काठमाडौं – कोरियन भाषा परीक्षा विवादमा दैलेख र अछामका दुई युवाले ललितपुरको बालकुमारीमा प्राणको आहुति दिए । दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाह प्रहरीको दमनका कारण मर्न विवश भए ।
इपिएसमार्फत दक्षिण कोरिया जान खोजेका रावत र शाहले देशकै संघीय राजधानीमा मर्न विवश हुनुले धेरै विषयमा राज्य चुकेको विश्लेषण हुन थालेको छ । देशमा रोजगारीको अवसर नहुँदा विदेश जान नेपाली युवा विवश छन् । त्यही रोजगारीका लागि विभिन्न बाटो हुँदै नेपाली युवा खाडी मुलुकदेखि युद्ध्रग्रस्त युक्रेन, रुस, इजरायललगायतका देशमा पुगेका छन् ।
पछिल्लो समय रुस, युक्रेन, इजरायल पुगेका नेपाली युवा बन्दुकको गोली र बम प्रहारबाट मारिएको खबर आइरहेका छन् । केही समयअघि प्यालेस्टाइनी विद्रोही समूह हमासले एकैपटक १० नेपाली युवाको हत्या गरे । लर्न एन्ड अर्न प्रणालीअन्तर्गत कृषि अध्ययन गर्न इजरायल पुगेका विद्यार्थीमध्ये १० जना मारिँदा देशले ठूलो क्षति बेहोर्नुपरेको बताइएको थियो ।
त्यसयता पनि नेपाली युवा मारिने क्रम र बेपत्ता पारिने क्रम जारी छ । युक्रेनसँगको लडाइँमा रुसी सेनामा भर्ना भएका एक सयभन्दा बढी नेपाली युवामध्ये पाँच–सातजनाले ज्यान गुमाइसकेका छन् । कतिपय युक्रेन सैनिकले बन्दी बनाएको छ ।
विभिन्न बाटो हुँदै रुस र युक्रेन पुगेका नेपालीलाई उद्धार गरेर आफ्नै देशमा फर्काएर रोजगारी दिनुपर्ने अवस्थामा रहेको राज्यले आफैंले दुई निर्दोष युवाको ज्यान लिएपछि अहिले देशमा किन बस्ने भन्ने आवाज उठेको छ ।
अहिलेको यो अवस्था ल्याउनमा ठूला दल र तिनका नेता बढी जिम्मेवार छन् । देशमै योग्यता अनुसार उचित रोजगारीको अवसर भएको भए कोही पनि नेपाली युवायुवती ज्यान जोखिममा राखेर लाखौं खर्च गरी विदेशी भूमिमा जान पर्दैनथ्यो । तर सरकार र दलको अकर्मण्यताका कारण अहिले सुजन र वीरेन्द्र जस्ता धेरै युवा देशले गुमाउँदै जाने परिस्थिति निर्माण भएको छ ।
तपाईको प्रतिक्रिया