- 4Shares
नेपाली सेनाको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक अनावरण गरिएको छ । नेपाली सेनाका संस्थापक एवं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा बाहिनीभित्र निर्माण गरिएको शालिकको शनिबार अनावरण गरिएको हो ।
बाहिनीपति सहायक रथी सागरबहादुर थापाले शालिकको अनावरण गर्दै राष्ट्रपिताको शालिक अनावरण गर्न पाउँदा गौरवान्वित र हर्षित भएको बताए । नेपाली सेना सदैव असल र इमानदार हुनुपर्नेमा सहायक रथी थापाको जोड थियो ।
निर्माण सम्पन्न भएको शालिकले बाहिनीको सौन्दर्य बढाउन सहयोग पुगेको थापाले बताए । विभिन्न ब्यारेकमा पृथ्वीनारायण शाहको शालिक निर्माणले तीव्रता पाएकोसमेत थापाले सो अवसरमा जानकारी दिएका छन् ।
पृथ्वीनारायणको पूर्णकदको शालिक निर्माणका लागि रु दुई लाख १४ हजार ९७१ खर्च भएको सहायक बाहिनीपति महासेनानी उत्तम खड्काले बताए । सेनाकै तीन कालिगडले उक्त शालिक निर्माण गरेका हुन् । सो अवसरमा सहायक रथी थापाले शालिक निर्माण गर्ने कालिगडलाई प्रशंसापत्रले सम्मान गरेका थियो ।
तपाईको प्रतिक्रिया