कोहलपुर, पुष १,
मितेरी सहकारी बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवस भव्यताका साथ मनाइएको छ ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा केही सहकारी संस्थामा देखिएका आर्थिक अपचलनका विषयमा पनि गम्भीर चर्चा गरिएको थियो । सहकारी संस्थाका अध्यक्ष अन्जीर बहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले सहकारी संस्थाले यस समयावधिमा सदस्यहरूसँग नियमित भेटघाट कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता प्रदान गर्नुका साथै राय–सुझाव संकलन गर्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष शाहीले सदस्यसँगको भेटघाट कार्यक्रमले हालका सक्रिय सदस्य मात्र नभई पुराना तथा निष्क्रिय सदस्यहरूलाई समेत सहकारीको उद्देश्य, नीति र कार्यक्रमबारे स्पष्ट पार्न सहयोग पुग्ने बताए । उनले सहकारी सदस्यहरूले अनावश्यक खर्च कटौती गरी बचत गर्ने बानीको विकास गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि विभिन्न कार्यक्रम तथा सामाजिक भेटघाटमार्फत सदस्यहरूलाई सुसूचित गर्न आवश्यक रहेको धारणा राखे ।

साथै आत्मनिर्भरताको आवश्यकता औंल्याउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिई आयात घटाउन सके अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व अध्यक्ष एवं सल्लाहकार लिलाधर पाण्डेले सहकारी अभियानको मूल मर्म पारदर्शिता, विश्वास र सदस्यको हित भएको उल्लेख गरे । उनले सहकारीलाई मर्यादित र दिगो बनाउँदै लैजान सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

पाण्डेले सहकारी संस्थालाई एउटा बच्चा हुर्काएजस्तै धैर्य, मिहिनेत र निरन्तर समर्पणका साथ अघि बढाइएको उल्लेख गर्दै, जसरी एउटा बच्चाले बाल्यकालदेखि किशोर अवस्था पार गर्दै विभिन्न चुनौती झेलेर अन्ततः नागरिकता प्राप्त गरी जिम्मेवार नागरिक बन्छ, त्यसरी नै सहकारीले पनि स्थापना कालदेखि विभिन्न अवस्था, कठिनाइ र अनुभवहरू पार गर्दै आजको अवस्थामा आइपुगेको बताए । उनले सदस्यहरूको विश्वास, सञ्चालक समितिको इमानदारी र समयअनुसारको सुधारका कारण सहकारी क्रमशः सुदृढ बन्दै अब्बल संस्थाको रूपमा स्थापित हुन सफल भएको धारणा व्यक्त गरे। साथै आगामी दिनमा पनि सहकारीले यही मूल्य र मान्यतालाई आत्मसात् गर्दै अझ बलियो बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपाध्यक्ष भरतबहादुर कठायतले सहकारीको संस्थागत विकास र सदस्य सेवामा निरन्तर सुधार आवश्यक रहेको बताए । उनले सहकारी संस्थाले समयको मागअनुसार आफ्ना नीति, सेवा र कार्यशैलीलाई परिमार्जन गर्दै सदस्यमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए । कठायतले सदस्यहरूको विश्वास नै सहकारीको सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै पारदर्शिता, उत्तरदायित्व र इमानदारीका साथ काम गरे मात्र सहकारी दिगो रूपमा अघि बढ्न सक्ने बताए । साथै सदस्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै आधुनिक प्रविधिको प्रयोग, वित्तीय अनुशासन र जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

भने सल्लाहकार दोर्ण प्रसाद जैसीले स्थापना दिवसको शुभकामना व्यक्त गरे । संस्थाका लेखा संयोजक खड्गराज थापाले शुभकामना व्यक्त गरेका गरेका संस्थाका व्यवस्थापक रुद्रप्रसाद पौडेल जानकारी दिए । कार्यक्रममा सम्पूर्ण सञ्चालक समिति, सल्लाहकार तथा सहकारी सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । स्थापना दिवसको अवसरमा केक काटेर उत्सव मनाइएको थियो । कार्यक्रमको सञ्चालन मधु खड्काले गरेकी थिइन्।

