—लोकनारायण सुवेदी
हाम्रो देशमा विभिन्न इन्धन र ऊर्जाका उपयोगी र पर्याप्त श्रोतहरु नभएका होइनन् । तर तिनलाई देश र जनताको ब्यापक हितमा प्रयुक्त गर्ने सोच र योजना गर्ने नेतृत्वको प्रायः सधैं अभाव खट्किदै आयो । देशमा पर्याप्त पानी छ । जमिन छ । जंगल छ । मूल्यवान जडीबुटी छन् ।अमूल्य खनिज पदार्थहरु छन् । अब निकै ठूलो मात्रामा दक्ष जन शक्तिको पनि निर्माण भइसकेको छ । ती सबैलाई सही किसिमले जनता र राष्ट्रको हितमा प्रयुक्त र परिचालन गर्ने हो भने मुलुकले केही बर्ष भित्रै उन्नत र अग्रगामी कोल्टे फेर्न सक्तछ । तर तिनलाई हाम्रो राजनीतिक नेतृत्वले छ भनेर स्वीकार गर्न सकेको र गर्न चाहेको देखिदैन । कमिशन खाएर चल्ने पराश्रित प्रबृत्तिले गर्दा पंगु हुँइदो रहेछ भनेर स्वीकार गर्न पनि अनुहार फेरिदै आएको नेतृत्व तयार देखिदैन । यसले गर्दा जनतामा ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने जुन भावना पैदा गरेको छ त्यसकै पुष्टी मात्र बारम्बार भइरहेको छ ।
यस परिप्रेक्षमा बारम्बार जसो भारतसँग सामान्य असमझदारी र खटपट परेको हुने गर्दछ तर समय क्रममा सबै कुरा मिल्छ भन्ने गलत निष्कर्शमा पुगेर हाम्रो सत्ताधारी बर्ग हिजोदेखि आजसम्म चल्ने गर्दै आएको छ । हामीले जे भोगिरहेका छौ त्यो अत्याधिक परनिर्भरता र खाशगरी भारत निर्भरताको उपज हो भन्ने कुरा मध्य दिनको घाम जत्तिकै छर्लंग छ । तर पनि हाम्रो राजनीतिक नेतृत्व भारतसँग यस बारे प्रष्ट कुरा राख्न र दुइ देश बीचको सम्वन्ध पुनर्बिन्यास गर्न अझै डराइरहेको र लडखडाइरहेको छ । भारतसँगको सम्वन्ध बिग्रियो भने त्यो कुनै एक दुइ अपबाद बाहेक नेपालका कारणले बिग्रदैन र अहिलेसम्म त्यसो भएको पनि छैन । जहिले पनि सम्वन्धमा असन्तुलन आयो र तलमाथि प¥यो भने त्यो भारतकै शासक बर्गका कारण बिग्रेको अहिलेसम्मको यथार्थ हो । तर त्यसको मार भने नेपाली आम जन साधारणलाई पर्ने गरेको छ । पहिलेभन्दा भिन्न किसिमले भारतले अघोषित, पूर्ण, आंशिक र दिन बिराएर बिभिन्न किसिले नाकाबन्दी लगाएको बेला नेपालको अर्थतन्त्र, यातायात परिबहन लगायत शिक्षा, स्वास्थ्य आदि संबेदनशील क्षेत्र सबै इन्धनको अभावमा ठप्प प्राय भएका थिए । तर त्यसबाट पनि नेपालको नेतृत्वले ततकालीन प्रतिकृयात्मक केही कदम चाल्नेभन्दा दीर्घकालीन सही शिक्षा लिएर अघि बढ्न खोजेको देखिदैन ।
हाम्रो उत्तरमा बिश्वकै अग्ला हिमाली टाकुराहरु अबस्थित रहेकाले त्यहाबाट निस्कने पानीको अजश्र श्रोत – नदी नाला तथा ताल तलैयाहरु छन् । ती नदी नालाहरुको पानी कञ्चन, निर्मल र खनिज पदार्थयुक्त, सुरक्षित एवं पिउनयोग्य रहेको छ । तर हामी बोतल बन्द पानीलाई ‘मिनरल वाटर’ नाम राखेर किन्ने र पिउने कुरामा अभ्यस्त हुँदै आएकाछौं । अझ हाम्रा उच्च ओहोदाधारीहरु त प्रायः सबैजसो बिदेशबाट आयातित पानी पिउने गर्दछन् । आज बिश्वमा पिउने सुरक्षित पानीको हाहाकार मच्चिरहेको बेला हामी यो हाम्रो पानीको श्रोतलाई बिश्व बजारका निमित्त प्रयुक्त गर्न सक्तछौं । तर त्यतातिर हामीले हाम्रो उपलब्ध दक्षता,सीप, प्रबिधि केही पनि लगाउने र कमाउने राष्ट्रिय दृष्टिकोण नै बनाउन सकेका छैनौं ।
पानीबाट उपलब्ध हुने सर्बतोमुखी बिकासको टिकाउ, सुरक्षित र मूल्यवान जल–बिद्यूत ऊर्जा पनि हामीले आफ्नो लागि उपयोग गर्ने र बाँकी रहेको बेच्ने किसिमले पटक्कै सदुपयोग गर्न सिकेनौ र त्यसो गर्न सकेनौं या गर्न नै चाहेनौं । जसले त्यसो गर्न चाहे तिनलाई प्रोत्साहित गर्नेभन्दा अनेक बहानामा हतोत्साहित गर्ने, किनारा लाउने र कुरै नसुन्ने किसिमले बिभिन्न रंगरुपका सत्ताधारी दल र बर्ग प्रस्तुत भएर धेरै हाम्रा नदी नालाको हैसियत र स्वामित्व समेत हामीले, हाम्रो देशले गुमाइसकेको या गुमाउदै गएको अबस्था छ । जलश्रोतका धनी हामीले न सम्पूर्ण खेतीयोग्य जमिन सिञ्चाई गरेर पर्याप्त उत्पादन लिन सकेका छौं । न बन जंगलबाट प्राप्त हुने इन्धन(दाउरा, कोइला आदि)लाई कम गर्न सकेका छौ न बाह्य श्रोतबाट डलर तिरेर ल्याउनु पर्ने पेट्रोलियम पदार्थ(पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास, हवाई इन्धन) ल्याउन नै कम गर्न सकेका छौं । हामीले प्राप्त गर्ने बिप्रेषण(रेमिट्यान्स) जुन राष्ट्रिय आमदानीको २५ प्रतिशतभन्दा बढी मानिएको छ, त्यो सबै यही बाह्य इन्धन आयातमा खपत गरिरहेका छौं । रेमिट्यान्स यसरी जताबाट आयो त्यतै गइरहेको कटु यथार्थ छ ।
वास्तवमा जलश्रोतको बहुआयामिक उपयोग गर्ने गरी जलाशययुक्त सुरक्षित र टिकाऊ दीर्घकालीन जल बिद्यूत बिद्यूत आयोजनाहरु निर्माण गर्ने हो भने नेपालको कृषिको ब्यवसायीकरण र औद्योगिकरण, उद्योग धन्धाहरुको ब्यापक बिस्तार, बन्द–ब्यापारको अभिबृद्धि, सुगम जल यातायत(सस्तो ढुवानी समेत), पर्यावरण संरक्षण तथा महिला र बालबालिकाहरुको स्वास्थ्यमा समेत ठूलो र अपूर्व सकारात्मक प्रभाव पर्ने, इन्धनको बचत हुने र प्राकृतिकरुपमै सुन्दर नेपाल अझ सुन्दर र सम्बृद्ध हुनसक्ने कुरा धेरै र बिभिन्न पक्षबाट भएका अध्ययन अनुसन्धानहरुले प्रष्ट पारिसकेका छन् । तर ती कुराहरु कार्यान्वनको तहमा पु¥याउने र सकेसम्म आत्मनिर्भर, आयात प्रतिस्थापन गर्ने नीति निर्माण र कार्यान्वयन तर्फ हाम्रो पटक्कै ध्यान गएको छैन । हरेक क्षेत्रमा ‘कमिशन खाउ, काम चलाऊ’ जस्तो परामुखपेक्षी गलत नीति लिएर चल्ने गरेको पाइन्छ ।सौर्य ऊर्जा, वायु ऊर्जा र जैबिक ऊर्जाको उपयोग गर्ने तिर पनि हाम्रो पर्याप्त ध्यान केन्द्रित हुन सकेको छैन । यद्यपि ती ऊर्जाहरु स्वास्थ्य, शिक्षा र रोजगारीका लागि उपयोगी छन् भन्ने कुरा सिद्ध भइसकेको छ । तर तिनको सही किसिमले उपयोग गरेर बन बिनाशबाट जोगिन सकिने, आयातित इन्धनको खपत कम गर्न सकिने, डलरको सञ्चिती बृद्धि गर्न सकिने तथा देशलाई मरुभूमिकरण हुनबाट जोगाउनेतिर हाम्रो कुनै गम्भीर कार्यकारी चासो र चिन्ता छैन । बरु गिट्टी, बालुवा र ढुंगा समेत निकासी गरेर सजिलो किसिमले कमाउने र देशको पर्याबरणीय सन्तुलन खल्बलिएर यसको भबिष्य नै गम्भीरमा जोखिममा पर्ने कुरामा पनि कुनै वास्ताब्यास्ता रहेको पाइदैन ।
यति मात्र होइन, देशमा बिभिन्न किसिमका यार्सागुम्बा, पाँचऔंले लगायतका अत्यन्तै महत्वपूर्ण र ठूलो रकम राशी प्राप्त हुने मूल्यबान जडीबुटीहरु पाइन्छन् । तिनको संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्नेतिर पनि सत्ताशालीहरुको कुनै ध्यानाकर्षण हुँदैन । तर तिनलाई ‘पकेट मोनी’को रुपमा दुरुपयोग गर्नेतिर नै अहिलेसम्म गतिबिधि भइरहेको देखिन्छ । जसले गर्दा राष्ट्रिय अर्थतन्त्रमा तिनले पु¥याउन सक्ने अत्यन्तै ठूलो र पर्याप्त योगदानको कुनै अत्तोपत्तो छैन ।
देशमा बिश्व स्तरका अमूल्य खनिज पर्दाहरु रुवी, काइनाइट आदि रहेको अनुसन्धानकर्ताहरुले बर्षौंदेखि औंल्याउदै र तिनको संरक्षण, सम्बद्र्धन र सदुपयोगको निमित्त आवाज उठाउँदै आएका छन् । कृतिहरु प्रकाशन गरेका छन् । सम्वन्धित र सरोकारवाला सबै निकायमको ध्यानाकार्षण गरेका छन् । तर औपचारिकता पूरा गर्ने बाहेक कसैले गम्भीररुपमा ती कुरामा पर्याप्त ध्यान दिएको छैन । यी सबै कारणले गर्दा आज हामी हाम्रो देश अत्यन्तै कमजोर, लाचार र बिवश स्थितिबाट गुज्रिरहेको छ । देश र नेपाली जनताले अपमानित, लज्जित र निरीह बन्नु, हुनु परिरहेको छ । हाम्रो भाग्य र भबिष्य निर्माण गर्ने श्रोतहरु संकीर्ण सत्ता स्वार्थले अरुलाई सुम्पने र नेपाली जनता र राष्ट्रको भबिष्य खोक्रो तुल्याउने काम भइरहेको छ । यसरी अरुमाथि भर नपरी नहुने स्थिति सिर्जना गर्ने र पराश्रित तुल्याउने प्रबृत्ति र बिकास गरिएको गलत मनोबृत्ति फेर्न नसकेसम्म फेरि पनि देश र जनताई ठूलो धोका हुनेछ । आजको नेपाली जनताको आन्दोलनको एउटा प्रमुख पक्ष यसै दिशामा केन्द्रित गरिनु अत्यावश्यक छ । अन्यथा स्वाधीनता, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकता भन्ने कुरा खोक्रो र अर्थहीन भएर जाने निश्चित छ । समाप्तिको संघारमा पुग्नुभन्दा पहिला नै यस कुरामा सचेत भएर जोगिनु आवश्यक छ । नत्र भोली कसैले राम राम पनि भन्नेअवस्था रहँदैन । यो कुरामा गम्भीरतम् हुनै पर्दछ । नत्र भावी पिढीले हामीलाई धिकार्नेछ । श्रोत साधन भइकन पनि सिन्को भाच्ने ढंग नभएको दोषको भागी हामीले हुनुपर्नेछ । यस दोषबाट मुक्त हुने भनेकै आर्थिक भाषामा हाम्रो मानबीय पूँजी(ह्यूमन क्यापिटल), प्राकृतिक पूँजी र सास्कृतिक पूँजीलाई एकाकार गरेर अर्थात बिकासमा जनताको स्वामित्व र अपनत्व कायम गर्दै अघि बढ्ने बाटो अबलम्बन नगर्ने हो भने हामी बिश्वमा फेरि पनि धेरै पछि पर्ने बाहेक अरु केही कुरा रहँदैन । बाह्य कारणले आएको सतही बिकासले मात्र हाम्रो स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्न सक्तैन । आजको वस्तुस्थितिले दर्शाएको कटु यथार्थ यही हो ।
तपाईको प्रतिक्रिया