दार्चुला । दार्चुलामा कालाजारका बिरामी भेटिएका छन् । आइतवार उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा आएका दुहुँ गाउँपालिकाका एक जनामा कालाजार भेटिएको हो । दुहुँ गाउँपालिकाकी २२ वर्षीय महिलामा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी एवं सिनियर अहेब डम्बर दत्त भट्टले जानकारी दिए ।
उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । यसैवर्ष दार्चुलामा ३ जनामा कालाजार देखिएको छ । बैशाख महिनामा एक र असारमा एक जना पूरुषमा कालाजार देखिएको सूचना अधिकारी भट्टले बताए । तराइमा देखिने मलेरिया, औलो, कालाजार जस्ता रोगको सङ्क्रमण पछिल्लो समय हिमाली जिल्ला दार्चुलामा समेत देखा पर्न थालेको छ ।
तराइका जिल्लाहरुमा पाइने लामखुट्टे, भुसुनाजस्ता परजीवीको बिगबिगी पछिल्लो समय पहाडी जिल्लाहरुमा समेत बढ्दै गएको हो । कालाजार एक प्रकारको भुसुना सेन्ड फ्लाइ) ले टोकेर लाग्ने सरुवा रोग हो । रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा टोके यो रोग सर्ने गर्छ ।
कालाजार रोग लागे ज्वरो आउने, तौल घट्ने, थकान महसुस हुने, खान मन नलाग्ने, कमजोर भएको महशुस हुने, रक्तअल्पता हुने, फियोको आकारमा वृद्धि हुने जस्ता लक्षणहरु देखा पर्ने अस्पतालका प्रमुख डाक्टर गजेन्द्र दुवालले बताए ।यो रोगबाट बँच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा पुरै शरीर ढाक्ने लुगा लगाउनुपर्ने उनको सुझाव छ ।
तपाईको प्रतिक्रिया