धनुषा । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेल धनुषाको खजुरीमा आइपुगेको छ । रेल हेर्न अहिले स्थानीवासीहरुको जनकपुरधाम वरिपरिका क्षेत्रमा भीड लागेको छ ।
रेल अबको केहीबेरमा जनकपुर आइपुग्ने जनाइएको छ । सञ्चालनको तयारीमा रहेको नेपालको एक मात्र रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर आएको हो ।
भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पाेरेसन लिमिटेडसँग नेपाल सरकारले खरिद गरेको दुईसेट रेल शुक्रबार दिउँसो जनकपुरमा रेल विभागलाई कम्पनीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ । दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको छ ।
रेल सेवा सञ्चालनका लागि कर्मचारी भर्ना लिन विभागले आवेदन आह्वान गरिसकेको छ ।
भारतको जयनगर–जनकपुर तथा जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर पर्छ । जसमध्ये जयनगरदेखि नेपाली सीमा इनरुवासम्म ३ किलोमिटर भारतीय भूमि रहेको छ ।
तपाईको प्रतिक्रिया