– लोकनारायण सुवेदी
रुसमा चीन र भारतका विदेश मन्त्रीहरुकाबीच भएको वार्ताका अनुरुप दुई देशबीच तनावपूर्ण सम्बन्धको स्थितिमा खाशै परिवर्तन आउने अपेक्षा गर्न सकिने आधार विकसित भएको देखिएको छैन । अनि तत्काल असैनिक युद्ध जारी रहे पनि सैनिक युद्ध भइहाल्ने अवस्था पनि छैन । हुन पनि १९६० को दशकमा चीन र भारतका बीच युद्ध भएयता दुई देशका बीच रहेको सीमा विवाद अद्यापि कायमै छ । यद्यपि यो सीमा विवादलाई थाँती राखेर अन्य क्षेत्रमा दुई देशका बीच खाशगरी व्यापारमा ठूलो आदान प्रदान भइहरहेको छ । तर पनि बेला बेलामा दुई देशका बीच परस्पर द्वन्द्व र झडपका घटनाहरु घट्ने गरेका छन् र तिनले निकै ठूलो मूल्य पनि चुकाउने गरेका छन् ।
यस्तै परिस्थितिका बीच पछिल्लो पटक चीनका लागि जासुशी गरेको आरोपमा भारतका एक वरिष्ठ पत्रकार राजीब शर्माको गिरफ्तारीले भारत–चीन सम्बन्धका बीच चलिरहेको यो विवादले नयाँ आयाम लिएको बिश्लेषण गरिदैछ । भारतीय पक्षले यसबाट के पनि खुलस्त भएको औंल्याउँदैछ भने चीनले भारतमा जासुसी सूचनाहरु एकत्र गर्नका लागि एउटा सञ्जाल पनि खडा गरेको छ । त्यस्ता विदेशी नेटवर्क खडा गरिनु कुनै नयाँ कुरा होइन भन्ने पनि भारतीय पक्षको निष्कर्श छ । अमेरिका समेत पश्चिमा देशहरुका विभिन्न एजेन्सीहरुको भारतीय शासनतन्त्रमा घूसपेठका अनेकौ मामिलाहरु अतीतमा प्रकाशमा आइसकेका कुरा हुन् भन्ने पनि उनीहरु प्रष्ट पार्दछन् । तर त्यस प्रकारका कृयाकलापमा चीन पनि थपिएको सम्भबतः पहिलो पटक भारतीय पक्षले आरोप लगाएको छ ।
जहाँसम्म भारत–चीन बीचको सीमा सम्बन्ध छ यो त बिगतदेखिनै गतिरोधपूर्ण स्थितिमा रहेकै छ । ‘लाइन अफ एक्च्युअल कण्ट्रोल’ अर्थात ‘वास्तविक नियन्त्रण रेखा’का दुबै तर्फ हजारौं संख्यामा ठूलो सैन्य उपकरणकासाथ दुबै देशका सैनिक तैनाथ गरिएका छन् । चीन र भारत दुवैले शीतकालीन स्थितिको पर्बाह नगरी दुवै देशले सैन्य पंक्ति खडा गरिराखेको देखिन्छ । यसमा भारत चीनलाई समस्या लम्ब्याउन आँखा चिम्लेर लागेको आरोप पनि लगाइराखेको छ र यसले भारतलाई समस्यामा घिस्याउन खोजेको भनिरहेको छ । चीनले भने भारत कसैको उक्साहटमा सीमा विवादलाई चर्काउन खोजिरहेको औंल्याएको छ । कतिपय रक्षा विशेषज्ञहरु भने दुई देश बीचको यस स्थितिले कुनै पनि बेला सानो या ठूलो युद्ध भड्किन सक्ने स्थिति औंल्याइरहेका छन् । आश्चर्य के पनि छ भने बितेको केही समययता दुबै देशका बीच सैन्य तथा कूटनीतिक स्तरमा परस्पर वार्ताका अनेक श्रृंखला पनि चल्दै आएका छन् । तर समस्या हल हुने स्थिति अझै पनि बनेको देखिएको छैन । दुबैले एक अर्कालाई हठधर्मिताको आरोप लगाउन पनि बाँकी राखेका छैनन् । यतिसम्म कि भारतका प्रधानमन्त्री मोदीले त चीनलाई बिस्तारबादी भन्ने संज्ञा दिन पनि पछि परेका छैनन् ।
यस परिदृष्यमा भारत चीनसँगको मामिलामा तिब्बत र ताइवानको मुद्दा उठाउने र कार्ड खेल्ने हिसाब किताब पनि गर्न थालेको प्रतीत हुन्छ । यसले अमेरिकी–भारत धूरीको अस्थाई नै सही एउटा धूरी बन्न लागेको पनि देखिन्छ । भारतका प्रधानमन्त्री मोदीलाई उनको जन्म दिनमा ताइबानका प्रधानमन्त्री साई इन–वेनले शुभ कामना सन्देश पनि पठाएका थिए । त्यसलाई स्वीकार गर्दै भारतीय प्रधानमन्त्रीले धन्यवाद सन्देश पठाए कि पठाएनन् त्यो कुरा प्रकाशमा आएको छैन ।
ताइवानका नेताले आफ्नो सन्देशको माध्यमबाट के संकेत दिएको देखिन्छ भने चीनका विरुद्ध ताइवान भारतको पक्षमा खडा हुन चाहन्छ । यसरी नै पूर्बी लद्दाखमा केही महिना पहिला बिशेष तिब्बत सशस्त्र बलका एक जवान नाइमा तेञ्जिङ्गको मृत्युले के रहस्योद्घाटन गरेको पनि औंल्याइदैछ भने भारतीय सेनामा यस्तो एउटा यूनिट छ जसमा तिब्बती मानिसहरु सामेतल रहेका छन् । यद्यपि के कुरा स्पष्ट भएको छैन भने पूर्बी लद्दाखमा त्यो तिब्बती यूनिटका कति जवानहरु तैनाथ छन् ? त्यो भने प्रकाशमा ल्याइएको छैन । यसले पनि प्रष्ट पार्दछ कि आउँदा दिनमा समस्या चर्कदै जाँदा भारत चीनसँग यो तिब्बती कार्डपनि खेल्ने तयारीमा छ ।
स्पष्ट छ कि तिब्बत चीनको स्वशासित स्वायत्त प्रदेश हो ।अनि भारतले पनि एक चीन नीति अन्तर्गत ताइबान र तिब्बतलाई चीनकै अखण्ड हिस्सा स्वीकार गरेको छ । तर अब आउँदा दिनमा भारतको यो स्थिति बद्लिन सक्ने संकेत देखिदैछ । भारतले अहिले पनि के मान्यता राख्दै आएको छ भने तिब्बतका भारत निर्बासित धर्मगुरु दलाई लामा विश्वभरीका तिब्बती शरणार्थीका लागि मात्रै होइन, तिब्बतकै मानिसहरुका लागि पनि ‘पूजनीय’ रहेका छन् । भारतको मान्यता अनुसार तिब्बतमा चीनको आधिपत्य भए पनि तिब्बती मानिसहरु बौद्ध धर्म र दलाई लामाकाप्रति श्रद्धा कायम राखिरहेका छन् । चीन पञ्चेन लामाका माध्यमबाट तिब्बती बौद्ध धर्माबलम्बीहरुको समर्थन हासिल गर्न चाहन्छ । तर भारत यसमा के भनेर खेल्न खोज्दै गरेको देखिन्छ भने तिब्बती सँस्कृति र समाजमा पञ्चेन लामाको स्थान दलाई लामाको जस्तो उच्च रहेको छैन ।
भारत पूर्बी लद्दाखको मुुद्दाबाट अलग हटेर अर्को के कुरामा पनि बिचार गर्दै देखिन्छ भने अब दलाई लामाको उत्तराधिकारी को बन्ने हो ? चीनले भने पञ्चेन लामाकै माध्यमबाट चीनका दलाई लामाको उत्तराधिकारी खोज्नुपर्ने कोशिश गर्ने नै भयो । अर्कोतिर,दलाई लामाले के पनि भनिराखेको छ भने उनका उत्तराधिकारीहरु भारत या अन्य कुनै देशमा अबतरित हुन सक्तछन् । यसरी उनले चीन र तिब्बतलाई स्वीकार्न चाहेको देखिन्न । भारत र दलाई लामाले सोचेजस्तै हुने हो भने भविष्यमा चीन र तिब्बतको सम्बन्धमा पनि अर्कै मोड आउन सक्ने या ल्याउन सक्ने खतरा रहेको देखिन्छ ।
अहिलेसम्म यद्यपि के आशा राखिन्छ भने चीन र भारत बीचको लद्दाखको तनावले कुनै युद्धको रुप नलेओस् र एशियाका दुई ठूला विकासवान देशहरुले आफ्नो वरिपरीका छिमेकीहरु र पूरै एशियाको सम्पूर्ण हितहरुलाई ध्यानमा राखेर परस्पर आक्रामक बाटो अख्तियार नगरुन् !
यद्यपि भारतीय पक्ष के भन्दैछ भने जासुसी गरेको अभियोगमा राजीब शर्माको गिरफ्तारीको घटना क्रममा भारतीय केन्द्रिय सरकारले चीनको एप्समा लगाएको प्रतिबन्ध, चीनका कन्फ्यूसियस संस्थाहरुमाथि बढाएको निगरानी र चिनीयाँ कम्पनीहरुमाथि अंकूश लगाउने भारतीय निर्णयको औचित्य पनि सही सिद्ध गरेको छ । सूचना प्रौद्योगिकीका क्षेत्रमा चीनका कम्पनीहरुको भारतमा कामकाजको अवसर सीमित भएर गएका छन् र मोदी सरकारको यो चीनका विरुद्धको असैनिक स्ट्राइक हो भनिदैछ । यसरी अहिले पनि चीन र भारतको तनाव र झडपको पृष्ठभूमि बनिरहेको छ । यसले कस्तो मोड लेला घटना क्रमको आगामी विकासले तय गर्नेछ ।
तपाईको प्रतिक्रिया