कोहलपुर माघ २६,
पाँचौं संस्करणको ‘द फोर्स’ खुला फुटबल प्रतियोगिता–२०८२ पुनर्वास नगरपालिका वडा नम्बर १ स्थित श्री बलभद्र बस्तीमा सोमबारदेखि भव्य रूपमा सुरु भएको छ।
न्यू वीरेन्द्र युवा क्लब पुनर्वास–१ को आयोजनामा सुरु भएको उक्त प्रतियोगिता आगामी फागुन ९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका गरी २० वटा टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। सोमबार सम्पन्न उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष कान्छा लामा तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्मा प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले खेलकुदले युवालाई अनुशासन, एकता र सकारात्मक ऊर्जातर्फ डोर्याउने उल्लेख गरे। उनले पुनर्वासलाई खेलकुदको केन्द्रका रूपमा विकास गर्न नगरपालिकाले सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान र सामाजिक सद्भाव मजबुत बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पुनर्वासका प्रमुख, स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा ठूलो संख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो। उद्घाटन खेल अन्तर्गत आयोजक न्यू वीरेन्द्र युवा क्लब पुनर्वास–१ र वडा नम्बर ३ बीच भेट्रान मैत्रीपूर्ण प्रतिस्पर्धा सम्पन्न भएको थियो। खेलमा आयोजक न्यू वीरेन्द्र युवा क्लबले वडा नम्बर ३ लाई २–१ गोल अन्तरले पराजित गर्दै उद्घाटन खेलमा विजय हासिल गरेको छ।
उद्घाटन खेल एन्फाकाे नियमअनुसार रेफ्री ममता थापा मगरले सञ्चालन गरेकी थिइन्। प्रतियोगिता अन्तर्गत मङ्गलबार दिउँसो १२ बजे एपीएफ क्लब र शिदार्थ युवा क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। आयोजकले दर्शकहरूलाई खेल मैदानमा उपस्थित भई खेलको मजा लिन आग्रह गरेको छ।
खेलकुद, युवाशक्ति र स्थानीय उत्साहको संगम बनेको ‘द फोर्स’ फुटबल प्रतियोगिताले पुनर्वास क्षेत्रमा थप रौनक छर्ने अपेक्षा गरिएको छ। को मुख्य प्रायोजक पुनर्वास नगरपालिका रहेको छ। उक्त खेल खबर एण्ड लाईभ टिभी एच डिबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

