कोहलपुर, माघ ३,
संचारिका समूह बाँके शाखाको आयोजनामा पत्रकार महिलाहरूका लागि पिकनिक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम संचारिका समूह बाँके शाखाकी अध्यक्ष पवित्रा परियारको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष महारानी राज्य लक्ष्मी शाह प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा संचारिका समूह बाँके शाखाकी संस्थापक अध्यक्ष अक्षरी पोखरेल, पूर्व अध्यक्ष तथा संचारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महारानी राज्य लक्ष्मी शाहले पत्रकार महिलाहरूले पेशागत चुनौतीका बाबजुद पनि निरन्तर पत्रकारितामा योगदान दिँदै आएको बताइन् । उनले महिलाहरूको क्षमता, धैर्यता र प्रतिबद्धताले पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र विश्वसनीय बनाएको उल्लेख गरिन् । यस्ता भेटघाट तथा अनौपचारिक कार्यक्रमहरूले पत्रकार महिलाबीच आपसी एकता, आत्मीयता र सहकार्य बढाउने विश्वास व्यक्त गर्दै उनले संचारिका समूहको भूमिकाको प्रशंसा गरिन् ।
त्यसैगरी संचारिका समूह बाँके शाखाकी संस्थापक अध्यक्ष अक्षरी पोखरेलले संचारिका समूह महिलाको हक–हित, क्षमता अभिवृद्धि र सुरक्षित पत्रकारिताका लागि स्थापना गरिएको संस्था भएको बताइन् । उनले विगतमा महिला पत्रकारले भोग्नुपरेका समस्या र संघर्षको चर्चा गर्दै आजको अवस्थामा पनि पेशागत सुरक्षा, अवसर र नेतृत्व विकासका लागि अझै निरन्तर प्रयास आवश्यक रहेको धारणा राखिन् । यस्ता कार्यक्रमहरूले पत्रकार महिलालाई मानसिक रुपमा सबल बनाउनुका साथै संगठनप्रति थप सक्रिय बनाउने उनको भनाइ थियो ।
कार्यक्रमको सञ्चालन संचारिका समूह बाँके शाखाकी उपाध्यक्ष सरला सुवेदीले गरेकी थिइन् । कार्यक्रममा बाँके जिल्लामा क्रियाशील पत्रकार महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । पिकनिक तथा भेटघाट कार्यक्रमले पत्रकार महिलाबीच आपसी अनुभव आदान–प्रदान र सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो ।

