण बिकसित गरिदिने हो । दुबै तर्फबाट धेरै अतिवादी तर्क वितर्कहरुपनि प्रस्तुत हुदै आएका पनि छन् । यो पूरै बहसमा बच्चासँग भने शायदै कसैले सोध्यो होला कि उनीहरु के पढ्न चाहन्छन् ? कुन खेलौना या खेल खेल्न चाहन्छन् । ठूलाले नै तय गर्ने गर्दछन् कि बच्चालाई के मन पर्दछ । जो उनीहरुले भनिरहेका छन् त्यही नै बच्चाका लागि सर्बश्रेष्ठ हो ।
हुन त बाल बच्चाका लागि काम गरिरहेका धेरैजसो विशेषज्ञहरु के मान्दछन् भने बच्चाहरुलाई वैज्ञानिक विकासको नाममा यस्तो कुराहरु दिइनु हुदैन जसले तिनको स्वभाविक विकासलाई भुत्ते तुल्याउँदछन् । तिनको भोलाभालापलाई खोस्दछन् । किनभने एउटा समय यस्तो पनि थियो जति बेला बाल बच्चाले घर घरमा कपडा या माटोका खेलौनाहरु आफैं बनाउन सिक्दथे र बनाउने गर्दथे । कसैले माटाको सिंह बनाउँदथ्यो,कसैले माटाको कुवा त्यसको जगत, बाल्टी र डोरी पनि । यसरी बाल्य कालदेखि नै तिनको रचनात्मकता अर्थात् क्रिएटीभिटीको विकास हुँदै जान्थ्यो । आज बन्न लागेका या बनेका दिमागको शक्तिले चल्ने खेलौनाहरु यो पूरै बहसमा कहाँ निर खडा हुन्छन् यो थाहा छैन तर एउटा कुरा भने पक्का छ न बाल बच्चाको रचनात्मकता रोकिन सक्छ न वैज्ञानिक प्रगतिको माध्यमबाट बजारमा यस्ता नयाँ नयाँ अचम्म लाग्दा खेलौनाहरु आउन नै रोकिने छ ।
तपाईको प्रतिक्रिया