५१ औँ राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिमको दीक्षान्त कवाज भव्यताका साथ सम्पन्न, ५४० जना क्याडेट कौशिलानगर व्यारेकबाट दीक्षित

कोहलपुर, पुष ३०,

५१ औँ राष्ट्रिय सेवा दल जुनियर डिभिजन एनसिसि तालिम अन्तर्गत तेस्रो चरणको वार्षिक सामूहिक क्याम्पको दीक्षान्त कवाज कौशिलानगर ब्यारेक बाँकेमा भव्यताका साथ सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशका ४, कर्णाली प्रदेशका ९ र सुदूरपश्चिम प्रदेशका ९ गरी जम्मा २२ जिल्लाका १८ वटा विद्यालयबाट सहभागी ५४० जना क्याडेट छात्र–छात्रालाई समेटेर गएको असारदेखि श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय बाँकेमा सञ्चालन गरिएको तालिम दीक्षान्त कवाजसहित सम्पन्न भएको हो । नेपाल सरकार, नेपाली सेना तथा राष्ट्रिय सेवा दलको नीति–नियमको परिधिभित्र रही आर्थिक वर्ष २०८२/८३ का लागि जिल्ला अन्तरगतका ५४ वटा विद्यालयमा तालिम सञ्चालन भएको थियो ।

दीक्षान्त कवाज समारोहमा श्री उत्तर–पश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी दिपेश जंग शाहको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्दै उपरथी शाहले राष्ट्रिय सेवा दल युवाको व्यक्तित्व विकास, अनुशासन र राष्ट्रप्रतिको समर्पण निर्माण गर्ने महत्वपूर्ण संस्था भएको बताएका छन् । उपरथी शाहले छनौट परीक्षापश्चात स्वेच्छाले १०० दिने तालिममा सहभागी क्याडेटहरूले छोटो समयमै अनुशासन, लगनशीलता, इच्छाशक्ति र तालिमप्रतिको प्रतिबद्धता प्रदर्शन गरेको बताए । दीक्षान्त कवाजमा प्रस्तुत गरिएको उच्चस्तरीय कवाजले क्याडेटहरूको परिश्रम, समन्वय र सैनिक अभ्यासप्रतिको दक्षता स्पष्ट रूपमा देखाएको उनको भनाइ थियो ।

उनले नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय सेवा दल कार्यक्रमको मुख्य लक्ष्य युवाहरूलाई अनुशासित, नेतृत्ववान, राष्ट्रप्रति वफादार तथा राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनु रहेको उल्लेख गरे । राष्ट्रिय सेवा दलले भौगोलिक, जातीय, धार्मिक तथा सांस्कृतिक विविधता भएका युवाहरूलाई एउटै पोशाक र एउटै लक्ष्यका साथ एकीकृत गर्न सफल भएको उनले बताए । नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता र एकतालाई जोगाइराख्न क्याडेटहरू सधैं अग्रसर रहने विश्वास व्यक्त गर्दै उनले राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे । क्याडेटहरूले तालिम अवधिमा प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम, खेलकुद तथा अन्य गतिविधिहरूमा देखिएको उत्साह, आत्मविश्वास र सकारात्मक सोच प्रशंसनीय रहेको उल्लेख गरे ।

उनले आगामी दिनमा राष्ट्रिय सेवा दलका कार्यक्रमहरूलाई अझ परिष्कृत, व्यवस्थित र समयसापेक्ष बनाइने जानकारी दिए । युवा आदान–प्रदान कार्यक्रमको दायरालाई विस्तार गर्दै क्याडेट छात्र–छात्राहरूलाई देश तथा विदेशमा सहभागी गराउने अवसर सिर्जना गर्न पहल गरिने उनले बताए । साथै, नेपाल भित्रै पनि राष्ट्रिय सेवा दल तालिमको संख्या वृद्धि गर्दै दीक्षित क्याडेटहरूलाई विभिन्न क्षेत्रमा अवसर र मान्यता दिलाउनेतर्फ पहल गरिने उल्लेख बताएका छन् । तालिम अवधिमा प्राप्त सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासनसम्बन्धी ज्ञानले भविष्यका चुनौती सामना गर्न सहयोग पुग्ने उनको भनाइ थियो । तालिमपश्चात क्याडेटहरूले निःस्वार्थ सेवाभावका साथ राष्ट्रको जिम्मेवार नागरिकको रूपमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उपरथी शाहले राष्ट्रिय संकट वा विपद्को अवस्थामा समाजलाई एकीकृत, धैर्यवान र अनुशासित बनाउन राष्ट्रभक्त युवाहरूको भूमिका महत्वपूर्ण हुने बताए । उनले क्याडेटहरूलाई जीवनमा स्पष्ट र सकारात्मक लक्ष्य निर्धारण गरी त्यसको प्राप्तिका लागि निरन्तर कर्मशील रहन आग्रह गरे । राष्ट्रिय सेवा दल तालिम सफल बनाउन सहयोग गर्ने अभिभावक, शिक्षक, विद्यालय, स्थानीय निकाय, सुरक्षा निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै शाहले दीक्षित सम्पूर्ण क्याडेट छात्र–छात्राहरूको उज्ज्वल भविष्य, प्रगति र सफल जीवनको कामना गरेका थिए ।

दीक्षान्त कवाज समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, श्री नं. ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रशान्त विक्रम राणा, सहायक बाहिनीपति महासेनानी सुवास के.सी., श्री पश्चिम असवाव खानाका डिपोपति महासेनानी सुवेश कायस्थ, श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी शिशिर के.सी. सैनिक आवासिय महाविद्यालयका व्यवस्थापकिय अधिकृत प्रमुख सेनानी लक्ष्मण खड्का, श्री मध्यपश्चिम तालिम शिक्षालयका प्रमुख सेनानी दिनेश घले लगायत विभिन्न सुरक्षा निकायका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, कार्यालय तथा संघसंस्थाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, समन्वय शिक्षक, अभिभावक, समाजसेवी, सञ्चारकर्मी तथा क्याडेट छात्र–छात्राहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

तालिममा सहभागी १८ वटा विद्यालयमध्ये श्री जनज्योति माध्यमिक विद्यालय बड्डिचौर सुर्खेतकी छात्रा कृष्णा सुनार र श्री पशुपति माध्यमिक विद्यालय गेरुवा बर्दियाका छात्र कविर थारु सर्वोत्कृष्ट क्याडेट घोषित भएका छन् भने श्री जनज्योति माध्यमिक विद्यालय सुर्खेत वेस्ट प्लाटुन बनेको छ । तालिम प्रमुख शिक्षक सेनानी शान्ति आचार्य तथा तालिम अधिकृत सह सेनानी कृष्णहरि धितालले क्याडेटहरुलाई तालिम प्रदान गरेका हुन् । यस आ.व. २०८२/८३ मा मात्र ७ हजार ५ सय ६० जना क्याडेट दीक्षित भइसकेका छन् भने हालसम्म राष्ट्रिय सेवा दलमार्फत ८६ हजार ६ सय २४ जना क्याडेट छात्र–छात्राहरू दीक्षित भइसकेका छन् । वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले चार वटा शिक्षालयमार्फत देशभरका ७७ वटै जिल्लामा तालिम प्रदान गर्दै आइरहेको छ ।

 

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !