काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वाेच्च अदातमा रिट निवेदन दर्ता भएको छ ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति असंवैधानिक भन्दै उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आदेशको माग गरेर सोमबार रिट निवेदन दर्ता गराएका हुन् ।
आइतबार पेश गरेको निवेदन सोमबार दर्ता भएको र अब सुनुवाई भने बुधबार हुने सर्वोच्चले जानकारी दिएको निवेदक त्रिपाठीले बताए ।
त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल कम्युनिस्ट पार्टी कार्यालय र वामदेव गौतमलाई विपक्षी बनाएर सोमबार निवेदन दर्ता गरेका हुन् ।
रिट निवेदकले निवेदनको टुंगो नलागेसम्म गौतमलाई राष्ट्रिय सभाको हैसियतले कुनै कार्य नगर्नु नगराउन र निजलाई मन्त्रिमण्डलमा सामेल नगर्नु नगराउन सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश समेत जारी गर्न माग गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतम केही दिनअघि राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए ।
तपाईको प्रतिक्रिया