दार्चुला– जिल्लाको अपिहिमाल गाउँपालिकाका स्थानियहरुले आफैले आर्थिक संकलन गरी लघु जलविद्युत मर्मत गरेका छन् । अविरल वर्षाका कारण साउन ३ गते राति विद्युत उत्पादन गृहमा पहिरो खसेका कारण गाउँपालिकाका वडा नम्बर ३ मा रहेको झुस्कु लघु जलविद्युत अबरुद्ध भएको थियो । पहिरोले लघु जलविद्युतको २० वटा पेनस्टक पाइपमा क्षति पुर्याएको प्राविधिक धनमीन सिंह ठेकरेले जानकारी दिनुभयो ।
गरीबी निवारण कोषको आर्थिक र मार्कण्डेय विकास समितिको प्राविधिक सहयोगमा २०६७ सालमा ३ किलोवाट क्षमताको उक्त लघु जलविद्युतको निर्माण गरिएको उहाले बताउनुभयो । पहिरोले क्षति पुर्याएको लघु जलविद्युत मर्मतका लागी सो क्षेत्रका स्थानियले गाउँपालिकामा निवेदन दिएको भएपनि उक्त निवेदनको कुनै सुनुवाई नभएपछि स्थानिय सबैले आर्थिक संकलन गरी विद्युत मर्मत गरेको उहाले बताउनुभयो ।
उहाका अनुसार लघु जलविद्युत आयोजनामा पहिरोले गरेको क्षति बारे स्थानियले पटक–पटक गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्याल, उपाध्यक्ष उर्मिला बोहरा र वडा अध्यक्ष समुद्र सिंह कार्कीलाई जानकारी गराएका थिए । उपाध्यक्ष बोहरा र वडा अध्यक्ष कार्कीले उक्त जलविद्युतको स्थलगत अनुगमन निरिक्षण समेत गरेका थिए । गाउँपालिका अबरुद्ध विद्युत मर्मत गरिदेला भनेर आशा र अन्धाकारमा बसेका उनिहरुले गाउँपालिकाबाट कुनै सुनुवाई नभएपछि आफैले आर्थिक संकलन गरी विद्युत मर्मत गरेका हुन् । उक्त जलविद्युत आयोजनाबाट वडा नम्बर ३ का २६ घरधुरी वडा नम्बर ४ का नौपाटा र सल्लीका २८ घरधुरी गरी ५४ घरधुरी लाभान्वित भएका छन् ।
गाउँपालिकालाई विद्युत मर्मतका लागी धेरै पटक मौखिक र लिखित निवेदन दिदा समेत सुनुवाई नभएपछि स्थानीयले पैसा उठाएर मर्मत गरेको उपभोक्ता महेश ठेकरेले जानकारी दिनुभयो । प्रति घरधुरीबाट १ हजार नगद संकलन गरी विद्युत उत्पादन गृह मर्मत गरेको प्राविधिक धनमीन ठेकरेले बताउनुभयो । उक्त लघु जलविद्युतबाट उत्पादित विद्युत गाउँपालिका उपाध्यक्ष बोहरा र अध्यक्ष मन्यालले पनि उपभोग गरिरहेको भएपनि मर्मतमा चासो नदिएको उहाको भनाई छ । विगत एक महिना देखी विद्युत अबरुद्ध हुँदा सो क्षेत्रका स्थानिय अन्धाकारमा बस्न बाध्य भएका थिए । विद्युत उत्पादन गृह मर्मत पछि भदौ १ गते बाट विद्युत पुनः संचालनमा आएको छ ।
तपाईको प्रतिक्रिया