कोहलपुरमा मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु, ५४ विद्यालयको भव्य सहभागिता

कोहलपुर, मंसिर २५

कोहलपुरमा बिहीबारदेखि अन्तर आधारभुत विद्यालय, माद्यामिक विद्यालय मेयर कप रनिङ शिल्ड तथा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ ।

कोहलपुर नगरपालिका–१ स्थित कौशिला नगर कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा नवौं अन्तर मा.वि., दोस्रो आ.वि. मेयर कप तथा अठारौँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कोहलपुर नगरपपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य प्रमुख अतिथि रहेका थिए । नगरप्रमुख आचार्यले पानसमा दीप प्रज्वलन गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै आचार्यले खेलकुदले विद्यार्थीलाई अनुशासित र सक्षम बनाउने मात्र होइन, उज्ज्वल भविष्य र सशक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले विद्यालयस्तरमै खेलकुद गतिविधिलाई मजबुत बनाउने हो भने यिनै विद्यार्थीहरू भोलिका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी बन्न सक्ने बताए । खेलमैत्री वातावरण निर्माण गर्नु नगरपालिकाको प्राथमिकता भएको बताउँदैं आचार्यले यसलाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाउँदै जाने बताए ।

उनले खेलकुदले आपसी सम्बन्ध स्थापीति गर्ने, स्वस्थ राख्ने, आत्मविश्वास बढाउने र नेतृत्व क्षमतामा सकारात्मक असर पार्ने उल्लेख गर्दै सहभागी सबैलाई निष्पक्ष र प्रतिस्पर्धी भावनासहित खेल प्रदर्शन गर्न आग्रह गरे । नगरप्रमुख आचार्यले खेलकुद पूर्वाधार विस्तार तथा नियमित प्रतियोगिताको निरन्तरताका लागि नगरपालिका प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख संगीता सुवेदी, सामाजिक विकास शाखा संयोजक ईश्वरी बि.क., इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर डमरपाल, विभिन्न सुरक्षा निकायका प्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतियोगितामा ५४ वटा विद्यालयको सहभागिता रहँदै भव्य मार्च पास सम्पन्न भएको छ । विद्यार्थीहरूको अनुशासन, तालमेल र उत्साहपूर्ण प्रस्तुतिले वातावरण झनै जीवन्त बनेको थियो । आयोजक समितिका अनुसार प्रतियोगितामा विभिन्न खेल विधाहरू समावेश गरिएको छन् । आगामी दिनहरूमा चरणबद्ध रूपमा विधागत प्रतिस्पर्धा गराईने छ । प्रतियोगिताले स्थानीय विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र भविष्यको खेल यात्रामा अघि बढ्न महत्वपूर्ण अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !