कोहलपुर सिटी एकेडेमीमा वार्षिक खेलकुद प्रतियोगिता सुरु

कोहलपुर, कार्तिक २७,

विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै मानसिक, शारीरिक तथा व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कोहलपुर सिटी एकेडेमी, कोहलपुर बाँकेमा वार्षिक anual sports premier प्रतियोगिता भव्य रूपमा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन बिहीबार कोहलपुर नगरपालिकाका नगर शिक्षा शाखाका प्रमुख रविलाल मिजारले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै मिजारले भने,–‘खेलकुद केवल मनोरञ्जनका लागि होइन, यो जीवनको अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता सिकाउने माध्यम हो। विद्यार्थीहरूलाई खेलकुदले परिश्रम गर्न, हारजीत स्वीकार्न र भावना विकास गर्न मद्दत गर्छ। यसले भविष्यमा उनीहरूलाई सक्षम, जिम्मेवार र आत्मनिर्भर नागरिक बन्न सहयोग पु¥याउँछ ।’

 

उद्घाटन समारोहमा विद्यालयका संस्थापक प्रिन्सिपल प्रशान्त रिजाल, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले आकर्षक मार्चपास र सांस्कृतिक प्रस्तुतिहरू पनि गरेका थिए, जसले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो । तीन दिनसम्म सञ्चालन हुने यस खेलकुद प्रतियोगितामा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूका लागि १०० मिटर दौड, २०० मिटर दौड, शटफुट, ज्याब्लिङ थ्रो, लङ्ग जम्प, ट्रिपल जम्प, हाइ जम्प र रिले दौड लगायतका प्रतिस्पर्धाहरू हुनेछन् । साथै, छात्रा–छात्र दुवैका लागि भलिबल, कबड्डी जस्ता टोलीगत खेलहरू पनि आयोजना गरिएको छ ।

त्यसैगरी कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाहरूका लागि कुर्ची दौड, चकलेट दौड लगायत रमाइलो खेलहरू समावेश गरिएको छ, जसले साना विद्यार्थीहरूको आत्मविश्वास र खेलप्रतिको रुचि बढाउने उद्देश्य राखेको विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सिपल प्रशान्त रिजालले शिक्षणसँगै खेलकुदमा सहभागी विद्यार्थीहरूमा नेतृत्व, सहकार्य र आत्मअनुशासनको गुण विकास हुने बताए । उनले आगामी वर्षहरूमा यस प्रतियोगितालाई अझ व्यवस्थित र अन्तरविद्यालय स्तरमा विस्तार गर्ने योजना रहेको बताए । तीन दिनसम्म चल्ने यो कार्यक्रमले विद्यालयको खेलकुद संस्कृति र विद्यार्थीहरूको समग्र विकासमा नयाँ ऊर्जा भर्ने विश्वास लिइएको छ ।

उद्घाटनमा आज विभिन्न खेलहरू भएका थिए। १०० मिटर दौड छात्र छात्रा, २०० मिटर दौड छात्र छात्रा, सटफुट लगायत साना बालबालिकाहरूका लागि विभिन्न खेलविधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगीतामा फिल्ड मार्सल रमेश शाही ठकुरी, प्रशिक्षक लोकेन्द्रबहादुर चन्द, सुशील कुमार खत्री, रोहित कुमार खत्री, खेल संयोजक आभाष विक्रम क्षेत्रीले सहजिकरण गरिरहेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !