काठमाडौ । संसारमा विभिन्न जाति, भाषा, धर्म, क्षेत्र र समुदायका आफ्नै संस्कृति र रीतिरिवाज छन्। यिनीहरू भित्रबाटै केहीलाई विशिष्टीकृत गर्दै तिनलाई चाडपर्व, महोत्सव अथवा दिवसका रूपमा मान्यता दिइएको छ। जसलाई खुसी साट्ने माध्यम वा चौतारीका रूपमा लिइन्छ। यसकै एउटा अंगका रूपमा विश्वले स्वीकारेको छ,अन्तर्राष्ट्रिय युवा दिवस अर्थात आज १२ अगस्ट । सामान्य अर्थमा भन्नु पर्दा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान वा बाल्य अवस्था पार गरिसकेपछी र बुढेसकाल अवस्थामा पुगि नसकेको समूह व्यक्तिलाई युवा भनिन्छ। युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्रसंवाहक बन्ने सामर्थ्य लुकेको हुन्छ।
विश्व समाजको विविधता अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, संगठनहरू र विश्व भूमण्डलीकरणले गर्दा कतिपय व्यवहार र नियममा युवा बारे एकरूपता छ। विश्व बैंक, संयुक्त राष्ट्र संघ लगायतका संस्थाका निर्णय यसका नमुना हुन्। संयुक्त राष्ट्र संघको सन् १९९९ को महासभाको निर्णयले अन्तर्राष्ट्रिय रूपमा युवा दिवस मनाउन थालिएको हो। यो निर्णयले युवाको सामाजिक पक्षमा जोड दिए पनि पछिल्लो समय युवा दिवस राजनीतिक पक्षसँग बढी जोड्न थालिएको छ, अझ भन्ने हो भने युवा दिवसको स्थापना युवा आन्दोलनको सफलतासँग गासिएको छ। यद्यपी युवाका मुद्धाहरूलाई स्थापित गर्न, युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारुक गराउने अभियानका हिसावले यो दिवसलाई लिइन्छ।
नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ देखि ४० बर्षको वर्ग युवा मानिन्छ। नेपालमा ०६८ को जनगणना अनुसार १६ देखि ४० वर्षको संख्या ४०.३५ प्रतिशत (१ करोड सात लाख) रहेको छ। शिक्षा मन्त्रालयको खेलकुद तथा युवा शाखामा सीमित रहेको नेपालले भने मुस्किलले सन् २००४ देखि युवा दिवस मनाउन थालेको थियो। राष्ट्रिय युवा नीति, कार्यान्वयनका लागि युथ भिजन २०२५, निर्माण हुनु, राष्ट्रिय युवा परिषद गठन हुनु युवाहरुको लागि निश्चय नै सुखदको कुरा हो। अझै सुखद कुरा अर्को के छ भने उप-निर्वाचन बाहेकको नतिजा हेर्दा स्थानीय तहमा ३९.६४ प्रतिशत (मेयर १७.७४ प्रतिशत, उपमेयर ३७.८८ प्रतिशत गापा अध्यक्ष २४.३४ प्रतिशत उपाध्यक्ष ५१.५२ प्रतिशत), प्रदेश तहमा २३.६३ र राष्ट्रिय सभा ६.७७ प्रतिशत, संघिय संसदमा १३.०९ प्रतिशत युवाको प्रतिनिधित्व हेर्ने हो भने राष्ट्रिय सभा बाहेक अन्यमा उत्साहजनक छ। तर, अझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागीता सुनिश्चित हुन सकिरहेको छैन।
देशले कोभिड-१९ लगायत विपत्तिको सामना गरिरहँदा आम युवाहरु उद्धार, राहतमा परिचालित हुन पर्नेमा, दुर्भाग्य राजनैतिक लडाईमा उपयोग मात्रै भई रहेको युवाको समस्या पहिचाहन र परिचालनको लागि गतिलो व्यवस्थापन अवलम्बन गर्न नसकेकै कारण युवा बिदेशिनु बाध्यता नै रहेको छ। पछिल्लो जनगणना अनुसार देशमा १९.२ प्रतिशत युवाहरु पूर्ण बेरोजगार छन्। ३६ प्रतिशत भन्दा बढी युवाहरू अर्धबेरोजगार छन् भने प्रत्येक वर्ष ४ लाख ५० हजार युवाहरु श्रम गर्न सक्षम हुँदै श्रम बजारमा प्रबेश गर्छन्। रोजगारमा संलग्न युवाहरु हुन या बेरोजगार वा बैदेशिक रोजगारका लागि पलायन भएका युवाहरु नै किन नहोस्। अहिले युवाहरु जम्मा हुने, योजनाहरु निर्माण गर्ने, अनुभवहरु साटासाट गर्ने, युवा सूचना प्राप्त गर्ने, समीक्षा तथा मूल्यांकन गर्ने स्थान र वातावरणको टट्कारो खाँचो छ ।
भनिन्छ, तन्नेरीहरु चाडै निन्दा र तिरस्कार गर्छन् र तुरुन्तै भुली पनि हाल्छन् तर बुढापाकाहरु ढिलो तिरस्कार गर्छन् र ढिलै बिर्सिन्छन्। सम्बृद्धिको नाममा एउटै विषयलाई लिएर घोत्लीरहने मात्रै पनि हैन, सही समयमा स्वीकार र विकल्प सहितको तिरस्कार गर्न नसक्ने कुनै पनि नेतृत्व आजको सन्दर्भमा युवामैत्री मान्न सकिन्न।युवा नरहेको, वृद्ध नभएको कोही पनि छैन तर सवाल हामी त्यो समयमा रहँदा भावी पुस्तालाई के सन्देश दियौँ भन्ने हो। कोभिड-१९ को कारण आज विश्व आर्थिक, सामाजिक, राजनैतिक रुपमा सोचे अनुसारको गतिमा छैन, त्यै पनि अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाली युवा प्रवृत्तिको चर्चा गर्न खोजिएको छ। हुन त जुनसुकै पार्टीको, विचारको भए पनि युवा भनेको सबैको साझा नै हो। उसले बोक्ने एजेण्डा सिंगो देशसँग जोडिएको हुनु पर्छ, सीमित स्वार्थ पाल्ने व्यक्तिले युवालाई एजेण्डा बनायो भने त्यसले नाफा र घाटामा हिसाव गर्न थाल्छ जसले गर्दा युवा शब्दमा व्यपार सुरु गर्छ।
एउटा सन्दर्भभमा युवा नेता गगन थापाले भनेका थिए- आफ्नो पार्टीको महाअधिवेशनबाट नेतृत्व चयन गर्दा युवा नेतृत्व आवश्यक छ। यो भनेपछि सबैले हो, अगाडि बढ्नुस् भने, मैले उम्मेदवारी पनि दिएँ तर बिडम्बना, रत्नपार्कमा एक्लै मैले भोट माग्नु पर्यो, अगाडि बढ्नुस् भन्नेहरु सहयोग त के देखिन पनि चाहेनन्। मतलब, नयाँ नेतृत्व युवाको चाहनामा रहेन। युवा सहभागीताको सन्दर्भमा समाज उदार छैन। युवा सोँचको कार्यान्वयन नेतृत्वको प्राथमिकतामा परेको छैन। सत्तारुढ युवा शक्ति पनि अहिले संगठित युवा शक्तिमा सबैभन्दा शक्तिशाली छ। तर अहिले पार्टीमा चलिरहेको चरम द्वन्दमा दर्शक हैन हस्क्षेपकारी भूमिकामा आउन आवश्यकता एकातिर छ भने पुरानो नेतृत्वले बफादार सिपाहीको रुपमा प्रयोगमा गर्ने परम्परागत अभ्यासमा नै फस्ने खतरा अर्को तिर छ।
अन्य राजनैतिक युवा संगठनहरु अस्तित्व रक्षाको सवालमा नै संघर्षरत भएको जाहेर नै छ। यस परिवेशमा युवाका एजेण्डा स्थापित गर्ने र बुर्जुवा नेतृत्व विस्थापित गर्न मुल राजनैतिक युवा शक्ति तयार नभएसम्म त्यही नेतृत्वको भक्ति गानमा रमाउने, उसैको आहालमा डुब्ने निश्चित प्रायः छ जो विगतको भन्दा कुनै नौलो र अन्तर्राष्ट्रिय अभ्यास होइन।
युवा सर्वाधिक सक्रिय, उर्जावान र गतिशील समूह हो। तर अहिले ३६ प्रतिशतभन्दा बढी युवाहरू अर्धबेरोजगार रहेका छन्। वर्षेनी ५ लाख ३८ हजार युवाहरू रोजगारीका लागि विदेशिने गरेको तथ्यांक छ। यो दर प्रतिदिन १ हजार ५ सयको हाराहारीमा हुन आउछ। जनसंख्याको ४० प्रतिशतभन्दा बढी संख्यामा रहेका युवा पलायन हुनबाट रोक्नु अहिलेको सबैभन्दा जटिल चुनौती हो। जसमा राज्यको बागडोर सम्हालेका शक्तिको खम्बा नराम्रोसँग चुकेको छ।
युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नु पर्दछ। हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागीताका कारण परिवर्तन संभव भएको हो भन्ने कुरा यो मुल नेतृत्वले भुल्नु भएन, अर्को तिर नेतृत्वको उत्तराधिकारी छनौट क्षमता, भिजन, र योजनका आधारमा जबसम्म गरिदैन, तबसम्म युवाहरुले बैधानिक र न्यायपूर्ण संघर्ष जारी राख्नु आवश्यक छ। अन्यथा देखाउने मात्र युवाहरुको कारण यहाँ जो पनि युवा बनेका छन् भने अर्को तिर राज्यले परिवर्ततको गति लिन सकेको छैन। जुन परिणाम हामीले भोगीराखेका छौँ। युवालाई राज्य सञ्चालन प्रकृयामा समावेश गर्न नसके राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने अहिलेसम्मको अनुभूतिमा देखिन्छ।
दुई दशकपछि नेपालमा स्थानीय जनप्रतिनिधिहरुले विकासको बागडोर सम्हालेका छन्। जनप्रतिनिधिमा युवाहरु सहभागीता बढेको छ। भौतिक उपस्थितीले मात्र सहभागीताको सिद्धान्तलाई समेट्न सक्दैन। युवाहरु जनप्रतिनिधि भए पश्चात युवामैत्री विकास भयो या भएन ? त्यो बहसको विषय बनाईनु पर्छ । अहिले सार्वजनिक नीति निर्माणमा युवाहरुको सार्थक सहभागीताको खाँचो छ। आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक जीवनमा समेत युवाहरुको सहभागीता, युवा समावेशीकरण, रोजगारी क्षमता र उद्यमशीलताको विकासका लागि स्थानीय तहले ध्यान दिन सकेको देखिदैन। सरकारले के दियो भनेर बिलौना गर्ने भन्दा पनि हामीसँग रहेको क्षमताले उपलब्धीको उपयोग गर्न के प्रयत्न गरिए सबै युवाले सोच्नै पर्ने बेला आएको छ।
साथै शैक्षिक तथा स्वास्थ्यस्तरमा सुधार र व्यक्तिगत तथा संस्थागत क्षमता विकास, पिछडिएका क्षेत्र, वर्ग र समुदायका युवाहरुलाई विशेष संरक्षण, युवाहरुबीच लैंगिक, जातीय, क्षेत्रीय, भाषिक, साँस्कृतिक लगायतका विभेद र वर्गीय असन्तुलनको अन्त्य पनि युवाहरुको सवाल हो जुन हामीले भुल्नु हुँदैन। यसर्थ युवा दिवस मनाई रहँदा र हिजो नमनाउँदा पनि फरक-फरक पात्रहरु अभियानका नाममा उम्लिएकै हुन्। केही इतिहासमा लेखिए त कोही सदाको लागि मेटिए। नेपालमा यो क्रम पछिल्लो चरणमा ज्ञानेन्द्र शाहीसम्म पुग्दैछ, जुन सुत्र अब पुरानो भैसकेको छ।
युवाको सहभागीता र सक्रियता बिना विकासको कुरा कल्पना मात्रै हुन्छ। यसर्थ, युवाको परिचालन र साझेदारी नहुने वातावरणले दिगो विकासको लक्ष्य प्राप्ति पनि केवल चाहना मात्रै बन्नेछ । जुनसुकै देशमा हुने हरेक प्रकारका परिवर्तनहरुमा युवाहरुको प्रमुख भूमिका रहन्छ। युवाशक्ति देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरणका संवाहक भएकोले सार्वजनिक नीति चक्रका सबै तहमा युवाको सार्थक सहभागीता सुनिश्चित गर्नु आवश्यक छ।
नेपालको सन्दर्भमा राजनीतिक परिवर्तनका ऐतिहासिक घटना र व्यवहारिक दस्तावेजले पनि परिवर्तन युवाबाटै सम्भव हुने सिद्ध भइसकेको छ। ख्याल राख्न जरुरी छ– युवा अवस्था आउँछ तर जीवनमा एक पटक मात्रै। एकपटक मात्रै आउने समयलाई हाम्रो समाजले ठिक मार्गमा लाग्ने उपयुक्त वातावरण दिएको छ, सबैले सोच्नै पर्ने बेला आएको छ। दुखद् कुरा समय उड्छ। अर्को सुखद कुरा त्यो उड्ने समयरुपी जहाजको पाइलट तपाई हामी नै हो । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि अब लागि परौँ, विगतका अनुभव र अनुभूतिले त्यही भन्छ ।अब भन्नुहोस्, त्यो जहाज कहाँ कसरी पुर्याउने युवाको हातमा छ। आजकै दिनदेखि सोच्नै पर्ने बेला आएको छ ।
तपाईको प्रतिक्रिया