—लोकनारायण सुवेदी
आज १५ सेप्टेम्बर ! कमरेड पुष्पलालको पहलकदमी र नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन ! विश्व क्रान्तिकारी आन्दोनलको एउटा अंगकोरुपमा नेपालमा पनि कम्युनिष्ट आन्दोलनको सुत्रपात भएको हो । देशको आधुनिक राजनीतिक विकासको इतिहासमा १५ सेप्टम्वर १९४९ को दिन यो आन्दोलन विधिवत आरम्भ भएकोले यस दिनको ठूलो ऐतिहासिक महत्व छ । यस दिन देशमा विधिवत र संगठितरुपमा कम्युनिष्ट पार्टीको स्थापना गरियो र कम्यनिष्ट आन्दोलनको संस्थागतरुपमा अघि बढ्न थाल्यो । एकतन्त्रीय हुकुमी राणाशाहीको त्यस घोर कालरात्रीमा कम्युनिष्ट पार्टी स्थापना गर्नु स्वयं मात्र पनि चानचुने कुरा थिएन । त्यसमा पनि सामन्ती तथा साम्राज्यवादी सबैखाले शोषण र उत्पीडनबाट नेपाली समाजलाई मुक्त गर्ने आमूल परिवर्तनकारी कार्यक्रमको उद्घोषकासाथ नयाँ, समुन्नत,सभ्य र शोषणरहीत नेपाली समाजको निर्माण गर्ने स्पष्ट उदेश्य ,ठोस लक्ष्य र दृढ अठोट बोकेको पार्टी स्थापना हुनु गुणात्मकरुपले नै एउटा अत्यन्तै महत्वपूर्ण र दुरगामी प्रभाव पार्ने र जनताको आत्मविश्वास जगाउने आन्दोलनको जग बसाल्ने कदम थियो । वास्तवमा यो पार्टी स्थापनाले मुलुकलाई एउटा नयाँ दृष्टिकोण र नयाँ दिशाको उद्वोधन गराएको थियो । विश्व समाजलाई भौतिकवादी दृष्टिकोणबाट हेर्ने,व्याख्या गर्ने र परिवर्तन गर्ने माक्र्सवादी–लेनिनवादी वैज्ञानिक तथा सामाजिक सिद्धान्तको मार्गदर्शनमा चल्ने र परिचालित हुने यो पार्टीले देशको व्यापक लोकतान्त्रिकरणको कुरालाई नै आफ्नो पहिलो र आधारभूत न्यूनतम लक्ष्य मानेको थियो र अद्यापि मानिरहेको छ । त्यसैले कम्युनिष्ट आन्दोलन लोकतान्त्रिक आन्दोलनको अभिन्न अङ्ग बनेको र उच्च लोकतान्त्रिक मूल्य र मान्यतालाई यस आन्दोलनले आत्मसात गरेको छ भन्नु अत्युक्ति हुने छैन । यस आन्दोलनलाई लोकतान्त्रिक आनदोलनका विरुद्ध उभ्याउने खालका गतिविधिहरु पनि नभएका होइनन् र अद्यापि हुँदै आएका पनि छन् । तर सामाजिक न्याय,समानता र समुन्नति नै प्रजातन्त्रको उदेश्य हुनु पर्ने कुरामा यसले सबैभन्दा बढी जोड दिन्छ र तिनै कुरालाई लोकतन्त्रको मूल आधार मान्दछ ।
हुनत नेपाली कम्युनिष्ट आन्दोलन भित्र अनेक अन्तरविरोधहरु रहेका छन् । ती मध्ये कतिपय अन्तरविरोधहरु निकै महत्वपूर्ण र आधारभूत प्रकृतिका छन् भने कतिपय हलुका खालका र प्रायोजित प्रकृतिका पनि छन् । खाशगरी नेपाली क्रान्तिको स्वरुप र चरित्र जस्ता गम्भीर कुरामा पनि सैद्धान्तिक एवं वैचारिक किसिमका समस्याहरु रहेका छन् भने नेपाली जनताको मुख्य दुश्मन घरेलु सामन्तवाद हो कि पूँजीवाद हो भन्ने प्रश्न अहिलेसम्म पनि उठ्ने उठाइने गरेको छ । कसैले समान दुश्मनको गैर माक्र्सवादी सोचका आधारमा पनि कुरा उठाएका छन् भने कतिपयले सामन्तवाद पतनोन्मुख भएकोले पूँजीवाद नै आजको मूख्य दुश्मन हो भन्ने ठहर पनि गरेका छन् । अनि कतिपयले देशको आर्थिक पद्धति र सामाजिक संरचना तथा वाह्य दवाव र प्रभावका आधारमा अहिले नेपाली समाजको अग्रगामी विकास र प्रगतिको मुख्य वाधक तत्व घरेलु सामन्तवादले नेतृत्व गरेको दलाल पूँजीवाद र वाह्य साम्राज्यवाद तथा एकाधिकार पूँजीवाद हो भन्ने कुरालाई प्रष्टसङ्ग औंल्याएका छन् । मुलुकको लोकतान्त्रिक आन्दोलनको वर्तमान चरणमा यो दृष्टिकोण र विचार वढी वस्तुगत यथार्थमा आधारित सही र सामयिक प्रमाणित भएको छ । नेपाली राष्ट्र र जनताले भोग्दै आएका र भोगिराखेका सामन्ती, अर्धसामन्ती र साम्राज्यवादी शोषण र थिचोमिचो तथा नेपाली जन जीवनका यथार्थ अनुभवहरुले पनि यो कुराको पुष्टी गर्दछन् । बस्तुुतः समग्र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिकोे ठोस मूल्याङ्कन गर्ने कसैले पनि के कुरा इन्कार गर्न सक्दैन भने नेपाली जनतालाई शोषण दमन गर्ने सामन्त तथा दलाल नोकरशाही वर्गीय सामाजिक राजनीतिक शक्तिहरुको कारण र परिणाम नै आजको मुलुकको तस्वीर हो । यो तस्वीर वदल्नको लागि अग्रसर हुनु पर्ने कार्यभार नै आजको कम्यनिष्ट आन्दोलनको मूख्य दायित्व र लोकतान्त्रिक कार्यभार हो भन्ने कुरा एकदमै प्रष्ट छ ।
हुन पनि एउटै सिङ्गो पार्टी रहुञ्जेलसम्म नेपाल कम्युनिष्ट पार्टीको जन्म दिन वा स्थापना दिवस बारेमा कुनै मतभेद थिएन । २००६ सालदेखि २०१९ सालसम्म १५ सेप्टेम्वर नै पार्टीको आधिकारिक स्थापना दिवस वा जन्म दिनकोरुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा मान्यता प्राप्त र सर्व स्वीकार्य दिन थियो । तर कम्युनिष्ट पार्टीमा विभाजन र विखण्डन हुन थालेपछि स्थापना दिवसको विवाद पनि अनावश्यक रुपमा उछालियो । इतिहास, परम्परा,मूल्य,मान्यता सबै कुरालाई जानाजान वा अञ्जानमा बेवास्ता गर्दै पार्टीको विभाजन र विखण्डनसंगै एक पछि अर्को विभाजित घटकहरुवाट पार्टीको जन्म दिन नै फेर्ने र विवाद सिर्जना गर्ने काम भयो । पार्टीका आधिकारिक र ऐतिहासिक दस्तावेजहरु र पार्टीका महाधिवेशन तथा सम्मेलन जस्ता सर्वाेच्च अङ्गहरुका निर्णयहरुलाई ठाडै उल्लंघन गर्दै प्रायोजित किसिमका वक्तव्यवाजीका भरमा पार्टीको जन्म दिन फेर्ने जस्तो हास्यास्पद कार्य गरियो वा गराइयो । यसरी कृत्रिम किसिमले अन्य कुराका अतिरिक्त पार्टीको स्थापना दिवस समेतमा विवाद र वखेडा झिकिए पछि देशको कम्युनिष्ट आन्दोलनप्रतिको जन विश्वासमा आँच त पुग्यो नैे अनावश्यकरुपमा भ्रम पनि सिर्जना हुँदै आयो । पार्टीको इतिहासमा कुनै गम्भीर गल्ती भएको र त्यसले देशको जनवादी आन्दोलनलाई अघि बढाउन बाधा अवरोध पु¥याएको भए त्यसलाई समयमै ठीक प्रकृयावाट पार्र्टीको सर्वोच्च अङ्गमा राखेर सच्च्याउने,सुधार्ने वा मौलिक परिवर्तन गर्ने कुरालाई वुझ्न सकिन्छ । तर पार्र्टीको तेश्रो महाधिवेशनसम्म यो कुरा कतै कसैले पनि उठाएन । वरु २००८ सालमा भएको पार्टीको पहिलो सम्मेलनले पार्टीको जन्म दिन १५ सेप्टेम्वर र पार्टीको कार्यक्रम नयाँ जनवादी कार्यक्रम हो भन्ने कुरा यकिन ग¥यो र पारित पनि भयो । त्यत्तिबेला त्यसमा कसैले न विमति जनायो न विवाद नै ग¥यो । वास्तवमा त्यसो गर्नु पनि आवश्यक नै थिएन ।
निश्चय नै नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने हेतुले २००६ साल वैशाख १२ गते भारतको कलकत्तामा पार्टी निर्माण गर्ने एउटा संगठन कमिटी बनाएर त्यसले नेपाली जनतालाई अपील गर्दै एउटा पर्चा प्रकाशित गरेको इतिहास तथ्य–कुरा हो । कम्युनिष्ट पार्टी स्थापना गर्न अपिल गरिएकोले त्यो पर्चा पहिलो पर्चाको नामले परिचित पनि छ । कम्युनिष्ट पार्टीको संस्थापना गर्नका निमित्त बनाइएको कमिटी हुनाले नै त्यसका सदस्यहरुलाई संस्थापक सदस्य भनिएको र मानिएको कुरा पनि सवैमा प्रष्ट नै छ । कम्युनिष्ट पार्टी निर्माण गर्ने कुरामा लामो चिन्तन र गृहकार्य गरेर मात्र त्यो संगठन कमिटी बनाइएकोे कुरा नेपाल कम्युनिष्ट पार्टीको संक्षिप्त इतिहास नामक कृतिमा कामरेड पुष्पलालले प्रष्ट उल्लेख गरेको पाइन्छ । त्यस कमिटीले काम गर्दै गएर अर्थात आवश्यक गृहकार्य पछि १५ सेप्टम्वर १९४९ का दिन आर्थात २००६ साल भाद्र ३० गते पार्टीको घोषणापत्रकासाथै केन्द्रिय संगठन समितिको पनि विधिवत घोषणा भयो र त्यसले नै पार्टीको प्रथम सम्मेलन गरायो भन्ने यथार्थ यसको इतिहासले प्रष्टसँग दर्शाएको छ । यसका लागि न पार्टी जन्म दिन पत्ता लगाउन आयोग गठन गर्न जरुरी थियो न त्यस्तो आयोगले इतिहासलाई नै तोडमोड गर्दा कम्युनिष्ट पार्टीको जन्म दिन विलोप हुन्थ्यो । इतिहास आफै सत्य बोल्छ । त्यसमाथि थोपरिएका कृत्रिम कुराहरुले सधै त्यसलाई ढाकछोप गरिरहन सक्तैनन् भन्ने वैज्ञानिक सत्य र तथ्य हो । झुटा र कृत्रिम कुरा गरेर आमूल परिवर्तनको अभियानलाई सही किसिमले अघि बढाउन विल्कुलै मद्दत पुग्दैन । योे ध्रुव सत्य कुरा नै हो । बेग्ला बेग्लै वाम कम्युनिष्ट समूह गठन गरेपछि तिनका जन्म वा स्थापना दिन पनि फरक फरक हुनु बुझ्न सकिने कुरा हो । तर बेग्लै समूह बनाएको नाममा इतिहाससंग नै खेलवाड गर्नु र इतिहासलाई जिस्क्याउनु विल्कुलै अशोभनीय र माक्र्सवादी चिन्तन तथा चरित्र विपरीत कुरा हो । आजको जटील राष्ट्रिय तथा अन्तरराष्ट्रिय यथार्थलाई ध्यानमा राखेर वाम एकताको आवश्यकतालाई मूर्तरुप दिने र नेपाली जनता र राष्ट्रलाई अग्रगामी दिशामा डो¥याउने हो भने विगतका गल्ती कमजोरीहरुलाई सच्च्याएर जनताको आत्मविश्वास जगाउने १५ सेप्टेम्वरको मर्म र भावनलाई आत्मसात गर्ने दिशामा अग्रसर हुनै पर्दछ । यो बाहेक यसको अरु कुनै रचनात्मक विकल्प पनि छैन । यो महत्वपूर्ण दिनलाई अभिवादन गरौं र सही दिशामा अघि बढौं ! अमर १५ सेप्टेम्बर !!
तपाईको प्रतिक्रिया