– लोकनारायण सुवेदी–
विश्वभरी नै आज अर्थ–सामाजिक व्यवस्थाहरु परिवारको दायराबाट निकै टाढा पुगिसकेका या पुगिरहेका छन् र भावनात्मक भन्दा पनि ती बढी औपचारिक बनिरहेका छन् । अर्थ–सामाजिक परिवर्तनसँगसँगै आएको यो पारिवारिक विचलन बिघटनका कारण अब दाजु–भाइ, दिदि–बहिनी, माता–पिता, काका–काकी, हजुर बा–हजुर आमाहरुको स्वभाविक र भावनात्मक सम्वन्धले नयाँ अनुसन्धान र खोजबिनको व्याकरण लेख्न थालेको प्रतीत हुन्छ । यो परिपक्क हुन कति समय लाग्ने हो अहिले नै भन्न सकिने स्थिति भने छैन । तर परिवार बिघटन र संक्रमणको संकट भने आइनैसकेको र आइरहेको छ ।
यद्यपि ‘परिवार’ भन्ने बित्तिकै मानव अस्तित्वको एउटा बिस्तृत फलकमा फैलिएको आधारभूत सामाजिक इकाईको अस्तित्व बुझिन आउँदछ । शब्दकै अर्थ मात्र खोज्ने हो भने पनि सँस्कृत भाषामा ‘परि’ शब्दले दायरा या एउटा बृत्तप्रति संकेत गर्दछ, अर्थात त्यस्तो अर्थ–समाजिक संरचना जसले व्यक्तिलाई आवद्ध गरेर या घेरेर या आवेष्ठित गरेर राख्दछ त्यही नै परिवार हुन्छ । परिवारको दायरा र केन्द्र दुबैले एक अर्कालाई परिभाषित गर्दछन् । तर परिवार अर्थात यो सम्बन्धहरुको दायरा अपरिभाषित जस्तै छ । किनभने यसको कुनै निश्चित आकार हुँदैन । कुनै परिवारको आकार ठूलो हुन्छ जसमा परिजन र टाढाका नातेदारहरुपनि सामेल भएका हुन्छन् । परिवारका सदस्यहरको नाता सम्वन्धमा अधिकार पनि हुन्छ सानो र ठूलोको हिसाबले । जब यी सदस्यहरुका बीच सन्देह उत्पन्न हुने गर्दछ, ईष्र्या बढ्दछ, परस्पर अहं टकराउने गर्दछ, द्वेष पैदा हुन्छ त्यतिबेला यो सम्वन्ध टुट्ने या बिखण्डित हुने स्थिति उत्पन्न हुनसक्छ र हुन्छ पनि । यद्यपि पूर्वीय समाजमा परिवारवादिता एउटा पहिचानहरु मध्येमा एउटा सबैभन्दा ठूलो पहिचान या निशाना जस्तै मानिन्छ, मानिदै आएको छ । तर के भने पहिला पहिला परिवार ठूलो हुन्थ्यो, संयुक्त परिवार रहेको हुन्थ्यो । अब त्यो स्थिति क्रमश बिघटनतिर गइरहेको छ ।
आज स्थिति यस्तो हुँदै आए पनि पूर्वीयाहरु ‘बसुधैब कुटुम्बकम’ को अवधारणामा पनि आधारित रहेको कुरा भन्दै र मान्दै पनि आएका छन् । यसमा रक्त सम्वन्धको आवश्यकता पनि रहँदैनथ्यो र रहन्न । जो कोही पनि यो परिवारमा सम्मिलित हुन सक्दथ्यो र सक्दछ । यद्यपि अब पछिल्लो समयमा आएर भने यो पारिवारिक दायरा पनि संकुचित हुँदै गइरहेको देखिन्छ । किनकि पूर्वीय समाज पनि ‘परिवार’बाट ‘फेमेली’तिर आकर्षित हुँदै गयौं । यसको प्रष्ट र द्विबिधारहीत अर्थ के हो भने त्यसमा केवल – पति, पत्नी र तिनका आवश्यक सन्तान – मात्र हुन्छन्, अरु सदस्य पर्दैनन् । यद्यपि यताको पुरानो पूर्बीया समाजमा भने परिवारको केन्द्रियता अद्यापि छाइनै रहेको र कायम छ । अझ परम्पराका आधारमा हेर्ने हो भने त परिवार देश, काल र पात्रका दृष्टिले एउटा खाश संरचना हुने गर्दथ्यो । पहिला परिवारको स्थायी आवास हुने गर्दथ्यो । त्यसलाई विश्वकै एउटा समुच्चा रुपको प्रतिकृति(मिनिएचर) जस्तै मानिन्थ्यो । परिवार अपेक्षातया स्थिर (देश)मा रहने गर्दथ्यो, काल बद्लिन्थ्यो र पात्र पनि जन्म–मृत्युका कारण र हिसावले ढिलो चाडो बद्लिने गर्दथे । तर परिवार या खानदानबाट मानिसहरुको या व्यक्तिको पहिचान हुने गर्दथ्यो र यसरी परिवारको अवधि व्यक्ति वा व्यक्तिहरुभन्दा लामो हुने गर्दथ्यो । अनि स्वभावैले पूर्वीय परिवारको संरचना घरको अवधारणासँग जोडिएको हुन्थ्यो । बस्ने, उठ्ने, खाने, पिउने कुरा अनि व्यवहार–कारोबारको सबैको व्यवस्थापनमा एउटा अलिखित अनुशासन पनि हुने गर्दथ्यो, जसको परिपालना गर्नु गराउनु परिवारको स्वभाविक सामाजिक व्यवस्थाको अंश मानिने गरिन्थ्यो । यद्यपि मूल परिवारसँग टाढा रहनु पर्ने स्थिति कतिपय मानिसहरुको नोकरी, रोजगारी आदिका कारण आवश्यक बन्न जान्थ्यो । पति र पछि पत्नी समेत गाउँघर छोडेर शहर, महानगर र बिदेशतिर समेत जान थालेपछि मानिसहरुका बीच त्यसबाट उत्पन्न समस्याहरु देखापर्न थाले । यस क्रममा कतिपय मानिसले गाउँघरमा विवाहिता पत्नीलाई छोडेर शहरहरुमा नयाँ जीवन बिताउन पनि थाले । वैवाहिक संस्थाले पनि रुप बदल्दै आयो । आज यौनिकता र नैतिकतालाई पनि नयाँ किसिमले या भिन्न किसिमले हेर्न थालिएको छ । सम्बद्ध बिच्छेद र पुनर्विवाह स्वाभाविक मानिन थालिएको छ । समाजिक, शैक्षिक र भौगोलिक कारणहरुबाट समेत ठूलो मात्रमा पारिबारहरुको बिस्थापन आरम्भ भयो । मानिसहरु दूर–दराजका सुदूर गाउ–घर छोडेर अन्यत्र जान र रहन थाले, आफुखुशी जीवन बिताउने आशा लिएर, सुखमय र सुन्दर जीवन र आजीबिकाका अवसरहरुको खोजीमा घर–परिवार छोडेर बिदेश जान थाले । अनि गएकाहरुमध्ये कतिपय या धेरैजसो उतै बस्न पनि थाले । बिस्तारै बिस्तारै परिवारको एउटा वितरित या छरिएको स्वरुप मौलाउन या हुर्किन थाल्यो । निकटता र पारस्परिकता कम हुन थाल्यो । सम्पर्कको निरन्तरता घट्दै जान थाल्यो । संयुक्त (ज्वाइण्ट)परिवारको ठाउँमा एकल (न्यूक्लियर) परिवारको प्रचलन बढ्दै जान थाल्यो । यद्यपि अहिले पनि कतिपय संयुक्त या बिस्तारित (एक्सेटेण्डेड) परिवार कायम रहिरहेका छन, तिनले टाढा टाढा भए पनि जोडिने, सम्पर्कमा रहिरहने र परस्पर सर–सहयोग गर्ने स्थिति अबश्य पनि कायम रहने राख्ने प्रयत्न पनि जारी रहेको देखिन्छ ।
अनि आज त अर्कोतिर मातृत्व र पितृत्व बिना पनि मानिसहरु जिउन या जीवन गुजारा गर्न चाहन्छन् । बाध्यतावश या आफुखुशी कसैलाई यो छुट अवश्य होला कि कोही एकल मातासँग बसुन या कोही एकल पितासँग । अहिले त जैबिक दृष्टिले पनि आमाको अर्थात मातृत्वको समेत बिकल्प आइसकेको छ । अब त के पनि सम्भव भएको छ भने अरुको कोख किनेर पनि बच्चा पाउने पद्धति(जसलाइ रिमोट जैबिकताको संज्ञा दिन थालिएको छ)को पनि विकास हुन थालिसकेको छ र यसैबाट मातृत्वको सुख लिन पनि थालिएको छ । यसरी आज परिवारको जीवन बिस्तार र परिचालनको स्वरुप बद्लिदै गएको छ । आजको बद्लिएको स्थितिमा अब त एपार्टमेण्टको घर पनि स्थायी नरहने स्थिति विकसित भइरहेको छ । अब स्थाई त केवल प्यान नम्बर, आधार संख्या र त्यसमा सरकारी निगाह मात्रै नित्य रहने स्थिति बिकसित हुँदै र देखिदै आएको छ । अरु बाँकी सबै कुरा यस संसारमा अस्थाई नै रहने देखिएको छ । बिकसित देशहरुमा आवास पनि आज ‘घरसंख्या र पिन कोड’बाट जान्न थालिएको छ र मानिसहरुले स्थान बद्लिइरहने स्थिति बनेको छ ।
बद्लिदो यस संक्रमणको समयमा बालबच्चाहरुको लालन पालन, वृद्ध वृद्धाहरु तथा असक्तहरुको समस्या पनि आज नयाँ किसिमले समाधान खोजिन थालेको र खोजिदै गरेको अबस्थाबाट विश्व गुज्रिरहेको छ । यस अबस्थामा बाल बच्चाको पालन पोषणको समस्या, बृद्ध तथा असक्त नागरिकहरुका समस्या,बिभिन्न कठिनाईमा परेका परिजनहरुका समस्याहरुको नयाँ किसिमले समाधानको खोजी हुनु हुनुपर्ने देखिन्छ र हुदैछ । स्पष्ट कुरा के छ भने अबको सामाजिक ब्यवस्था पारिबारिक दायराभन्दा बाहिर जान थालेको छ र यो केवल औपचारिक बन्न थालेको छ । यी परिबर्तन र बिचलनलाई हेर्दा के प्रतीत हुन्छ भने दाजु– भाइ, दिदी–बहिनी,माता–पिता, हजुर बा–हजुर आमा आदि बीचको स्वाभाविक पारस्परिक सम्वन्ध अब के हुन्छ भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ र यस कुराको खोजबिन हुन थालेको छ । तिनको नाप–तौलको नयाँ सामाजिक ब्याकरण लेख्न थालिएको छ । हुन पनि आज संसार सबै नै सामाजिक परिवर्तनको नयाँ सघारमा खडा छ जहाँ अरुसँग छुट्टिएर आरामले एक्लो जीवन बिताउने आवश्कयता परिपक्क हुन निकै समय लाग्ने देखिदैछ । यसले बेग्लै परिबेश निर्माण हुने सामाजिक स्थितिको प्रादुर्भाव हुने देखिन्छ । यद्यपि परस्पर जोडिने सामाजिक सञ्जालहरुको ब्यापक बिकासले पारस्परिक स्थितिलाई अर्को किसिमले बिकास गर्ने सम्भावना पनि उत्तिकै छ । त्यो सम्बन्ध कत्तिको न्यानो र निकट हुने हो त्यो भने प्रतिक्षा र परीक्षाकै घडीबाट गुज्रिरहेको देखिन्छ ।
तपाईको प्रतिक्रिया