दार्चुला । भारतले धार्चुला देखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो ।
अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडक खण्डमा दैनिक सयौंँको सङ्ख्यामा एसएसबी र सेनाका सवारी साधन परिचालन गरिएको छ । सीमा क्षेत्रमा सवारी साधन मार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन्।
नेपाल सरकारले घाटिबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको छ । नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै आएको छ । भारतले लिपुलेक जोड्ने सडक निर्माण क्रममा तम्बाकु, घाटिबगर, दोपाखे, पोला, बुदी लगायतका क्षेत्रमा महाकालीबाट नेपाली भूभाग मार्फत् डोजर ल्याई आफ्नो क्षेत्रमा लगेर बाटो खनेको छ ।
नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित गुञ्जी, नावी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ । अहिले गुञ्जीदेखि कालापानी, नावीढाङ्गसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको त्यहाँका स्थानीयवासी बताउँछन् ।
भारतीयले अहिले कालापानीभन्दा तल आई नेपाली सुरक्षाकर्मी र स्थानीय वासीलाई आवत जावतमा रोक लगाउने गरेको छ । नेपालले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ भने कालापानी नजीकैका कौवा र तिङ्करमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्दैछ । नेपाली सेना घोरेटोबाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ ।
व्यासको छाङ्गरुमै नेपाली सैनिकलाई राख्ने प्रस्ताव अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला सुरक्षा समिति मार्फत समेत गएको छ । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने, ‘व्यास क्षेत्रमा सुरक्षाको अवस्था बलियो बनाउने गरी सेनाको समेत उपस्थिति हुन सक्छ । हामीले सीमा नाकालाई उच्च प्राथमिकतामा राख्दै जिल्लाबाट हुने गृहकार्य गरेर पठाएका छौँ ।
तपाईको प्रतिक्रिया