कोहलपुर, माघ १२,
काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा वैकल्पिक राजनीतिक धारका अगुवा बालेन शाह आज बाँकेको कोहलपुर हुँदै सिधै बर्दियातर्फ प्रस्थान गरेका छन् ।
बिहान ९ बजे कोहलपुर आइपुग्ने कार्यक्रम भए पनि खराब मौसमका कारण आगमन ढिलाइ भएको थियो । बालेन शाहको स्वागत तथा भेटघाटका लागि कोहलपुरको पार्टी कार्यालयमा हजारौँ समर्थकहरू दिउँसो ३ बजेसम्म प्रतीक्षामा बसेका थिए । लामो प्रतीक्षापछि बालेन शाह ३ बजे कोहलपुर आइपुगेका थिए । बालेन शाहले गोलपार्क क्षेत्रको एक राउण्ड अवलोकन गरे । तर, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उनी गाडीबाट नओर्ली सिधै बर्दियातर्फ गएका कारण समर्थकहरूसँग प्रत्यक्ष भेटघाट हुन सकेन ।
यस क्रममा धेरै समर्थकले समझदारी देखाए पनि, कतिपय समर्थकहरू भने “यस्तो अवस्थामा भेटघाट नहुनुबाट भोट घट्न सक्छ” भन्दै असन्तुष्टि व्यक्त गरेको देखियो । लामो समय कुरेर पनि प्रत्यक्ष भेट नपाउँदा समर्थकहरूमा मिश्रित प्रतिक्रिया देखिएको थियो । कोहलपुर नगर समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले समर्थकहरूसँग माफी माग्दै, कोहलपुरमा भेटघाट गराउन बालेन शाहको सचिवालयमा पटक–पटक अनुरोध गरिएको तर सुरक्षा कारणले आज सम्भव नभएको स्पष्ट पारे । उनले आगामी दिनमा कोहलपुरमै अनिवार्य रूपमा भेटघाट कार्यक्रम गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
छोटो उपस्थितिका बाबजुद पनि कोहलपुरमा देखिएको भीड, प्रतिक्षा र प्रतिक्रियाले बालेन शाहप्रतिको समर्थनसँगै जनअपेक्षा कति उच्च छ भन्ने कुरा स्पष्ट रूपमा देखाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

