काठमाडौं – काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर आदिपुरुषको प्रदर्शन रोकिएको छ । फिल्मका नेपालका लागि वितरक मनोज राठीले आदिपुरुष देशभर नचलाउने निर्णय गरेका हुन् । चलचित्रको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबार विज्ञप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको छ ।
कम्पनीका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण प्रदर्शन रोकिएको जानकारी दिए । ‘काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौं,’ उनले भने । उनले फिल्म किन्दा आफूले गरेको करोडौं लगानी डुबेको बताए । एउटा फेसबुक स्टाटसकै भरमा फिल्म हलमा चलाउन सकिन्न भने किन अबदेखि विदेशी चलचित्र किनेर नेपाल ल्याउने भन्ने उनको प्रतिप्रश्न छ । काठमाडौं महानगरपश्चात् आदिपुरुषलाई पोखरा, धरान, वीरगञ्जलगायतका सहरमा समेत स्थानीय निकायका प्रमुखले प्रदर्शन नगर्न निर्देशन दिइसकेका छन् ।
वितरक तथा प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघले सम्पूर्ण भारतीय चलचित्रमा रोक लगाएको विषयमा असन्तुष्टि व्यक्त गरेको छ । संघका उपाध्यक्ष गोपालकाजी कायस्थले कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जानकारी र्दिए । ‘यसरी सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउनु उचित समाधान होइन । हामी यस विरुद्ध कानुनी प्रक्रियामा जान्छौँ र निकास खोज्छौं,’ उनले भने ।
तपाईको प्रतिक्रिया