काठमाडौं । वायु सेवा सञ्चालक संघले पूर्ण क्षमतामा यात्रु राखेर मात्रै सेवा दिने नभए उडान नगर्ने निर्णय गरेको छ ।
पूर्ण क्षमतामा यात्रु राखेर सेवा दिन नपाएसम्म उडान नै नगर्ने निर्णय गरेको हो ।
५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका उनीहरूले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा ५० प्रतिशत यात्रु राखेर उडान सम्भव नभएको प्रष्ट्याएका छन् ।
कोरोना भाइरसको महामारीले आर्थिक गतिविधि चलायमान हुन नसकेका बेला सिट क्षमताका ५० प्रतिशत मात्रै यात्रु राख्दा भाडा महंगो हुने र यात्रुले बेहोर्न नसक्ने भएकाले उडान सुरू गर्नुको औचित्य नभएको उनीहरूको ठहर छ ।
भारत लगायतका अन्य मुलुकमा खोलिएको आन्तरिक उडानमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सिट क्षमता अनुसारकै यात्रु राख्न दिइएकाले नेपालमा पनि त्यस्तै व्यवस्था गर्न माग गरिएको संघका प्रथम उपाध्यक्ष अनोज रिमालले जानकारी दिए ।
सरकारले व्यवहारिक निर्णय नगरेसम्म असोज १ देखि सुरू गर्ने भनेको आन्तरिक उडानको सेवा दिन नसकिने उनले जनाएका छन् । यही व्यहोराको पत्र बुधबार नै मन्त्रालयलमा दर्तासमेत गरिएको उनले बताए ।
नेपालमा कोरोना भाइरसको संक्रमणको दोस्रा संक्रमित देखिएपछि सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेपछि आन्तरिक उडान बन्द हुँदै आएको छ ।
नेपाली उद्धार गर्न नियमित अन्तर्राष्ट्रिय उडान र चार्टर उडान खुला भइसके पनि आन्तरिक उडान नखोलिएको भन्दै हवाई सेवा सञ्चालकहरूले छिटो उडान खुला गर्न दबाब दिदै आएका थिए ।
व्यवसायीकै दबाबले असोज १ देखि उडान खुला गर्ने सरकारले निर्णय गरे पनि कतिपय सर्त व्यवहारिक नभएको भन्दै उनीहरूले त्यसमा असहमति जनाएपछि तत्काल आन्तरिक उडान सुरू नहुने संकेत देखिएको छ ।
तपाईको प्रतिक्रिया