—लोेकनारायण सुवेदी
आधुनिक नेपाली राजनीतिक इतिहासका एक महान अग्रणी व्यक्तित्व तथा आमूल सामाजिक परिवर्तनका क्रान्तिकारी विचारक, सिद्धान्तकार, योजनाकार एबं तदनुरुपको कार्यनीतिका प्रबक्ता एवं नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, जो प्रातस्मरणीय अमर शहीद गंगालालका सहोदर भाइ पनि हुन्, अत्यन्तै उच्च विचार र सादा जीवनका प्रतिमूर्ति थिए । उनको सबैभन्दा महत्वपूर्ण र आधारभूत अनुकरणीय पक्ष नेपाली समाजको बैज्ञानिक माक्र्सवादी लेनिनवादी अर्थात् द्वन्दात्मक भौतिकबादी दृष्टिकोणका आधारमा अध्ययन नै थियो । त्यो अध्ययन केवल अध्ययनका लागि थिएन, नेपाली समाजबाट सदियौंदेखि लादिएको सामन्ती शोषण साम्राज्यबादी उत्पीडनको अन्त्य गर्न ब्यापक जन आन्दोलनको सृष्टि गर्नका लागि त्यो अध्ययन थियो । यस शिलशिलामा उनले शुरुमै बिश्वप्रसिद्ध कम्युनिष्ट घोषणापत्र नेपालीमा उल्था गर्ने क्रममा नै नेपाली समाजको मोटामोटी बर्ग विश्लेषण गरेर नेपाली जन आन्दोलनको दिशा,औचित्य र आवश्यकता प्रष्टसँग औल्याइसकेका थिए । अध्ययन र आन्दोलनलाई सँगसँगै अघि बढाउँदै उनले ‘हाम्रो मातृभूमिको नाम नेपाल कसरी रह्यो’, ‘नेपालको सर्बेक्षण’, अनि ‘नेपालमा मातृ सत्तात्मक समाज’ जस्ता महत्वपूर्ण समाजशास्त्रीय दृष्टिकोणका ऐतिहासिक र अनुसन्धानमूलक लेखहरु दिएका छन् । पार्टी प्रशिक्षण दिदा उनले सदैब ‘जसले आफ्नो देशको इतिहास, सँस्कृति, भूगोल र समाजका बारेमा यथेष्ठ र गहिरो अध्ययन गर्दैन, जनताले के कसरी जीवन गुजारा गरिरहेका छन्, गाँस बासको प्रवन्ध कसरी चलाइरहेका छन् भन्ने कुराको गहिरो र गम्भीर अध्ययन, मनन र चिन्तन गर्दैन त्यसले नेपाली समाजको आमूल र अग्रगामी परिवर्तनका लागि कुनै सार्थक योगदान दिन सक्तैन’ भन्ने कुरा एकदमै प्रष्टसँग दर्शाउँदथे र सम्झाउने गर्दथे । अनि सबै परिवर्तनकामी व्यक्तिहरुलाई कम्तिमा पनि नेपाल र विश्वको इतिहास पढ्न सदैब प्रेरित र प्रोत्साहित गर्दथे । खासगरी पुष्पलालले अमेरिकी स्वतन्त्रता संग्रामको इतिहास, फ्रान्सेली क्रान्ति, बेलायतको औद्योगिक क्रान्ति, महान अक्टोबर समाजवादी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम र चीनीया नयाँजनबादी क्रान्ति तथा विश्वमा चलिरहेका साम्राज्यावाद तथा उपनिवेशबाद बिरोधी आन्दोलनहरु खाशगरी भियतनाम, कोरिया र क्यूबाका आन्दोलनहरुको ज्ञान परिवर्तनकामी शक्तिहरुमा हुनै पर्दछ भन्ने कुरामा बिशेष जोड दिने गर्दथे । यसरी उनले नेपाली समाजका लागि बैकल्पिक राजनीति, अर्थतन्त्र, समाजिक संरचना र सँस्कृतिको निर्माण गर्ने आधार तयार गर्नमा बिशेष जोड दिने गर्दथे । बिशेषतः नेपालको सन्दर्भमा उनले नेपाली जनताको आजीबिका के कसरी चल्दै आएको छ, त्यसका लागि उनीहरुले कसरी संघर्ष गर्दै आएका छन् र जनताको आन्दोलनले प्राप्त गरेका परिवर्तनका उपलब्धीहरु कसरी पुनः गुम्ने गरेका छन् अनि जनताले पुनः संघर्ष गर्नुपरेको छ भन्ने ज्वलन्त उदाहरण दिदै त्यसबाट सही शिक्षा लिएर परिवर्तनका पक्षधर राजनीतिक कार्यकर्ता र जनतालाई सचेत गराउनु पर्दछ भन्ने कुरा बारम्बार औल्याउने गर्दथे । वास्तवमा उनले ‘नेपाली जन आन्दोलन ः एक समिक्षा’ भन्ने जुन महत्वपूर्ण कृति दिएका छन् त्यो यिनै गम्भीर महत्वका कुराहरुको एउटा अत्यन्तै पठनीय जन आन्दोलन बिकासको सामाग्री हो । हुन पनि त्यो वास्तबमा त्यो पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन तयार पारिएको कमरेड पुष्पलालको त्यो ‘नोट’ थियो । त्यो नै नेपाली जन आन्दोलनको एउटा महत्वपूर्ण राजनीतिक दस्तावेज र इतिहासको भौतिकबादी ब्याख्याको पहिलो महत्वपूर्ण कृति बन्न पुग्यो ।
आफु पनि नेपाल र बिश्व समाजको गम्भीर र गहन अध्ययन गर्ने र अरुलाई पनि त्यसो गर्न झकझक्याइरहने क. पुष्पालालमा कुनै दम्भ र तुजुकको गन्धसम्म पनि थिएन । तर जनतामाथि शोषण र अन्याय गर्ने शक्तिका बिरुद्ध भने कहिले नझुक्ने दृढता, परिवर्तनप्रतिको अखण्ड निष्ठा र दृढ संकल्प तथा उच्च साहसले उनी ओतप्रोत थिए । उनको यो ब्यक्तित्वले गर्दा उनलाई भेट्ने नेता, कार्यकर्ता जोसुकै पनि पुष्पलालप्रति ठूलो सम्मान,आत्मीयता र आदरभावको दृष्टिले हेर्दथे ।
पुष्पलालले कहिले पनि आफुलाई सर्बसाधारण मानिसभन्दा माथि राखेनन् र त्यस्तो ठानेन् । त्यस क्रममा उनले आफ्नो थरको पछाडिको ‘श्रेष्ठ’ शब्दलाई नै पनि सहजसँग झिकिदिए । पहिला पहिला केही समय पुष्पलाल ‘नेपाली’ भनेर पनि लेखे । तर पछि त्यसले पनि विश्व समाजको एउटा देश विशेषको मात्र मानिस बुझिने भएकोले त्यो शब्द पनि लेख्न छोडेर केवल ‘पुष्पलाल’ मात्र लेखे । उनी भन्ने गर्दथे कि मानिस कामले चिनिने हो । उसको नाम जतिसुकै राम्रो र सुन्दर भए पनि काम खराब छ भने त्यो घृणाको पात्र हुन्छ र काम सुन्दर छ भने त्यो सम्मान र आदरको पात्र हुन्छ । त्यसैले नामको महत्व कामसँग गासिएको हुन्छ । एउटै नामका धेरै मानिस हुन सक्तछन् तर तिनीहरु सबैको काम उस्तै र एउटै किसिमको न हुन सक्तछ भन्ने कुरा उनी दर्शाउँदथे । यसरी कामरेड पुष्पलालले आफुलाई पुष्पलालकोरुपमा मात्र प्रस्तुत गरे । त्यसरी नै चिनिए । तर अहिले पनि उनको त्यो यथार्थलाई नबुझेकाहरु या बुझपचाएकाहरु र संकीर्ण स्वार्थ बिशेषले गर्दा पुष्पलालका पछाडि ‘श्रेष्ठ’ नै लेख्दिने गर्दछन् र ‘श्रेष्ठ’ नै ‘सर्ब श्रेष्ठ’ हो भन्ने भान पार्न र भजाउन पनि खोज्दछन् । जुन कुरामा कामरेड पुष्पलालको बिल्कुलै कुनै चाख रुचि र वास्ता पनि थिएन । यति सम्म कि आफु अमर शहीद गंगालालको सहोदर माहिलो भाइ हो भनेर पनि पुष्पलालले कहिल्यै कतै भेनन् । बास्तवमा संसारलाई बदल्न चाहनेहरुले सर्बप्रथम आफुलाई नै बदल्नु पर्दछ भन्ने जुन मान्यता हो त्यसको कमरेड पुष्पलाल यसरी निरन्तर अनुयायी थिए । यो एउटा उदाहरण मात्र हो तर कमरेड पुष्पलाल बद्लिएका धेरै यस्ता उदाहरणहरु उनको राजनीतिक जीवन यात्रा र ब्यवहारले दिएका छन् ।
नेपाली समाजलाई आमूल परिवर्तन गरेरै छाड्ने दृढ अठोट, संकल्प र साहसका धनी कमरेड पुष्पलालको यस्तो जीवनचर्या विकास हुनुका पछाडि नेपाली जन आन्दोलनको बहुमूल्य शिक्षा रहेको छ । कमरेड पुष्पलाल केवल १३/१४ बर्षको कलिलो केटाकेटी उमेरको मात्र हुँदा नै जहानियाँ राणाशाहीले उनका सहोदर दाज्यु गंगालाललाई गोली हानी हत्या गरेको थियो । ती कलिला यूवाले शोभा भगवतीमा महान शहीद गंगालालको चिता अगाडि उभ्भिएर प्रतिज्ञा गरेका थिए कि ‘जबसम्म जनतालाई जनवादी अधिकार प्राप्त हुने छैन, जबसम्म देशबाट राणाशाही हुकुमी शासनका साथै सामन्ती शोषणको अन्त्य हुनेछैन र जबसम्म दलित, पीडित तथा शोषित मजदुर, किसान जनताले आफ्नो अधिकार प्राप्त गर्ने छैनन् तबसम्म हमेशा क्रान्तिको अग्रिम पंक्तिमा रहनेछुु र आफ्नो सम्पूर्ण जीवन देश र जनताको लागि समर्पित गर्नेछु’ ।
वास्तवमा जसरी रुसमा महान लेनिनका सहोदर दाज्यू अलेक्जेण्डरलाई त्यहाँको सामन्ती जार शासकले फाँसी दिए पछि लेनिनले रुसी जनताको आमूल परिवर्तनको बाटो लिएका थिए त्यसैको समानान्तर जस्तै संयोग कमरेड पुष्पलाललाई पनि प¥यो । आफ्ना दाज्यू गंगालाललाई मृत्यु दण्ड दिएर राणाशाहीले मारे पछि पुष्पलालले पनि आफ्नो जीवन देश र जनताको अग्रगामी आमूल परिवर्तनका लागि अग्रसर गराए । यसरी पुष्पलालको राजनीतिक यात्राको पृष्ठभूमि बनेको थियो । एकातिर यस्तो पृष्ठभूमि अर्कोतिर १९१७ को रुसी समाजवादी क्रान्तिको बिश्वब्यापीरुपमा फैलँदो प्रवाह जसको राजनीतिक हावाले नेपाललाई पनि छोएको थियो र राणाशाही बिरोधी जागरणको एउटा महत्वपूर्ण आधार बनेको थियो, त्यसको प्रभाव पनि पुष्पलालमा प¥यो । त्यतिबेला नेपालको पहिलो संगठित राजनीतिक दल नेपाल प्रजापरिषदमा रहेका आफ्ना दाजु गंगालाल सहीतका उनका साथीहरुले ‘रुसमा धनी गरीब छैनन् रे ! सबै बराबर, त्यहाँ राजा पनि छैनन् रे द्यौता पनि मान्दैनन् रे ! क्रान्ति भए पछि जमिन पनि डेढ गुणा बढ्यो रे ! आदि’ चर्चा गरेको कुरा पुष्पलालको कानमा पनि प¥यो । त्यो उनका लागि एउटा खुलदुलीपूर्ण रोचक प्रसंग नै थियो । नेपाल जस्तो त्यतिबेला राजा महाराजाहरुको बिगबिगी र राणाहरुको जगजगी भएको देश, धनी र गरीब बीचको बिषमता, अशिक्षा, अभाव र असुरक्षा जस्ता कुराले गाँजिरहेको बेला रुसी क्रान्तिको कथा पुष्पलालको बाल मस्तिष्कले सुन्न पाउनु नै पनि एउटा दुर्लभ जिज्ञाषाको कुरा थियो । बस्तुतः ‘भूमि क्रान्ति’, ‘राजाबिहीन गणतन्त्र’, ‘धनी–गरीबरहीत समाजवादी समाज’, र ‘अनीश्वरवादी बैज्ञानिक भौतिकबादी सैद्धान्तिक प्रस्थापना’जस्ता कुराले कमरेड पुष्पलालको मन मस्तिष्कमा घर गर्न थाल्यो र त्यसपछिको आफ्नो सम्पूर्ण जीवन उनले यसै धेयका निमित्त आजीवन सक्रिय तुल्याए । यस क्रममा उनले प्रतिकृयाबादी शक्ति र कम्युनिष्ट आन्दोलन भित्रकै दक्षिण र बामपन्थी अवसरबादीहरुबाट मृत्युपर्यन्त आफ्नो सक्रिय राजनीतिक जीवनभरी जुन र प्रताडना पाए त्यो कम पीडादायक छैन । खासगरी २०२५ सालपछि उनले ‘नयाँ जनबादी कार्यक्रम’ र ‘संयुक्त जन आन्दोलनको नीति’ ‘बामपन्थी एकता’ र ‘संयुक्त मोर्चा’ जस्ता आन्दोलनलाई सशक्त, सबल र एकीकृत तुल्याउने जस्ता महत्वपूर्ण नीति अघि सारेपछि उनका बिरुद्ध यी दुबै खेमाबाट जसरी घेराबन्दी र आक्रमण भयो त्यो नेपाली जनताको आन्दोलनलाई अबरुद्ध पार्ने षडयन्त्रकै तानाबाना थियो भन्ने कुरा पछिल्ला दिनमा आएर आज अझ प्रष्ट भइसकेको र भइरहेको छ । तर पनि पुष्पलाल कस्तै कष्टदायक परिस्थितिमा पनि बिचलित भएनन् बरु सतिशाल झैं खडा भए । वास्तवमा अखण्ड सिद्धान्तनिष्ठा तथा देश जनताप्रतिको शतत समर्पण नै पुष्पलालको पहिचान बन्यो । उनको यो त्याग, शील, गुण र विचार नै अरुका लागि र बिशेषगरी अग्रगामी परिबर्तनका सम्बाहक यूवा–बिद्यार्थी, शोषित पीडित श्रमिजीबी जनता – मजदुर, किसान, महिला, कथित दलित, आदिवासी, जनजाति र सीमान्तिकृत समुदायका निमित्त उनी अजश्र र ठूलो प्रेरणाका पुञ्ज हुन् । नेपाली जन आन्दोलनको इतिहासका अग्रज तथा शीर्षस्थ ब्यक्तित्व – शोषित पीडित बर्गको जन आन्दोलनको इतिहासका खोज र विकासकर्ता तथा धरोहर – कमरेड पुष्पलाल सदा सर्बदा अमर छन् । उनले १५ सेप्टेम्बर १९४९ दिन जुन नेपाल कम्युनिष्ट पार्टी स्थापना गरे त्यस गौरवमय दिनको शुभ अवसरमा उनीप्रति शतत नमन !
तपाईको प्रतिक्रिया