– जय प्रकाश बगाले
विश्वका सबैजसो कामका लागि मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुपर्छ,हुन आवश्यक पनि छ । संसारमा काहिँकतै कुनैपनि त्यस्तो पद र नियुक्ति छैन जहाँ रोगी मानिस नियुक्त होस् वा रोगी मानिसले नेतृत्व गरिरहेको होस् । तर अचम्म ! नेपालमा भने त्यो भइरहेको छ, जहाँ राज्यको महत्वपूर्ण/गरिमामय मन्त्री, प्रधानमन्त्री वा सांसद हुनका लागि स्वास्थ्यको त कुरै छैन, उमेर बढी भएका, रोगी र असक्तहरुको बाहुल्यता छ, बाहुल्यता मात्रै होइन सिन्डिकेट समेत छ, न कसैले त्यसको विरोध गर्ने ताकत राखेका छन्, न त गरिब दुःखी जनताको नेतृत्व गर्नेलाई नै त्यसको मतलब छ, मतलब त पद र प्रतिष्ठामा मात्र छ । रोगी हुन् या अशक्त उनीहरु सबैको आँखा पदमै गडेको देखिन्छ । देश विकास गर्ने कार्यमा आफ्नो स्वास्थ्यले साथ दिएको छ कि छैन ? त्यो समेत ख्याल गर्दैनन् । पदमा पुगेपछि त्यही पद र प्रतिष्ठाको नामबाट राज्यको ढुकुटी रित्याउदै उपचारका नाममा विदेश जाने प्रवृती विद्यमान रहेको छ ।
स्वस्थ्य अवस्थाकै कारण हाम्रा प्रधानमन्त्रीले कति संवादहरु छुटाए, कतिपल्ट संसदमा अनुपस्थित भए, उपस्थित हुँदा पनि कति अशक्त भएर कति समस्या खेपेर संसदमा जवाफ दिन बसेका थिए भन्ने हामीले पछिल्लो समय प्रधानमन्त्रीले संसदमा जवाफ दिने क्रममा देखेकै थियौं । कतिपल्ट पार्टिको बैठकमा अनुपस्थित भए त्यसको त कुनै हिसाब छैन । स्वास्थ्यमा गम्भीर समस्या पर्दा समेत प्रधानमन्त्रीले देशको अवस्थाबारे चिन्ता लिनु प्रशंसा योग्य छ । तर सधैं यसरी रोगी शरीरले आफ्नो स्वास्थ्यमा असर पार्दै सत्ता संचालन केहिलेसम्म गर्ने ? प्रधानमन्त्रीले उपचारका लागि झण्डै एउटा हाइड्रोपावर बनाउन पुग्ने रकम खर्च भएको छ भन्दा फरक नपर्ला । राष्ट्राध्यक्षको रुपमा प्रधानमन्त्रीले गर्नुपर्ने कार्यहरु धेरै थिए । कति रणनैतिक, दुरगामी योजनाहरु आउनुपर्ने थिए । प्रधानमन्त्री बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री को भेटघाट र छलफल कम छ । कोरोना महामारी नियन्त्रणमा सुरक्षा निकायका बैठक र विज्ञसंगको छलफल हुन सकेका छैनन, आफैंले योजना बनाएर आफ्नै अग्रसरतामा गर्नुपर्ने यस्ता थुप्रै एजेन्डाहरु थन्किएका छन् । पहिरोले पुरिएका वस्ती हेर्न प्रधानमन्त्री पुग्न सकेका छैनन् । प्रधानमन्त्रीको अनुपस्थितिमै बैठक बस्नुपर्ने बाध्यताको सृजना भएको छ । सांसद, प्रधानमन्त्री आफै उपस्थित हुन नसकेर प्रधानमन्त्रीको नाममा अरुले बोलेर बैठक टार्ने प्रयास भए पनि यसरी कति दिन टर्ला र ? प्रधानमन्त्री आफै उपस्थित भएर नबोलेसम्म बैठकले पुर्णता पाएको मान्न सकिन्न । प्रधानमन्त्री बालुवाटारबाट बाहिर निस्किन नसक्दा बैठक प्रधानमन्त्री निवासमै डाकिने गरेको पनि धेरै भइसकेको छ । बालुवाटारबाट बाहिर ननिस्किने आफ्नो प्रधानमन्त्रीको कार्यालयमा नजाने गर्नाले अब त सिंहदरबारको प्रधानमन्त्रीको कार्यालयमा जालो पनि लागिसक्यो होला । पार्टीका बैठकहरु पार्टी कार्यालयमा हुन छाडे । स्वस्थ्यका कारण पार्टीको बैठक समेत बालुवाटारमै गर्न बाध्य प्रधानमन्त्री रोगी भएकै हुनाले यो सब भएको हो भन्दा फरक नपर्ला । रोगी र अस्वस्थ शरीरले अब कहिलेसम्म सरकार चल्ने हो ? सबैको जिज्ञासाको विषय बनेको छ ।
हालैमात्र जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यमा समस्या देखिएका कारण राजिनामा दिएकोबाट पनि नेपालका उच्च पदस्थ व्यक्तिहरुले बुझ्नुपर्ने हो । तर नेपालमा भने यस्तो हुन सकिरहेको छैन । कोहि मानिस अस्वस्थ हुनु उसको लागि दुर्भाग्य नै पनि होइन, रोगी मानिसले काम नै गर्न मिल्दैन भन्ने पनि होइन, सबै मानिसले अवसर पाउनुपर्छ । रोगीहरूको काम नै छैनन् भन्ने सवाल नै होइन । यद्यपि राज्य संचालनको प्रमुख व्याक्ति रोगी र अशक्त हुँदा राज्यले ठुलो नोक्सानी बेहोर्नुपरेको यथार्थ जगजाहेर नै छ । तरपनि हाम्रो देशका रोगी नेताहरुलाई यो कुराले कुनै असर नै नपरेको महसुस हुन्छ । नेपालको राजनीतिक नेतृत्वमा विभिन्न कालखण्डमा विभिन्न व्यक्तिहरु सांसद, मन्त्री, प्रधानमन्त्री नभएका त होइनन् । ति विगतमा संक्रमणकालीन अवस्थाका उदाहरणहरुलाई देखाएर अहिलेको स्वभाविक भन्ने गुन्जायस पनि छैन । बरु त्यसको पाठ सिकेर अघि बढ्नुपर्ने हो । स्वस्थ्य मानिस पदमा रहँदाको कार्यसम्पादन र अस्वस्थ मानिसको कार्यसम्पादनमा फरक पर्ने कुराको पुष्टि गरिरहनु नपर्ला । तर पनि रोगी मानिसले पद ओगट्ने र त्यही पदको दुरुपयोग गरी जनताको करबाट आर्जित राज्यको ढुकुटि उपचारको नाममा विदेशी हस्पिटलमा बुझाउने परिपाटीले देशको स्वास्थ्य क्षेत्रलाइ गिज्याइरहेको छ ।
राजनैतिक नेतृत्वमा रहेका व्यक्तिहरु पद र प्रतिष्ठाको लागि राजनैतिक नैतिकता नै बिर्सिने चलन बढेको छ । यससँगै विभिन्न रोगको बाहनामा, उपचारको बाहनामा लाखौ रकम खर्च गर्ने, विदेशमा गएर उपचार गर्ने प्रचलन त पुरानो होइन । राजनैतिक पदमा पुगेपछि राज्यकोषबाट व्याक्तिगत स्वास्थ्य उपचार गर्ने लिस्टमा सायदै कम होलान् । राज्यको गरिमामय पदमा रहेका व्याक्तिको स्वास्थ्यको अवस्थामा जनताको चासो हुनु स्वाभाविक होला केहि हदसम्म राज्यकोषबाट उपचार गर्नु पनि त्यति अत्युक्ति नहोला, तर उपचारै गर्नका लागि मन्त्री प्रधानमन्त्री बन्ने र राज्यकोषको दोहन गर्ने परिपाटी चै ठिक भएन । विशिष्ट’ व्यक्तिहरुको उपचारमा भएको खर्चले राज्यकोषको सहि सदुपयोग नभएको अवस्था छ । उच्च पदस्थ व्यक्तिहरु उपचारका लागि राज्यकोषबाट करोडौं रुपैयाँ खर्च गर्दा जनताले तिरेको करको सुविधा जनताले भोग्न पाएका छैनन् । यसबारे अझ सत्ता सञ्चालकहरु सचेत नभइदिँदा राज्यको ढुकुटी यसरी नै सकिने क्रम चलिरहने छ । हाम्रो सत्ता सञ्चालकहरुले यसप्रति मनन गर्नु जरुरी छ ।
तपाईको प्रतिक्रिया