– लोकनारायण सुवेदी
जब कुनै पनि समाजमा एक वा अर्कोरुपमा अन्याय, शेषण, उत्पीडन र अत्याचार भइरहेको हुन्छ र यसरी अगाडी बढ्ने बाटो अबरुद्ध भइरहेको हुन्छ त्यतिबेलाको नीतिको कर्तव्य त्यो अबरोधकारी अत्याचारको बिवेचना गर्नु मात्र नभएर त्यसको बिरोध तथा त्यसलाई परिवर्तन गर्नु हुन्छ । यो कुराको पुष्टी बिश्व इतिहास केलाए पनि या हाम्रै देशको जन आन्दोनलको इतिहासलाई हेरे पनि प्रष्ट हुन्छ । हामीले १०४ बर्षको निरंकुश राणाशाहीको बिरोध ग¥यौ र राणाशाहीलाई समाप्त पा¥यौं । किनभने त्यसले नेपाली समाजलाई राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृति हरेक किसिमले अबरुद्ध पारेको थियो । त्यो गतिरोधलाई तोड्नु नै त्यतिबेलाका नेपाली जनताको कर्तब्य थियो र उनीहरुले त्यसै गरे । त्यो नै त्यस बेलाको नेपाली जनताको एक मात्र नीति थियो र हुनुपर्दथ्यो ।
राणाशाहीको अभ्युदय गर्ने राणा जंगबहादुरको बिरुद्ध, त्यतिबेलाको परिवेशमा धार्मिकरुपमा नै सही, बिद्रोह गर्ने नेपालका आदि शहीद लखन थापा हुन् या नेपाली राजनीतिमा आधुनिकताको जग राख्दै ०९७ सालमा जहाँनियाँ राणा शासन बिरुद्ध शहादत प्राप्त गर्ने चार प्रातस्मरणीय अमर शहीदहरु गंगालाल, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्तहरु नै किन नहुन् उनीहरु सबैले अन्याय, अत्याचार तथा देश र जनताका अगाडि उत्पन्न गत्यावरोधलाई तोड्ने कर्तव्य पूरा गरेका थिए । उनीहरुको त्यही शहादतको उत्कर्षमा २००७ सालको क्रान्ति सम्पन्न भएको हो । यद्यपि त्यो क्रान्तिका आफ्नै सीमा र सामथ्र्यहरु थिए । त्यसै परिधि भित्र रहेर नै त्यसको बस्तुगत मूल्यांकनकासाथ अघि बढ्नु पर्दथ्यो र नेपाली जन आन्दोलनका अधुरा र अपूरा कुराहरुलाई पूरा गर्न अग्रसर हुुनु पर्दथ्यो । त्यसै कुरामा तलमाथि हुँदा ०१७ सालको प्रतिगामी शाही काण्ड गरेर तत्कालीन राजा महेन्द्रले राजनीतिक दल र जन बर्गीय संगठनहरु सबैमाथि प्रतिबन्ध लगाउँदै पञ्चायती प्रजातन्त्र नामको राजाको एकदलीय सामन्ती अधिनायकबादी ब्यवस्थाको पुनरोत्थान गरे । ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ भन्ने मान्यतालाई अघि बढाउँदै राजाको सकृय र प्रत्यक्ष नेतृत्वको त्यो ब्यवस्था ढाल्न नेपाली जनताले झण्डै तीन दशक अनबरत कठिन संघर्ष गर्नु प¥यो । जेलनेलको कठोर यात्रा, भूमिगत र प्रवासको संघर्षमय जीवन बिताउनु प¥यो । ती सबै दमनहरुलाई चिर्दै अन्ततः २०४६ सालमा निर्बिकल्प भनिएको राजाको पञ्चायती प्रजातन्त्रलाई नेपाली जनताको जन आन्दोलनले धुल धुसरित तुल्याइदियो ।
त्यसपछि आरम्भ भएको बहुदलीय परिपाटीलाई पनि परिवर्तित राजनीतिको सन्दर्भमा जनता र राष्ट्रको हितमा सही किसिमले प्रयुक्त गर्ने दिशामा सर्बात्मना अग्रसर हुनुको साटो सत्ताको लागि मरिहत्ते गर्ने र त्यसका निमित्त निरन्तर खिचातानी गर्ने नेपाली काग्रेस र एमाले जस्ता दलहरुको अस्वीकार्य गतिबिधिले गर्दा एकातिर माओवादीले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको बस्तुगत अबस्थाको राम्रोसँग निक्र्यौल नगरी सशस्त्र संघर्ष शुरु ग¥यो भने अर्कोतिर बहुदलीय ब्यवस्थामा आएका बिकृति र बिसंगति तथा राज्य र माओवादी बीचको सशस्त्र द्वन्द्वको फाइदा उठाउदै पुनः राजतन्त्रले टाउको उठाउने मौका पायो । यद्यपि त्यो सही बिकल्प छँदै थिएन । त्यसैले राणा शासन र पञ्चायती शासनको बिरुद्ध लडेका नेपाली जनता अन्ततः राजतन्त्रकै बिरुद्ध लड्न तत्पर र खडा भए । १९ दिनको नेपाली जनताको अभूतपूर्व र सशक्त संयुक्त जन आन्दोलनले २४० बर्षदेखि नेपाली जनतामाथि शासन र शोषण गर्दै आएको राजतन्त्रनै ढलेको हाम्रो पछिल्लो ताजा इतिहास साक्षी छ । तर राजतन्त्र ढलेपछि त्यसको बिरुद्ध रहेका राजनीतिक दलहरु जन आन्दोनलले दिशा निर्देश, मर्म र त्यसले अख्तियार गरेकोे जनता र देशप्रति समर्पित सही बाटो हिड्नको साटो राजतन्त्रकै गलत परम्परा – बिलाश र बैभवको – संकीर्ण स्वार्थलाई नयाँ सँस्करणमा अँगाल्दै हिड्न थाले । त्यसैको परिणति आजको निराशाजनक र अन्यौल स्थिति बिकसित भएको हो । निकै ठूलो परिवर्तन पछि पनि जनतामा परिवर्तनको बोध हुन नसक्नुको मूल कारण पनि वास्तवमा यही नै हो ।
वास्तवमा जब जब नेपाली जनता सही बाटोमा एकजुट हुन्छन् त्यतिबेला उनीहरुले चिताउदै नचिताएका अजंगका सकारात्मक र अग्रगामी परिवर्तन पनि ल्याउन सक्तछन् अनि उनीहरुलाई बिचलित र बिभाजित हुँदा बिकृति र बिसंगतिहरु बढ्ने र उनीहरुले ल्याएका परिवर्तनका उपलब्धीहरु पनि कमजोर हुने र गुम्ने समेत गर्दछन् भन्ने कुरा त नेपाली जन आन्दोलनको उतार चढावको इतिहासको एउटा अभिन्न अंगकोरुपमा कायम रहेका प्रमाणित कुराहरु छन् । जनताले के कुरा पनि राम्ररी बुझेका छन् भने राजनीतिक क्षेत्रमा परिवर्तन आउनासाथ आर्थिक समाजिक क्षेत्रमा पनि एकाएक परिवर्तन आउन सक्तैन । यसका निमित्त सही बिकासको अग्रगामी नीति र बाटोकासाथ कठोर श्रम र पसिना चाहिन्छ । यसै कारणले बर्षौदेखि राजनीतिक, आर्थिक, समाजिक र सँस्कृतिक भेदभाव, असमानता, अभाव, असुरक्षा, गरीबी, बेरोजगारी आदि अनेक दुःख कष्ट झेल्दै आएका जनताले ती समस्याको निराकरण गर्न मार्गदर्शन गर्ने अग्रगामी संविधान खोजेका थिए, खोजेका हुन् र त्यसको निमित्त संविधान सभाको बाटो रोजेका हुन् भन्ने कुरा पनि स्थापित भइसकेको छ । तर जनताको यो चाहनाले अझै पनि मूर्त रुप लिन सकेन । त्यसैले असन्तुष्टी बढ्दै र चुलिदै आएको छ ।
यस सन्दर्भमा हामी प्रायः सबैले ‘महाभारत’ महाकाब्य पढेकाछौं, सुनेका छौं र हेरेका पनि छौ त्यसको प्रतिकृति आजको समाजमा पनि देख्न र अनुभव गर्न सक्तछौं । त्यो महाभारतमा निक्कै बुद्धिमान मानिसहरुले स्वयमलाई कसरी दाउमा राखे ? त्यत्तिका आदरणीय मानिसहरुका लागि द्रौपदीकाप्रति भइरहेको अन्यायलाई रोक्ने भन्दा बढी महत्वपूर्ण अरु छुट्टै प्रतिज्ञा कसरी हुन गयो ? महाभारत एउटा कालभेदी ग्रन्थ हो र यसका पात्रहरु आजको सन्दर्भमा पनि प्रासांगिक लाग्दछन् । यत्ति हो कि यसमा लुकेका प्रतीकहरुलाई बुझ्न भने अबश्य नै आवश्यक छ ।
त्यो प्राचीन महाभारतमा भीमले एक पटक कृष्णलाई सोधेका थिए : ‘हाम्रा जनताले कुन दुष्कर्मको कारणले दुर्योधनको अत्याचारको फल भोग्नु परिरहेको हो’ ? कृष्णबाट भीमले त्यसको यस्तो उत्तर पाएका थिए : ‘यदि कसैले तिम्रो घरको नजिकको तलाऊमा दिनका दिन एक–एक मुठ्ठी फोहोर फाल्ने गर्दछ तर तिमी त्यसलाई रोक्दैनौ भने तिम्रो त्यो अकर्म नै त्यो दुष्कर्म हुनेछ जसको फल अर्थात दुर्गन्ध भोग्नै पर्दछ’ । आजको समयमा हामी नै त्यो पाण्डव हौ जसलाई अकर्मबाट बाहिर निस्कनै पर्ने आवश्यकता छ । हामी डराएर बाच्नुलाई समझदारी भन्दैछौं । हाम्रो सामुमा ब्यापक भ्रष्टाचार भइरहेको छ, अत्याचार भइरहेको छ, अन्याय भइरहेको छ, स्वाधीनता कमजोर भएको छ, नेपाली जनतालाई बिभाजन गरिएको छ आदि आदि समाचारहरु हामी दिनदिनै पढ्छौ, सुन्छौ र देख्छौ त्यसपछि पनि चुपचाप बस्नु नै भलो या राम्रो सम्झन्छौं । यी सबै कुरा थाहा पाएर पनि हामी त्यसको कुनै पर्वाह गर्दैनौं । यो वास्तवमा महाभारतका जान्ने बुझ्ने मानिसले आफुलाई दाउमा लगाए जस्तै त भयो । आफु, आफ्नो देश र जनतालाई दाउमा लगाउने कुरा भएन त यो ? हुन पनि जबसम्म कुनै पनि समाजमा अत्याचारीहरु खुल्ला घुमिरन्छन् र संरक्षित भइरहन्छन् त्यहाँ खतराको तरबार आम जनताका टाउकोमाथि त झुण्डिरहेकै हुन्छ ।त्यसको बिरोधको साहस नगर्नु, आफ्नो परिवार दाउमा लागेको देखेर पनि त्यसका बारेमा केही नबोल्नु नै हो । महाभारतका भीष्म, द्रोण, कृपाचार्य आदि त्यस्ता समर्थवान बुद्धिजीवीहरुबको प्रतिनिधित्व गर्दछन् जो आ–आफ्ना अबधारणाहरुलाई प्रतिष्ठाको बिषय बनाउने गर्दछन् र समस्या समाधानमा त्यसले समेत गत्यावरोध गर्दछ । दुराचारीहरु त स्वार्थ सिद्धीका लागि तत्काल संगठित हुने गर्दछन् नै । सदाचारीहरु भने आ–अफ्नो परिभाषा र मूल्य मान्यता अनुसार बिरोधको तर्कसंगत प्रक्रियाको बिवेचना गर्दै रहन्छन् । बिबेचनाले मात्र पटक्कै पुग्दैन । त्यसैले महान दार्शनिक माक्र्सले ‘बिद्वानहरुले संसार यस्तो छ उस्तो छ मात्र भने आवश्यक र यथार्थ कुरा त त्यसलाई बदल्नु हो’ भनेका हुन् । बुद्धिसँगसँगै संवेदना तथा बिवेचनासँगै ब्यवहारिक कर्मलाई जोड्नु ज्वलन्त आवश्यकता हुन्छ । कुतर्कबाट कुनै पनि कुरा प्रमाणित गरेर बुद्धिलाई बिवश गर्न सकिएला तर संबेदनालाई त्यसो गर्न सकिदैन, जुन बुद्धि महाभारतमा केवल बिदुरमा थियो ।उनी जान्दथे कि वास्तवमा नीतिको, धर्मको एउटै आश्वस्त परिभाषा हुन्छ , त्यो हो – निर्वल तथा निर्दोषको यथासम्भव रक्षा तथा शोषक बर्गको बिरोध गर्नै पर्दछ । जहाँ अन्याय भइरहेको हुन्छ त्यतिबेला कुनै पनि अग्रगामी नीतिको पहिलो कत्र्तब्य त्यसको बिरोधमा दृढतापूर्वक खडा हुनु नै हुन्छ ।
आज पनि कतिपय मानिसहरु समाजमा ब्याप्त बिसंगतिहरुका बिरुद्ध –जनहितका लागि सफलता या असफलताको या कसैले साथ दिने या नदिने कुराको चिन्ता नगरीकन गलतका बिरुद्ध – हरसम्भव कदम उठाइरहेका छन्, उठाइरहेका हुन्छन् । वास्तवमा उनीहरु बिबेचनाको साटो ठोस बस्तुगतरुपमा बिरोध गर्ने आजको महाभारतका बिदुर हुन् । उनीहरुका लागि समाचार केवल ज्ञान बढाउनका लागि मात्रै होइन अरुमाथिको पीडासँग जोड्ने तथा आफ्नो जवाफदेही निश्चित गर्ने साधन हो । आज यदि सबै अत्याचारलाई सुनेर द्रबित हुन थाले भने बिदुर एक्लै पर्दैनन् । अरुले पनि साथ दिन्छन् । यस्तो स्थितिमा समस्याको समाधान पनि सहज हुन सक्छ । यत्ति हो कि जनता र मुलुकलाई साथ दिनेहरु र साथ छोड्नुपर्नेहरुलाई राम्ररी चिन्नु जान्नु पर्दछ । यही नै आजको महाभारतको मूलभूत कुरा हो । तर समस्या रहेसम्म समाजमा महाभारत त चल्छ चल्छ । यसलाई कसैले रोक्न चाहेर पनि रोक्न सक्दैन ।
तपाईको प्रतिक्रिया