पाल्पा ।
पाल्पाको रानीमहल बिच भलिबलको प्रमुख थलो बन्दै
खेलकुद क्षेत्रमा अलि पछि भित्रिएको तर छोटो समयमै लोकप्रियता हासिल गर्न सफल बिच भलिबल खेल नेपालमा पनि लोकप्रिय बन्दै गैरहेको छ । पाल्पाको रानीमहल नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य अव बिच भलिबल खेलको प्रमुख थलोको रुपमा रुपान्तरण हुदैछ । २०७८ साल चैत्रमा पाल्पाको रानीमहलमा महिला बिच भलिबल प्रतियोगिता आयोजना भएकोमा यस वर्ष बैशाख २८ देखि ३० गतेसम्म राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता पाल्पाको रानीमहलमा आयोजना हुने भएको छ । उक्त प्रतियोगिता सन्जय मेमोरियल फाउन्डेसनको आयोजनामा हुन गैरहेको हो । आज यस सम्बन्धी जानकारी कार्यक्रममा सो वारे जानकारी गराइएको हो ।
यस प्रतियोगितमा सात प्रदेश, तीन विभागीय र आयोजक गरि ११ टिमको सहभागिता रहनेछ ।लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई विभिन्न समूहमा विभाजन गरेर खेलाइने छ ।प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख, तेस्रोले ५० हजार र सान्त्वना पुरस्कार विजेताले २५ हजार पाउने छन् ।
प्रतियोगितामा सहभागी हुने टिमका दुई खेलाडी र एक अफिसियलको खाना, बस्ने र यातायात खर्च आयोजकले व्यहोर्नेछ । खेलाडीको बिमा समेत गरिनेछ ।
फाउन्डेसनले गत वर्ष महिला विधालाई समावेश गरेर प्रतियोगिता आयोजना गरेको थियो ।
नेपालको बिच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि नेपाल सरकारबाट १५ लाख बजेट विनियोजन भएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बिच भलिबलको आयोजनाबाट नेपालको ऐतिहासिक क्षेत्र रानीमहलको प्रबद्र्धनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । रानीमहलवाट शुरु भएको यो अभियान देशैभरि विस्तार हुनु आवश्यक भएको र यसमा स्थानीय तह र प्रदेश तहमा विविध प्रतियोगिताहरु आयोजना हुन सक्ने र यसले देशको पर्यटन विकास र अर्थतन्त्रको विकासमा योगदान दिन सक्ने उनले बताए ।
कलाकार धिरेन शाक्यले बिच भलिबलको आयोजनाबाट पाल्पाको रानीमहल दरबारको प्रबद्र्धनमा सहयोग पुगेको बताए । उनले प्रतियोगिताको निरन्तरताका लागि सरकार र नीजि क्षेत्रको सहयोग महत्वपुर्ण रहने उल्लेख गरे । फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले महिला टिम अन्तराष्ट्रिय प्रतियोगितामा ब्यस्त भएकाले दोस्रो संस्करणमा पुरुष टिम मात्र सहभागी हुने बताईन् । उनले तेस्रो संस्करणको प्रतियोगितालाई अन्तराष्ट्रिय रुपमा लैजाने गरि तयारी गरेको उल्लेख गरिन् । उनले रानीमहलको बिच भलिबलमा सरकारले सुरुआत गरेको सहयोगका लागि धन्यवाद दिदै प्रतियोगितालाई सफल बनाउन सबै क्षेत्रको सहयोगको अपेक्षा रहेको बताईन् रानीमहलमा बिच भलिबलखेलको निरन्तरतामा सचिव डा. दामोदर रेग्मीको सधै सकारात्मक भूमिका रहेकोमा उनले धन्यवाद दिइन।
कार्यक्रममा भलिबल संघका उपाध्यक्ष गौतम लासिबा, गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, प्राइमो सेक्युरेटीका सिइओ मेघरान उपाध्याय, तानसेन गुठीका उपाध्यक्ष प्रमी श्रेष्ठ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी सुरेस लिगल, फाउन्डेसनका सल्लाहाकार पदम न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया