दार्चुला । भारतबाट अवैध रुपमा भन्सार छली ल्याइ रहेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुला मातहतको जौलजिवी बीओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणको भन्सार छली गरेर ल्याउदै गरेको सामान बरामद गरेको हो ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ बाँकुको तम्घाट बगरबाट चामल, पिठो, आलु अबैध कुखुराको मासु लगायतको सामाग्री बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति नरेन्द्र बमले जानकारी दिए ।
भारतबाट ट्युब हुदै नेपाल भित्र्याइएको ३ क्वीन्टल चामल, ३ क्वीन्टल कुखुराको दाना, १ क्वीन्टल पिठो, ८० किलोग्राम आलु र २० किलो कुखुराको मासु बरामद गरिएको उहाले बताए । भन्सार छलि गरेर नेपाल भित्र्याइएको २९ हजार ४ सय ४० रुपैयाँ मूल्य बराबरको रहेको छ ।
जौलजीवि बीओपीका सई मथुरा दत्त भट्टको नेतृत्वमा खटिएको गस्ती टोलीले आइतवार राती १०ः३० बजेतिर उक्त सामान बरामद गरेको हो । तस्करहरुले सशस्त्र प्रहरी आउन लागेको सुईको पाएर सामान छाडेर भाग्न सफल भएको जनाइएको छ । बरामद गरिएको उक्त सामानलाई छोटी भन्सार कार्यालय दार्चुलाको जिम्मा लगाइएको गणपति बमले बताए । पछिल्लो समय सिमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाइरहेको छ ।
तपाईको प्रतिक्रिया