काठमाडौं । नेपालले लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नयाँ नक्सा जारी गरेको प्रति असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको खुलासा भएको छ ।
नेपालले नयाँ नक्सा सार्वजनिक गरि त्यस अनुसार निशान छाप परिमार्जन गर्नका लागि संविधान संशोधन गरेको थियो । त्यसमा असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको खुलेको हो ।
भारतले असार १० गते नेपाल सरकारलाई कूटनीतिक नोट पठाएको जानकारी परराष्ट्र मन्त्रालयले राष्ट्रिय सभाको संसदीय समितिलाई जानकारी दिएपछि उक्त कुरा सार्वजनिक भएको छ ।
राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबारको बैठकमा भारतले कूटनीतिक नोट पठाएको समिति सभापति रामनारायण बिडारीले जानकारी दिए । यसअघि भारतले कालापानीसहितको क्षेत्र समेटेर नक्सा जारी गर्दा नेपालले त्यसमा असहमति जनाइ भारतलाई कूटनीतिक नोट पठाएको थियो ।
सभापति विडारीले भने, ‘नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते कूटनीतिक नोट पठाएको रहेछ ।’
नेपालले भारतलाई सन् २०१५ मा भारत–चीनबिच नेपालसँग परामर्श नै नगरी नेपाली भूमि प्रयोग गर्ने सहमति गरेपछि, गएको नोभेम्बरमा भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि तथा पछिल्लो पटक भारतले बाटो उद्घाटन गरेपछि भारत र नेपालबिचको सम्बन्ध केही चिसो भएका बेला भारतबाट कूटनीतिक नोट आएको हो ।
भारतले कूटनीतिक नोट पठाएको विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा बोलेको छैन । यद्यपि नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले सार्वजनिक रुपमा नेपालको दाबीलाई अस्वीकार गर्ने बताउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया